नेपाली राष्ट्रिय क्रिकेट टोली पुनः एकपटक प्रशिक्षकविहीन बनेको छ। टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाल क्रिकेट संघ (क्यान) लाई राजीनामा पत्र बुझाएर उनी स्वदेश फर्किएका हुन्।
यद्यपी यसबारेमा क्यानले औपचारिक जानकारी भने दिएको छैन। क्यानले एक कार्यक्रम गर्दै प्रभाकरको बिदाइ गरेको एक पदाधिकारीले बताए।
तत्कालीन प्रशिक्षक डेभ ह्रवाटमोरले राष्ट्रिय टोली छाडेपछि प्रभाकर नेपाली टोली सम्हाल्न गत साउनमा नेपाल आएका थिए। भारतिय प्रशिक्षक प्रभाकर नेपाल आएपछि नेपालको क्रिकेट यात्रा झन् ओरालो लागेको छ।
पूर्व प्रशिक्षक ह्वाटमोरले टोली सम्हालेपछि नेपाली टोली केही लयमा देखिएको थियो। उनले नेपालको ब्याटिङ लाइनमा सुधारको संकेत दिएका थिए। उनले टोलीमा ओपनरको खोजी गर्दै नेपाललाई सुखद नतिजा पनि दिएका थिए।
प्रभाकरले नेपाली टोली सम्हालेपछि नेपालको प्रर्दशन झन् खस्किँदै गएको छ। प्रभाकर नेपाल आएको एक सातामा नै राष्ट्रिय टोलीले केन्या भ्रमण गरेको थियो।
नेपालले केन्यामा तीन एकदिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो। तीन एक दिवसीय शृङखला ३–० ले क्लिन स्वीप गरेको नेपालले टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले आफ्नो पक्षमा पारेको थियो।
उनकै प्रशिक्षणमा नेपालले पछिल्लो समय आईसीसी लिग–२ अन्तर्गत स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिजका लागि नामिबिया भ्रमण गरेको थियो।
नामिबियामा खराब प्रर्दशन गरेको नेपालले एक जित पनि निकाल्न सकेन। नामिबियासँगको पहिलो खेल वर्षाले रद्द हुँदा दोस्रो खेलमा ८६ रनले पराजित भएको थियो। उता स्कटल्याण्डलाई पहिलो खेलमा ३ विकेटले तथा दोस्रो खेल ८ विकेटले नतिजा सुम्पेको थियो।
लिग–२ मा खराब प्रर्दशन गरिरहेको नेपालको एक दिवसीय मान्यता पनि संकटमा छ। नेपाललाई एक दिवसीय मान्यता जोगाउन लागि शीर्ष ५ मा रहनुपर्ने दबाब छ जुन नेपालका लागि कठिन बन्दै गइरहेको छ। लिग–२ मा २४ खेल खेलेको नेपालले ८ खेलमा जित निकाल्दा १४ खेलमा हार व्यहोरेको छ। १ खेल बराबरीमा सकिएको छ। १८ अंकमा नेपाल छैटौँ स्थानमा छ।
नेपालको प्रशिक्षक नियुक्त हुँदा प्रभारकले नेपालको क्रिकेटलाई नजिकबाट नियालिरहेको र खेलाडीको प्रतिभा र क्षमता हेरेर नेपालको क्रिकेट बलियो बनाउने काम गर्ने बताएका थिए। तर प्रभाकरमाथि टोलीको ब्याटिङ रोलक्रम र बलिङ पनि बिगारेको आरोप लागेको छ। केन्या भ्रमणको समयमा नै खेलाडीसँगको आन्तरिक विवादका कारण प्रभाकर र खेलाडीको दूरी बढ्दै गएको थियो जसको असर टोलीको प्रर्दशनमा देखिएको छ।
उनलाई बिदाइ गर्न क्यानले आयोजना गरेको एक कार्यक्रममा प्रशिक्षक प्रभाकरले यी खेलाडी भएसम्म जो प्रशिक्षक ल्याए पनि फरक नपर्ने र खेलाडीहरु अनुशासनभन्दा बाहिर रहेका कारण प्रशिक्षकभन्दा खेलाडी बदल्न जरुरी रहेको बताएको चर्चा चलेको छ।
Shares
प्रतिक्रिया