सोमबार अपराह्न १२ बजे बस्ने भनिएको बागमती प्रदेश सभा बैठक अझै बस्न सकेको छैन।
बागमती प्रदेशसभामा संसदीय समितिहरू गठन गर्ने कार्यसूची तय भएको थियो।
तर नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सदस्यहरूको नाम नपठाउँदा प्रदेशसभा बैठक बस्न नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ।
आइतबार सर्वदलीय बैठक बसेर सोमबारको बैठकमा संसदीय समिति गठन गर्ने सहमति भएको थियो।
तर कांग्रेस र एकीकृत समाजवादीले सदस्यहरूको नाम नपठाएपछि १२ बजेका लागि बोलाएको प्रदेश सभा बैठक निर्धारित समयमा बस्न नसकेको हो।
प्रतिपक्ष दल कांग्रेस र समाजवादीका नेताहरू संघीय सरकारमा समेत समितिहरू गठन नभएको भन्दै अहिले नै समितिहरू गठन गर्न हतार नभएको भन्दै आलटाल गरिरहेका छन्।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण खनाल पनि आफ्नो पार्टीबाट समितिमा पठाउने सदस्यहरूको नाम तयार भए पनि अहिले नै पठाउन आवश्यक नभएको नेपालखबरसँग बताए। ‘सम्भवत आजको बैठक बस्दैन होला,’ उनले भने।
Shares
प्रतिक्रिया