अमेरिकी वैज्ञानिकहरुले बहुप्रतीक्षित आणविक योग (फ्युजन) मार्फत उर्जा उत्पादनमा ठूलो सफलता हात पारेको घोषणा गरेका छन्। परीक्षणका क्रममा लगाइएको भन्दा बढी उर्जा उत्पादन गर्न वैज्ञानिकहरु सफल भएका हुन्।
यो प्रविधि असीमिति स्वच्छ उर्जाको स्रोत बन्न सक्छ। त्यसैले दशकौँदेखि भौतिकशास्त्रीहरुले यो प्रविधि विकासको प्रयास गरिरहेका थिए।
यो परीक्षणमार्फत वैज्ञानिकहरु केही किट्ली पानी तताउन पुग्ने उर्जा उत्पादन गर्न सफल भएका छन्। तर, आणविक योगसिर्जित उर्जा घरघरमा प्रयोगमा आउन भने निकै समय लाग्ने विज्ञहरुको भनाइ छ।
यो परीक्षण अमेरिकाको क्यालिफोर्नियास्थित लरेन्स लिभरमोर नेसनल ल्याबरोटरीमा रहेको नेसनल इग्निसन फ्यासिलिटीमा गरिएको थियो।
के हो आणविक योग?
यो आणविक विखण्डन (न्युक्लियर फिसन) को विपरीत हो। आणविक विखण्डनमा गह्रौँ अणुहरु (युरेनियम) लाई टुक्र्याइन्छ। त्यसो गर्दा उर्जा उत्पन्न हुन्छ। हाल सञ्चालित आणविक भट्टीहरु यही प्रविधिबाट बनेका हुन्।
तर, यो प्रक्रियाबाट ठूलो मात्रामा विकार उत्पन्न हुन्छन्। जसबाट लामो समयसम्म खतरनाक विकिरण निस्किरहन्छ। त्यसैले तिनलाई सुरक्षित रुपमा भण्डारण गर्नुपर्ने हुन्छ, जुन निकै खर्चिलो काम हो।
तर, आणविक योगमा चाहिँ हलुका दुई अणु (हाइड्रोजन) लाई एकसाथ जोडिन्छ। यो जोडाइ अर्थात् योगबाट ठूलो मात्रामा उर्जा उत्पन्न हुन्छ। जसरी सूर्यबाट उर्जा उत्पन्न हुने गर्छ।
यसबाट उर्जा अत्यधिक निस्किन्छ भने विकिरणयुक्त विकार थोरै निस्किन्छ। त्यो विकिरण पनि छोटो समयसम्म मात्र रहन्छ। अझ महत्वपूर्ण कुरा, यो प्रक्रियामा हरितगृह ग्यास उत्पन्न हुँदैन, जसका कारण यसले जलवायु परिवर्तनलाई बढाउँदैन।
तर, यो प्रक्रियाको सबैभन्दा ठूलो चुनौती भनेको दुई अणुहरुको योगमा ठूलो मात्रामा ताप र दबाब आवश्यक पर्छ। अहिलेसम्मको कुनै पनि परीक्षणमा लगाइएको भन्दा ज्यादा उर्जा उत्पादन गर्न सकिएको थिएन।
कसरी गरियो परीक्षण?
क्यालिफोर्नियाको नेसनल इग्निसन फ्यासिलिटी ३.५ अर्ब डलरको प्रयोग हो। परीक्षणका क्रममा अलिकति हाइड्रोजनलाई मरिचको गेडाजत्रो क्याप्सुलमा हालियो। र, त्यसलाई शक्तिशाली लेजरको सहाराले ताप र दबाब दिइयो।
त्यो लेजर यति शक्तिशाली छ कि त्यसले सो क्याप्सुलको तापक्रम १० करोड डिग्री सेल्सियस पुर्याउन सक्छ। अर्थात् त्यो सूर्यको केन्द्रभन्दा पनि धेरै तातो बन्न सक्छ।
यति चर्को ताप र दबाबका कारण क्याप्सुल आफैँ विस्फोट हुन थाल्छ, जसले हाइड्रोजनका अणुहरुलाई जोड्न थाल्छ र उर्जा उत्पादन हुन्छ।
यसले ‘फ्युजन इनर्जी’ को सम्भावना देखाएको मात्र नभई विज्ञानको नयाँ क्षेत्रको ढोका नै खोलेको वैज्ञानिकहरुले बताएका छन्।
यो प्रविधिले काम गर्छ भन्ने मात्रै पुष्टि भएको हो। व्यावहारिक रुपमा यसबाट फाइदा लिन भने अझै धेरै परीक्षण, ठूलो लगानी र समय लाग्ने बताइएको छ। एजेन्सी
Shares
प्रतिक्रिया