शनिबार विश्वव्यापी रूपमा धेरै ट्विटर प्रयोगकर्ताको अकाउन्ट डाउन भयो। प्रयोगकर्ताहरूले ट्विटर रिफ्रेस नभएको गुनासो गरे।
सामाजिक सञ्जालमा उनीहरूले ट्विटरमा देखिएको उक्त समस्याबारे बताइरहेका छन्।
इन्टरनेट वा अन्य सेटिङका कारण यस्तो भएको हो कि भन्ने शंका धेरैले व्यक्त गरे पनि कारण त्यस्तो थिएन, कारण थियो ट्विटरका मालिक एलन मस्कले एकाएक ट्विटर फिचरमा धेरै ठूलो परिवर्तन गरेका थिए।
मस्कले शनिबारदेखि लागू हुनेगरी तीन प्रणालीमा सुधार गरिएको बताएका छन्।
शनिबार प्रयोगकर्ताहरूका लागि उनले केही सीमाहरू निर्धारण गरिको जानकारी दिएका छन्। जसअन्तर्गत ट्विट पढ्न सीमा निर्धारण गरिएको छ। मस्कका अनुसार भेरिफाइड अकाउन्टबाट दैनिक ६ हजार वटा ट्विट हेर्न सकिने तर अनभेरिफाइड अकाउन्टबाट ६ सयवटा मात्रै ट्विट हेर्न मिल्ने नियम उनले बनाएका छन्।
यसैगरी नयाँ बनेका अनभेरिफाइड अकाउन्टबाट दैनिक ३ सय वटा मात्रै ट्विट हेर्न मिल्ने व्यवस्था गरिएको छ।
यसैगरी ट्विट हेर्न अनिवार्य लगइन गर्नपर्ने व्यवस्था पनि उनले गरेका छन्। यसअघि अन्य सामाजिक सञ्जाल वा मेसेजमा पठाइएको ट्विट लगइन नगरी हेर्न सकिन्थ्यो। अब त्यस्तो ट्विट हेर्न पनि अनिवार्य लगइन हुनुपर्ने व्यवस्था उनले गरेका हुन्।
ट्विटमा सीमा निर्धारण गरेपछि धेरैले यसो नगर्न सुझाव मस्कलाई दिएका छन्। धेरै आलोचना भएपछि मस्कले अर्को ट्विट गर्दै भेरिफाइड अकाउन्टमा दैनिक ८ हजार, अनभेरिफाइडमा ८०० र नयाँ अकाउन्टमा ४०० वटासम्म ट्विट हेर्न मिल्ने व्यवस्था गर्ने बताए।
उक्त प्रस्तावमा पनि धेरैले असन्तुष्टि जनाएपछि उनले लेखेका छन्, 'अब १० हजार, १ हजार र ५ सय।'
Shares
प्रतिक्रिया