ad ad

प्रविधि


नासा स्पेस एप प्रतिस्पर्धाको ग्लोबल फाइनल अनरेबल मेन्सनमा नेपाली विद्यार्थी

नासा स्पेस एप प्रतिस्पर्धाको ग्लोबल फाइनल अनरेबल मेन्सनमा नेपाली विद्यार्थी

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ८:१०,

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले प्रत्येक वर्ष आयोजना गर्ने अन्तर्राष्ट्रिय स्पेस एप्स प्रतिस्पर्धामा नेपाली विद्यार्थीको एक टोली ग्लोबल फाइनलमा पुगेका छन।

१५० देशका २६ हजार जनाको सहभागिता रहेको प्रतिस्पर्धामा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीको टोलीले अनरेबल मेन्सनमार्फत ग्लोबल फाइनलमा स्थान बनाएको हो।

नेपाल एष्ट्रोनोमिकल सोसाईटीले ललितपुरमा आयोजना गरेको ह्याकाथनबाट ग्लोबल अवार्डका लागि नोमिनेट भएका दुई टोलीमध्ये एक टोलीले अनरेबल मेन्सन हात पारेको हो।

नेपाल एष्ट्रोनोमिकल सोसाईटीले देशका सात प्रदेशका आठ ठाउँमा (इटहरी, जनकपुर, ललितपुर, धुलिखेल, पोखरा, बुटवल, सुर्खेत तथा धनगढी) मा कार्यक्रम आयोजना गर्दै जम्मा ११ प्रोजेक्ट सिफारिस गरेको थियो।

नासाले आवेदन परेकामध्ये ४० समूहलाई ग्लोबल फाइनलमा राखेको छ। त्यसमध्ये थोरै अंकले मात्रै पछि परेका १२ समूहलाई अनरेबल मेन्सनमार्फत ग्लोबल प्रतिस्पर्धामा उतारेको हो।

भिक्टोरर नाम दिइएको नेपाली टोलीमा अविनाशमान कर्माचार्य, दीलिप राना, आदर्श बोहरा, गणेश राई, निरुजा घिमिरे र रेजिना महर्जन छन। सबै पुल्चोक क्याम्पसमा इलेक्ट्रिकल इन्जिनियरमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छन्।

उनीहरुले पृथ्वीदेखि अन्तरिक्षसम्म पुग्ने क्रममा तीव्रगतिमा यात्रा गर्दा हुने अनुभूतिका बारेमा सिमुलेसन सप्टवेयर निर्माण गरेका थिए।

‘पृथ्वीदेखि अन्तरिक्षमा पुग्न लामो दूरी तय गर्नुपर्छ। सोक्रममा विभिन्न गतिमा यात्रा हुन्छ। फरक, फरक रंग देखिन्छ। नजिकको वस्तु टाढा, टाढाको वस्तु नजिक देखिन्छ। स्पेस यात्राका क्रममा मानिसलाई के कस्तो अनुभुति हुन्छ ती कुरा सप्टवेयरमा समेटेर प्रस्तुत गरेका छौं,’ अविनाशले बताए।

नासाले गत अक्टोबर २–४ सम्म तीन दिनमा यो प्रोजेक्ट सक्ने समय तोकेको थियो। त्यसका लागि उनीहरु तीन भागमा विभाजन हुँदै काम गरे।

एपका लागि आवश्यक ग्रह, स्पेस आदिबारे तथ्यांक खोज्ने काममा निरुजा र रेजिना लागे। ती तथ्यांकहरुलाई सी प्लसप्लस ल्यांग्वेजमा उतार्ने काम आदर्श र दीलिपल गरे भने मानिसहरुलाई हुने अनुभुतिबारे ग्राफिक्स डिजायन गणेश र अविनाशको हात रह्यो।

अब जनवरी अन्त्यमा यस विधाको प्रतिस्पर्धाको नतिजा सार्वजनिक हुनेछ। नतिजा जे भएपनि नेपालको प्रतिनिधित्व हुँदै त्यहाँ पुग्नु नै सफलता रहेको अविनाश बताउँछन।

अहिले सी प्लसप्लस ल्याङग्वेजमा भएका कारण उनीहरुको एप कम्प्युटरमा मात्रै सीमित छ। केही समयपछि जाभामा लेख्दै मोबाइलमा उपलब्ध हुने वातावरण मिलाउन आफूहरु लागिरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .