ad ad

राजनीति


जानाजान रविमाथि मकैको खोया नहानेको सन्तोष रानाभाटको बयान

सूर्यदर्शन सहकारीबाट ऋण लिनेमा रविको पनि नाम
जानाजान रविमाथि मकैको खोया नहानेको सन्तोष रानाभाटको बयान

नेपालखबर
पुस ७, २०८० शनिबार २२:५०, पोखरा

नेताहरूप्रतिको आक्रोश ‘आक्रमण’मा बदलिन थालेपछि पुराना–नयाँ सबैखाले नेताहरू त्यसको तारोमा पर्न थालेका छन्। र, त्यो क्रमको पछिल्लो ‘तारो’ रवि लामिछाने बनेका छन्।

कुनैबेला भ्रष्टाचारीलाई ‘नाकको डाँडी भाँच्चिने गरी घुमाई–घुमाई हान्ने’अभिव्यक्तिका कारण चर्चित र विवादास्पद बनेका उनै रविलाई लक्षित गरी शनिबार पोखराको अमरसिंंह चौरमा मकैको खोया प्रहार भयो।

प्रहरीले खोया हानेको आरोपमा पक्राउ परेका युवकले आफूले सो कार्य नगरेको र असावधानीवश खोया मञ्चतिर गएको प्रतिक्रिया दिएको जानकारी दिएको किन नहोस्, रवि स्वयंले खोया प्रहार भएको स्वीकारेका छन् र त्यो जनआक्रोश भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन्।

कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार, प्रारम्भिक बयानको क्रममा सन्तोष रानाभाटले जानाजान त्यस्तो नगरेको बताएका छन्।

खोया प्रहार गरेको आरोपमा पक्राउ परेका लमजुङको राइनास नगरपालिका-८, तार्कुघाटका ३७ वर्षीय युवा नखुलेसम्म, प्रहरीले अनुसन्धानपछि तथ्य सार्वजनिक नगरेसम्म घटनाको अन्तर्य के हो भन्ने प्रष्ट हुनेछैन।

रवि समर्थकको आक्रमणमा परेका सन्तोष रानाभाट यतिबेला प्रहरी नियन्त्रणमै छन्। सन्तोष को हुन् र उनले किन त्यसो गरे? यो प्रश्नको उत्तर सजिलो छैन। केहीले उनी रविको समेत नाम मुछिएको सूर्यदर्शन सहकारीपीडत भएको र आफ्नो पैसा फसेपछि आक्रोश व्यक्त गरेको अनुमान लगाएका छन्।

प्रहरीले भने यो अनुमानलाई पनि ‘असत्य’ भनेको छ। बरु, उनी मानसिक रूपले स्वस्थ नभएको अनुमान लगाएको छ। तर, हामीले उनको स्थायी घर भएको वडा अर्थात् राइनास नगरपालिका ८ का वडाध्यक्ष कृष्णबहादुर रानाभाटसँग सम्पर्क गर्दाचाहिँ उनले घटनापछि आफू पनि आश्चर्यमा परेको बताए।

‘यो मान्छे, खास यहाँ धेरै बसेको हैन। पुर्ख्यौली घर यहीँ हो। यो केटोचाहिँ यहाँ जन्मेको पनि हैन। केही वर्ष पहिला ऊ यहाँ आयो। मेरो बाउको जग्गा छ अरे भनेर आयो, कटेरो हाल्यो। अलिकति जग्गा छ। सबैले गाउँको मान्छे, बस्ने गरेर आयो भनेर राम्रो भयो भने,’ वडाध्यक्ष रानाभाटले टेलिफोनमा नेपालखबरसँग भने, ‘श्रीमती र नानीसहित केही समय यहीँ बस्यो। बाहिर हुर्केको केटो हो। हिँडेको डेढ वर्ष भयो। आइरहने पनि हैन। घटनापछि म दंग परेको छु। पार्टीप्रति लगाव भएको मान्छे पनि हैन। कसरी हान्नपुग्यो?’

सहकारीपीडित वा अन्य कारण थाहा नभएको उनको प्रतिक्रिया थियो।

सूर्यदर्शन सहकारीबाट ऋण लिनेमा रविको पनि नाम
रास्वपा अध्यक्ष रवि लामिछाने शुक्रबार पोखरा आएका थिए। उनले यहाँका केही शुभेच्छुकसँग भेटघाट गरिसकेका थिए। त्यही क्रममा सूर्यदर्शन सहकारीका पीडितहरूसँग पनि उनको भेट भयो।

सूर्यदर्शन सहकारी पीडित बचतकर्ताहरूले गठन गरेको संघर्ष समितिका संयोजक किरण श्रेष्ठका अनुसार, शुक्रबार बेलुकी पौने ८ बजेदेखि करिब १ घण्टा रविसँग भेट भएको थियो। भेटका क्रममा उनीहरूले आफ्नो बचत रकम फिर्ताका लागि सहजीकरण गरिदिन माग गरेका थिए।

सूर्यदर्शन त्यही सहकारी हो, जसमा यसअघि रवि नै हर्ताकर्ता रहेको ग्यालेक्सी फोर के टेलिभिजनमा लगानी गरेको प्रमाणित भइसकेको छ। गीतेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको यस सहकारीले गोर्खा मिडिया नेटवर्कमार्फत् टेलिभिजनमा लगानी गरेको थियो। जीबी यतिबेला सहकारी घोटलामा मुद्दा खेपिरहेका छन् भने राजनीतिमा आउने घोषणासँगै रविले टेलिभिजन छाडेका थिए। 

‘हिजो माननीय रविज्यूलई ज्ञापनपत्र बुझाइयो। यो विषयप्रति सहयोग गर्दिनुपर्‍यो। तपाईं पनि यही मान्छे (जीबी) सँग सहकार्य गर्नुभएको थियो। नचिनेको भन्दा त सहकार्य गर्नेलाई थाहा होला नि हजुर भन्यौं। व्यथा सुनायौं,’ संघर्ष समितिका संयोजक श्रेष्ठले भेटबारे जानकारी दिँदै भने, ‘हामीले रास्वपालाई नै ज्ञापनपत्र बुझाएको तेस्रोपटक हो। पहिलोपटक यहाँको नागढुंगामा रहेको पार्टी कार्यालयमा, दोस्रोपटक डा. तोसिमालाई लेकसाइड पुगेर रवि सरलाई दिनू भनेर बुझाइयो। यो तेस्रोपटक हो। एउटै पार्टीलाई यतिपटक बुझाउनुको अर्थ भनेको रविजीले जीबी राई र कुमार रम्तेलसँग सहकार्य गर्नुभएकोले हो।’

किरणका अनुसार, यसपटक रविकै चाहनाअनुसार पीडितहरूले सहजै भेट पाएका हुन्।

‘पहिला हाम्रो कुराको सुनुवाइ भएको थिएन। अहिले रविलाई भेट्न खोज्नुभन्दा पनि रविले नै भेट्न खोजेको बुझियो। प्रतिवेदनमा रवि लामिछानेको नाम पनि आएको छ। रविले ऋण लगेको भन्ने कुरा छ। पुष्टि भएर नै उहाँको नाम आएको होला। उपप्रधान र गृहमन्त्री भइसकेको मान्छेको नाम त्यत्तिकै आउँदैन,’ उनले भने, ‘पहिला निकै गाह्रो भएको थियो भेट्न। किन रविको नाम लिन्छौ भनेर धम्की आउँथ्यो। पत्रकार लगाएर फोन गरेकै हुन्। गृहमन्त्री हुँदा सञ्चालक समितिका मान्छेले पनि फोन गरेर थक्याइदिन्छु भनेकै हो।’

पीडितको सूचीमा छैन रानाभाटको नाम
आफूहरूले बचत रकम फिर्ताको लागि रविलाई ज्ञापनपत्र बुझाए पनि आज खोया प्रहार गर्ने व्यक्ति भने पीडितको सूचीमा नरहेको उनले बताए।

‘उहाँ अहिलेसम्म संघर्ष समितिमा आउनुभएको छैन। हामीसँग नाम भएका १ हजार ३७ भित्र हुनुहुन्न। पीडतको आफन्त हुन सक्नुहुन्छ। यो अनुसन्धानको पाटो छ। सहकारीले खाइदिएर डिप्रेसनमा गएको व्यक्ति पनि हुन सक्छ। जे पनि हुनसक्छ,’ उनले भने।

सूर्यदर्शन सहकारी घोटालाको अभियोगमा कुमार रम्तेलसहितका केही व्यक्ति पक्राउ परे पनि बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छैनन्।

जीबीसहित सहकारीका सञ्चालकहरू फरार छन्। यस सहकारीले बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ अपचलन गरेको अभियोग छ।

यस सहकारीले पोखरामा मात्रै पनि १ अर्ब ११ करोडभन्दा बढी अपचलन गरेको महानगरको सहकारी शाखाले जनाएको छ। सूर्यदर्शनविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नै १ हजार ३६ जनाले उजुरी दिएका छन्।

सहकारीको पोखरा शाखामा १८ हजार ७०० बचतखाता हुँदा ती खातामा कुल १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ जम्मा भएको देखिएको छ। बचत रकमबाट ४३३ वटा कर्जा खातामार्फत् १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ ऋण लगानी गरेको पाइएको महानगरको सहकारी शाखाले जनाएको छ।

सञ्चालकहरू फरार भएपछि बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि प्रशासन, प्रहरी र राजनीतिक नेतृत्व गुहारिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .