बागमती प्रदेशमा आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भयो। प्रदेशको दोस्रो कार्यकाल सुरु भएपछि हालसम्म तीन पटक मन्त्रिपरिषद् विस्तार भइसकेको छ।
गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसहित नेकपा एमालेका अर्थमन्त्री जगन्नाथ थपलिया र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उद्धव थापा विनाविभिागीय मन्त्री बनेका थिए।
त्यसपछिको दुई हप्ता मन्त्री छान्न र भागबन्डा मिलाउन लाग्यो। माघ ११ गते ११ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पायो।
एक महिनाबीचमा सरकारले लय लिन खोज्दै गर्दा एउटा गठबन्धन टुटेर अर्को गठबन्धन बन्न पुग्यो। सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि आइतबारबाट कांग्रेसले सरकारमा इन्ट्री पायो।
११ जनाको मन्त्रिपरिषद्मा ७ मन्त्रालय रिक्त रहेको अवस्थामा मुख्यमन्त्री कट्टेलले आइतबार २ मन्त्री मात्रै नियुक्त गरे।
तर उनले नेकपा एकीकृत समाजवादीसँग सल्लाह नै नगरी कांग्रेसबाट मात्रै मन्त्री नियुक्त गरेका हुन्। यो कुरा एकीकृत समाजवादीका सांसदहरुले नै बताएका छन्।
'मन्त्रालयबारे टुंगो लगाउन आइतबार दिउँसो छलफलमा बसे पनि सहमति हुन सकेन', समाजवादीका एक सांसदले भने, 'फेरि ३ बजे बैठकबाट उठेर म हिँडे। मन्त्रिपरिषद् विस्तारबारे मलगायत हाम्रा पार्टीका साथीहरुलाई थाहै भएन।'
गठबन्धनभित्र दलहरुबीच एकरुपता नहुने गरेको उनी बताउँछन्। ‘मन्त्री को बन्ने कुरा त परको, हिजो २ मन्त्रीले शपथ खाँदैछन् भन्ने पनि थाहा पाइएन', उनले भने, 'तीन दलको गठबन्धनमा दुई दलको एकलौटी निर्णय हुनु गलत हो। हामीलाई थाहा नदिनु त झन् गैरजिम्मेवार हो भन्ने लागेको छ।’
एकीकृत समाजवादीका सांसदहरुले मुख्यमन्त्रीले एक दलसँग एउटा कुरा, अर्को दलसँग अर्को कुरा गरेको गुनासो गरेका छन्।
‘केही दिनअघि पनि मख्यमन्त्रीज्युले काम गर्न गाह्रो भयो, मुख्य तीनवटा मन्त्रालय विस्तार गरौँ भन्नुभएको थियो। तर ७ मन्त्रालयका लागि कति पटक पटक गर्ने भनेर हामीले मानेका थिएनौँ। अन्तिममा कांग्रेसका मात्रै दुईजना नियुक्त गरिएछ। म अचम्ममा छु,’ ती सांसदले भने।
हालसम्म तीनपटक मन्त्रिपरिषद् विस्तार भइसकेको बागमतीमा अब सरकारलाई पूर्णता दिन चौथो पटक विस्तार तयारीमा मुख्यमन्त्री जम्मकट्टेल लागिपरेका छन्।
Shares
प्रतिक्रिया