नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपाने नेकपा एमालेमै फर्किन लागेको चर्चा यतिबेला उनको गृहजिल्ला मकवानपुरमा चलिरहेको छ।
पछिल्लो समय न्यौपाने एमालेमा फर्कन लागेको संकेत गर्दै एमाले मकवानपुरका नेताहरूले भेटघाटका तस्बिर सार्वजनिक गरिरहेका छन्।
एमाले मकवानपुरका सचिव नवीन सिग्देलले आइतबार समाजिक सञ्जालमा न्यौपानेसँगका तस्बिरहरु सार्वजनिक गर्दै सम्झनलायक क्षण भनेका छन्।
‘हाम्रा यी तस्बिरहरू, सम्झनालायक क्षणका हुनेछन्। हाम्रा छलफल र बहसहरूले कम्युनिस्ट पार्टी बलियो बनाउन मद्दत अवश्य पुग्नेछ’, सिग्देलले फेसबुकमा लेखेका छन्।
यता, न्यौपाने भने यसबारे सत्यता नरहेको बताउँछन्। ‘साथीभाइको नाताले सधैँ भेटघाट हुन्छ, हुने गरेको छ। तर एमालेको साथीभाइसँग भेटघाट हुँदैमा एमालेमै फर्कन खोजेको भन्ने हुँदैन’, न्यौपानेले भने।
भेटघाटका क्रममा राजनीतिक घटनाक्रमबारे सामान्य कुराकानी मात्रै हुने गरेको बताउँदै न्यौपानेले एमालेमा फर्कने/नफर्कने भन्ने निर्णय आफूले नगरेको उल्लेख गरे।
तत्कालीन नेकपाको पोलिटब्युरो सदस्य तथा एमालेमा २०४५ सालदेखि पटकपटक केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बनेका हुन्।
एमालेमा रहँदा माधव नेपाल पक्षका न्यौपाने भने एकीकृत समाजवादीभित्र एमालेसँग मिल्नुपर्ने लाइनका मुख्य नेता हुन्।
उनका दाइसमेत रहेका माधव नेपालका विश्वासिला पात्र मुकुन्द न्यौपानेले यसअघि एमालेसँग मिल्नुपर्ने विषय पार्टी कमिटी बैठकमै उठाएका थिए।
एकीकृत समाजवादीभित्र न्यौपाने दाजुभाइसहित धेरै नेताहरू एमालेसँग मिलेर बलियो कम्युनिस्ट शक्ति निर्माण गर्नुपर्नेमा निरन्तर जोड दिइरहेका छन्।
Shares
प्रतिक्रिया