गत मंसिर ४ गते प्रतिनिधिसभाअन्तर्गत बारा क्षेत्र नम्बर २ मा तीनजना स्वतन्त्र उम्मेदवारले २९ हजार ४९१ मत ल्याएका थिए।
तीमध्ये नेपाली कांग्रेसभित्रैबाट दुईजनाले बागी उम्मेदवारी दिएका थिए। यद्यपि उनीहरुले जित्न सकेनन्। गठबन्धनका उम्मेदवार हराउन भने उनीहरू सहयोगी बने।
कांग्रेससहित चार दलका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई हराउँदै एमालेको साथ मिलेका जनता समाजवादी पार्टीका साझा उम्मेदवार रामसहायप्रसाद यादवले चुनाव जिते।
यसपटक त्यही क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। चुनावमा गठबन्धनभित्रैबाट तीन जना उम्मेदवार छन्।
उपनिर्वाचनमा जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।
तीन पार्टीले उम्मेदवार सार्वजनिक गरिसकेका छन्। यो समाचार तयार पार्दासम्म नेकपा एमालेले उम्मेदवार तय गरिसकेको छैन।
मंसिर ४ को चुनावमा पनि एमालेले उम्मेदवारी दिएको थिएन।
सप्तरी–१ बाट जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतसँग पराजित भएका जसपा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्न बारा–२ पुगेका हुन्।
त्यस क्षेत्रमा जसपाकै रामसहायप्रसाद यादवले जितेका थिए। उनी उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेकोले बैशाख १० मा उपनिर्वाचन हुन लागेको हो।
यादवसँग पराजित कुशवाहाले जनमत पार्टी प्रवेश गरेर उम्मेदवारी मनोनयन गराउँदैछन्।
रास्वपाले पूर्व प्रहरी डीआइजी रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसबाहेक केही स्वतन्त्र उम्मेदवारी पर्ने सम्भावना छ।
उपनिर्वाचनको सोमबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ।
त्यस निर्वाचन क्षेत्रमा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिन्छ। नेताहरूका अनुसार उम्मेदवारमध्ये सबैभन्दा हेभिवेटका उपेन्द्र यादव छन्।
तर, उनलाई भर्खरै उदाएका जनमत र रास्वपाले टक्कर दिदैँछन्।
मंसिरमा भएको चुनावमा सो क्षेत्रमा ३ स्वतन्त्र उम्मेदवारले ल्याएको मत महत्वपूर्ण छ।
सोही मत कता खस्छ? चुनावी परिणाम उसैको पक्षमा पर्छ।
तर, पाँच महिना अघिको चुनावमा उम्मेदवारी दिएका दुईजना स्वतन्त्र उम्मेदवार उपेन्द्रको पक्षमा खुलेका छन्।
मंसिर ४ को त्यो चुनाव
मंसिर ४ मा बारा–२ बाट जसपाका यादवले १३ हजार ८२२ मत ल्याएर चुनाव जितेका थिए। माओवादी केन्द्रका कुशवाहाले १३४६८ मत पाएर निकटतम् प्रतिस्पर्धी भए।
स्वतन्त्रबाट उठेका रामकिशोर यादवले ११०४३ मत ल्याए। यस्तै, अर्का स्वतन्त्र उम्मेदवार रविन्द्र प्रसाद यादव १०७५० मत ल्याएर चौथो स्थानमा थिए।
उनी कांग्रेसका नेता हुन्।
पाँचौ स्थानमा रहेका अरुणकुमार ज्ञवालीले ७६९८ मत पाए। यसआधारमा हेर्दा बारा २ को चुनावी परिणाममा स्वतन्त्र उम्मेदवारले पाएको मत निर्णायक देखिन्छ।
यद्यपि त्यसबेलाको अवस्थामा अहिले केही परिवर्तन भएका छन्।
स्वतन्त्रबाट उम्मेदवारी दिएका रामकिशोर प्रसाद यादव जसपा प्रवेश गरेको जसपाका प्रवक्ता पूर्ण बस्नेतले जानकारी दिए।
‘उहाँ हाम्रो पार्टी प्रवेश गरेर उपेन्द्रजीलाई जिताउन खटिसक्नुभएको छ,’ बस्नेतले नेपालखबरसँग भने, ‘अन्य साथीहरुपनि छलफलमै हुनुहुन्छ।’
जसपा अध्यक्ष यादवलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ।
सत्ता गठबन्धनमा रहेका १० दलमध्ये मुख्य चार दलको समर्थन यादवले पाएका छन्।
त्यस क्षेत्रमा जनमत पार्टीबाट राजेश साहले २७२५ मत पाएका थिए।
यसपटक जनमतले दोस्रो स्थानमा रहेका कुशवाहालाई भित्र्याएको छ र उम्मेदवार बनाएको छ।
तर, मंसिरमा माओवादी–कांग्रेस र एकीकृत समाजवादीबीच चुनावी तालमेल थियो।
तीन दलबाट उम्मेदवार बनेका कुशवाहाले पाएको मत माओवादीको मात्र नभएकोले उनको एकल मत कति छ प्रष्ट छैन।
कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवका अनुसार आम निर्वाचन र अहिले परिस्थितिमा निकै फेरबदल आएको छ।
‘त्यसबेला गठबनधनबाट चुनाव लडेका शिवचन्द्र कुशवाहाजी अहिले माओवादी छाडेर अर्के दलमा जानुभयो, अब उहाँको आफ्नै मत कति छ? सहानुभूतिको मत कति लिएर जानुहुन्छ?’ यादवले नेपालखबरसँग भने, ‘नोमिनेशनपछि प्रष्ट सिनारियो देखिन्छ।’
जनमतले पाएको मत उसैको मात्र हो।
‘पार्टीले उपेन्द्रजीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेकोले कार्यकर्ता र जिल्ला पार्टी खटिन्छ,’ कांग्रेस बारा सभापति यादवले थपे, ‘पार्टीभित्र असन्तुष्टि छैन, भएपनि अब पार्टीको निर्णय मान्नुपर्छ, इमान्दार बन्नुपर्छ।’
यस्तै, नागरिक उन्मुक्ति पार्टीका तेजबहादुर भगतले ११ सय ११ मत ल्याएका थिए। यसपटक रामचन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ।
मंसिर ४ मा तत्कालीन नेपाल सुशासन पार्टीका उमेशप्रसाद जयशवालले जम्मा १५० मत पाएका थिए।
सुशासन पार्टी पूर्व डिआइजी रमेश खरेलले स्थापना गरेका हुन्। यसपटक खरेल रवि लामिछाने नेतृत्वको रास्वपाबाट बारा २ मा चुनाव लड्दैछन्।
यसबाहेक त्यस क्षेत्रमा स्वतन्त्रबाट उठेका रविन्द्र प्रसाद यादव र अरुणकुमार ज्ञवालीले पाएको मततिर दलहरुको ध्यान केन्द्रित छ।
यी दुई उम्मेदवारले साढे १८ हजार मत ल्याएका थिए। रोचक तथ्य त दुबै उम्मेदवार कांग्रेसकै सक्रिय जिल्ला नेता हुन्।
कांग्रेसले माओवादी उम्मेदवारलाई सघाउने निर्णय गरेपछि यादवले पार्टी निर्णयप्रति विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।
यस्तै, अधिवक्ता समेत रहेका ज्ञवालीले पनि बाहिरियालाई उम्मेदवार बनाएको असन्तुष्टिमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।
यसपटक यादवले पार्टी निर्णय पालना गर्ने घोषणा गरेका छन्।
झण्डै ११ हजार मत ल्याएका यादवको समर्थन उपेन्द्रलाई नै हुने नेपालखबरसँग बताए।
‘मेरो पार्टीले उपेन्द्रजीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ, पार्टी निर्णय पालना गर्छु,’ यादवले भने, ‘ म यसपटक उम्मेदवारी दिँदैन।’
तर, मंसिरको चुनावमा स्वतन्त्रबाट लडेका अधिवक्ता अरुणकुमार ज्ञवालीले उपचुनावमा उम्मेदवारी दिने निर्णय गरिनसकेको बताए।
‘उम्मेदवारी घोषणा भोलिमात्रै निर्णय हुन्छ,’ ज्ञवालीले नेपालखबरसँग भने, यसअघि जनताले यही निर्वाचन क्षेत्रको स्थायी बासिन्दा भएकोले चुनाव लड्न दबाब दिनुभयो, यसपटक चुनाव लड्न रास्वपा लगायत दलबाट प्रस्ताव आएकै थियो तर, उठिन।’
बारा २ मा बाहिरिया उम्मेदवारको आतंकले उम्मेदवारी दिने अवस्था सिर्जना भएको उनको भनाइ छ। उनी भोलि ४ बजेसम्म कुर्ने र त्यसपछि निर्णय गर्ने बताउँछन्।
यदि स्थानीय नै दलीय उम्मेदवार उठेको अवस्थामा उसैलाई समर्थन गर्ने ज्ञवालीले बताए।
Shares
प्रतिक्रिया