नेकपा एमालेको बागमती प्रदेश कमिटीको पहिलो अधिवेशन आगामी असोज ८ र ९ गतेका लागि तय भएको छ। काठमाडौंको भृकुटीमण्डपमा हुने पहिलो अधिवेशनमा प्रदेशको नेतृत्वका लागि झण्डै आधा दर्जन आकांक्षी छन्।
पार्टीका पोलिटब्यूरो सदस्यदेखि वर्तमान अध्यक्षसम्मले आकांक्षा राखेपछि यहाँको पहिलो अधिवेशन रोचक हुने देखिएको छ।
पार्टीको माथिल्लो कार्यकारी पदमा रहेका नेताहरू पनि बागमतीको अध्यक्ष बन्ने लबिइङमा लागेपछि यहाँको अधिवेशन चर्चामा रहने भएको छ।
हालसम्म वर्तमान अध्यक्ष केशव पाण्डे, पोलिटब्यूरो सदस्य अरुण नेपाल, कृष्ण दाहाल, कैलाश ढुंगेल, कृष्णभक्त पोखरेल, खेम लोहनी, रचना खड्का, भूमि त्रिपाठी लगायतको नाम चर्चामा छ।
पदाधिकारीकै भूमिकामा रहेका अध्यक्ष पाण्डे र सचिव विजय सुवेदी दुवैजना वर्तमान प्रदेश अध्यक्ष बन्ने तयारीमा लागेका छन्। अध्यक्ष पदमै रहेका पाण्डे दोहोधयाउने सोचमा छन् भने सुवेदी सचिवबाट अध्यक्ष बन्ने दाउमा छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भृकुटीमण्डप उद्घाटन सत्र सम्पन्न गरी बन्द सत्र भने प्रज्ञा प्रतिष्ठानको हलमा गर्ने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ।
अधिवेशनका लागि भदौ २७ गतेभित्र प्रतिनिधि चयनको कार्यतालिका रहेको छ। प्रदेशको ११९ वटा पालिकामा एकैपटक प्रतिनिधि चयन गर्ने कार्यक्रम रहेको छ।
अधिवेशनबाट २४० सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ। यसअघि एमाले प्रदेश कमिटी ४ सय ८७ सदस्यीय रहेको थियो।
Shares
प्रतिक्रिया