नेपालीको ठूलो पर्व दशैँअघि १० चर्चित मोडलका कार नेपाल भित्रिने भएका छन्।
हरेक वर्ष नाडा अटो शोमा नयाँ मोडल सार्वजनिक गर्दै आएका अटो व्यवसायीले यसपटक अनलाइनमार्फत नै नयाँ कारहरु सार्वजनिक गर्ने भएका हुन्।
कोभिड १९ का कारण यस वर्ष अटो क्षेत्रमा पनि नराम्ररी प्रभाव परेको छ। यस्तो अवस्थामा भित्रिने नयाँ ‘प्रोडक्ट’ले नेपालको अटो बजार चलायमान हुने व्यवसायीले बताएका छन्। अधिकांश कम्पनीले बीएस–६ मोडलका सवारीसाधन ल्याउनलागेको बताएका छन्।
जर्मन कार उत्पादक फक्सवागन र भारतीय कम्पनी टाटाले प्रिमियम हचब्याग ल्याउन लागेका छन् भने किया, टोयोटाले एसयुभी सेगमेन्टका आकर्षक गाडी भित्र्याउँदै छन्। हुन्डाई र निसानले बीएस ६ मापदण्डका गाडी चाडपर्व लक्षितगरी ल्याउँदै छन्।
कोभिड १९ को कारण थलिएको अटोबजार चलायमान बनाउन नेपाली अटो व्यवसायीले लकडाउन खुकुलो भएपछि आकर्षक अफर ल्याएका थिए। तर कोभिडको अवस्था कहिलेसम्म रहने, आम्दानीमा कस्तो असर गर्छ भन्ने अनिश्चितता ग्राहकमा रहँदा चारपांग्रे सवारीको बजार चलायमान हुन नसकेको व्यवसायीहरु बताउँछन्।
दशैँ, तिहार लक्षित गरी ल्याउन लागेका नयाँ मोडलले ग्राहकलाई आकर्षित गरी खुम्चेको अटोबजारमा ऊर्जा थप्ने व्यवसायीको विश्वास छ।
कुन कम्पनीका कस्ता मोडल आउँदै छन् ?
टाटा
टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले दशैँसम्म प्रिमियम हचब्यागको टाटा अल्ट्रोज नेपाल ल्याउने बताएको छ। कम्पनीले नेपालमा हचब्यागमा अल्ट्रोज अत्यधिक रुचाइएको गाडीमा पर्ने विश्वास गरेको छ।
अल्ट्रोज पेट्रोल र डिजेल दुवै सेगमेन्टमा नेपालमा आउने कम्पनीले जनाएको छ। ३ सिलिन्डरको उक्त गाडी १२ सय सीसीमा पेट्रोल र ४ सिलिन्डरसहित १५ सय सीसीको डिजेल इन्जिनयुक्त छ। पेट्रोल इन्जिनको अधिकतम ६ हजार आरपीएममा ८६ पीएस र ३३ सय आरपीएममा ११३ टर्क जेनेरेट गर्छ ।
हुन्डाई
हुन्डाईको लागि आधिकरिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैंसम्म तीन मोडलका नयाँ प्रोडक्ट नेपाली बजारमा आइपुग्ने बताएको छ। हुन्डाईले के्रटा, भेन्यु, औराका नयाँ मोडल ल्याउन लागेको हो। हुन्डाईको औरा सेडान सेगमेन्टको गाडी हो भने क्रेटा र भेन्यु एसयुभी सेगमेन्टका गाडी हुन्। हुन्डाईले यी गाडी बीएस ६ इन्जिनमा ल्याउँदै छ।
फक्सवागन
फक्सवागनले आफ्नो चर्चित ह्याचब्याक पोलो टीएसआई इन्जिनमा ल्याउने जानकारी दिएको छ। नेपालमा पूजा इन्टरनेशनलले अधिकृत बिक्रेताको रुपमा फक्सवागनका गाडीहरु बिक्री गरिरहेको छ।
कम्पनीले उक्त गाडी नेपालमा उपलब्ध भएका हचब्यागमा सबैभन्दा शक्तिशाली हुने दाबी गरेको छ। गाडीको सबैभन्दा महत्वपूर्ण पार्ट्सको रुपमा इन्जिन रहने गर्छ। फक्सवागन पोलोमा १.० लिटर टीएसआई टर्बो चाज्र्ड इन्जिन रहेको छ। यसमा रहेको टर्बो इन्जिनले १०८ बीएच पावर प्रदान गर्छ। दशैंअघि आउने पोलोको टीएसआई बीएस ६ इन्जिनसहितकै हुनेछ।
किया
कियाको नयाँ गाडी सोनेट दशैँसम्म नेपाल आउने भएको छ। नेपालमा किया मोटर्सका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले सोनेटको गाडी दशैँसम्म भित्र्याउने जानकारी दिएको छ। युवामाझ आकर्षण बटुलेको एसयूभी सेग्मेन्ट किया सोनेट ग्लोबल मोडल हो।
पेट्रोल इन्जिनको सोनेटमा ६ स्पिड टर्क कन्भर्टरसहितको अटोमेटिक डिजेल इन्जिन उपलब्ध हुनेछ। यसलाई कम्पनीले १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो चाज्र्ड पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा आउने बताइएको छ। उक्त गाडीमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, यूभीओ कनेक्टेड कार टेक, इलेक्ट्रिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस मोबाइल चार्जर, मल्टी इन्फर्मेसन डिस्प्लेलगायतका फिचर छन्।
निसान/ड्याट्सन
निसानको लोकप्रिय मोडल किक्स बीएस ६ इन्जिनमा दशैँअघि नै आउने कम्पनीले जानकारी दिएको छ। नेपालमा निसान र ड्याट्सनका गाडी पायनोर मोटोकर्पले आधिकारिक बिक्रीवितरण गर्दै आएको छ। कम्पनीका अनुसार ड्याट्सनको रेडी गो र गो दुवै बीएस ६ इन्जिनमा नेपालमा आउँदै छन्। एसयूभी सेगमेन्टको निसान किक्स बीएस ६ मा १.३ टर्बो इन्जिनमा आउनलागेको हो।
टोयोटा
टोयोटाको १ महिनाभित्र कोरोला क्रस एसयुभी सेगमेन्टमा आउँदै छ। नाडा अटो शोमा लञ्च गर्ने योजना भए पनि कोभिड १९ का कारण त्यो नहुने भएपछि त्यही समयमा उक्त कार सार्वजनिक गरिनलागेको हो। कोरोला क्रस लो र हाई गरी दुई भेरियन्टमा नेपालमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
Shares
प्रतिक्रिया