आगामी संसदमा ३० वर्ष नपुगेका युवादेखि ८० वर्ष नाघेका वयोवृद्धसम्मले प्रतिनिधित्व गर्ने भएका छन्।
२७ वर्षीया युवा सोविता गौतमदेखि ८० वर्षका चित्रबहादुर केसी र महन्थ ठाकुरसम्मले आगामी संसदमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गरिसकेका छन्।
सर्लाही–२ मा उम्मेदवार बनेका माओवादी केन्द्रका महिन्द्र राय यादवले चुनाव जिते यो संसदमा सबैभन्दा वृद्ध उमेरका सांसद उनै हुनेछन्। उनको उमेर ८५ वर्ष छ। तर, सर्लाही–२ मा मतगणना चलिरहेकाले यादवको संसदमा प्रतिनिधित्व सुनिश्चित भैसकेको छैन। त्यहाँ उनले चुनाव जित्ने सम्भावना भने बढेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ मा विजयी हुने सोविता गौतमको उमेर २७ वर्ष मात्रै छ। उनले ५६ वर्षीय एमाले नेता मणिराम फुँयाललाई पराजित गरेर संसदको यात्रा तय गरेकी हुन्। प्रत्यक्ष तर्फबाट यो संसदमा प्रतिनिधत्व गर्ने सबैभन्दा कम उमेरकी सांसद उनै हुने सम्भावना छ।
उता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ८० वर्षको वयोवृद्ध उमेर बागलुङ १ बाट निर्वाचन जितेका छन्। केसीले एमालेका ४६ वर्षीय सूर्यप्रसाद पाठकलाई पराजित गरेका हुन्।
उता लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि ८० वर्षको उमेरमा आफ्नो सांसद पद सुरक्षित गरेका छन्। महोत्तरी ३ बाट उनले एमालेका ६० वर्षीय हरिनारायण यादवलाई पराजित गरेर संसदमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गरेका हुन्।
डडेलधुरा १ बाट निर्वाचित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा उमेरले ७७ वर्ष पुगिसेकका छन्। तनहुँ १ बाट निर्वाचित कांग्रेसकै प्रभावशाली नेता रामचन्द्र पौडेलको उमेर पनि ७८ वर्ष छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेरमा झापा ५ बाट निर्वाचन जितेका छन्। त्यहाँ उनले कांग्रेसका ४८ वर्षीय खगेन्द्र अधिकारीलाई पराजित गरेर संसदको यात्रा सुनिश्चित गरेका हुन्।
सरकारले ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई वृद्धभत्ता दिने व्यवस्था गरेको छ। अब बन्ने संसदमा वृद्धभत्ता खाने उमेरका धेरै नेताले संसदमा प्रतिनिधित्व गर्दैछन्।
Shares
प्रतिक्रिया