ad ad

समाज


हवल्दारको योजनामा ‘शान्ति मिसन’को प्रश्नपत्र लिक

हवल्दारको योजनामा ‘शान्ति मिसन’को प्रश्नपत्र लिक

उजिर कार्की
साउन २१, २०७८ बिहिबार २०:५४, काठमाडौँ

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने पूर्वछनोट परीक्षाको प्रश्नपत्र साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहको योजनामा बाहिरिएको खुलेको छ। उनले त्यसका लागि प्रहरी प्रधान कार्यालयको यूएन शाखाका परिचर सुरेश बमलाई प्रयोग गरेको खुलेको छ। 

प्रश्नपत्र लिक गर्न शाहले बमलाई दिएको एक लाख रुपैयाँ ऋण मिनाहा गरिदिएको र परीक्षा पास भएर मिशनमा जानेबाट थप रकम दिलाइदिने आश्वासन दिएको परिचर बमले छानबिन समिति समक्ष बयान दिएका छन्। 

शाहले भनेपछि बमले परीक्षाको दुई दिन पहिले राति ८ बजे प्रश्नपत्र फोटोकपी गरेको खुलेको छ। प्रश्नपत्र रहेको दराजको चाबी परिचरसँग पनि भएको पाइएको छ। हवल्दार शाह पहिले यूएन शाखामै कार्यरत थिए। यूएन शाखाकै अधिकारीहरूको जोडबलमा हवल्दार शाहलाई सरुवा गरिएको थियो। सरुवा गरेपछि उनी रुष्ट रहेको यूएन शाखाका अधिकारीले बताए। 

यसअघि संलग्नता रहेको आशंका गरिएका यूएन शाखाकै डीएसपी वासुदेब पाठकको भने संलग्नता नरहेको छानबिन समितिले जानकारी दिएको छ। प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीएसपी रुपेश खड्काको भने संलग्नता देखिएको छ। 

उनलाई पनि कुमार शाहले नै प्रश्न पत्र दिएको खुलेको हो। रुपेशलाई आफूले प्रश्नपत्र दिएको हवल्दार शाहले स्वीकार गरेका छन्। रुपेश र कुमार पहिले यूएन शाखामै कार्यरत थिए। केही समय पहिले उनीहरूको सरुवा भएको थियो। 

प्रश्नपत्र बाहिरिएको प्रकरणमा २५ बढी प्रहरी जोडिएको छानबिन समितिका एक सदस्यले नेपालखबरलाई बताए। 

‘यसमा मुख्य भूमिका हवल्दार साह र परिचर बमको देखिएको छ। तर प्रश्नपत्र जहाँ जहाँ पुगेको छ उनीहरूलाई पनि छानबिनको दायरामा तानेका छौं। भोलिका दिनमा कसैबाट पनि नेपाल प्रहरीको छवि धुमिल्याउने दुसप्रयास नहोस् भन्ने हिसावले छानबिन हुन्छ’, बिहीबार ती सदस्यले नेपालखबरसँग भने।

उनका अनुसार छानबिन समितिले आउँदो साता छानबिन प्रतिवेदन बुझाउने तयारी गरेको छ। 

‘सोधपुछ लगभग सकिएको छ। अब त्यसलाई दस्तावेजिकरण गर्ने हो, आउँदो साता सोमबारसम्ममा बुझाउँछौं। हामी यसलाई छिट्टै टुंग्याउने तयारीमा छौं’, उनले भने। 

परीक्षा सञ्चालनको तयारी भइरहँदा गत शनिबार यूएन शाखाकै एक अधिकारीसम्म प्रश्नपत्र पुगेको थियो। उनी पनि परीक्षा दिने तयारीमा थिए। उनले यो प्रश्नपत्र कहाँबाट आयो भनेर सोधे। ती प्रहरीले आफूलाई अर्कैले पठाएको भनेर नाम दिए। ती अधिकारीले यूएन शाखा प्रमुखलाई त्यो प्रश्नपत्र सही होकि होइन भनेर निश्चित गर्दा प्रश्नपत्र लिक भएको पुष्टि भएको थियो। 

त्यसलगतै परीक्षा सञ्चालक समितिले अर्कै प्रश्नपत्र वितरण गरेर ढिलो गरी परीक्षा सञ्चालन गरेको थियो। पहिल्यै प्रश्नपत्र भेटिएका अधिकारीलाई भने तत्काल नियन्त्रणमा लिएर सोधपुछ गरिएको एक प्रहरी अधिकारीले बताए। उनलाई पठाएका मान्छे पछ्याउँदै जाँदा हवल्दार र परिचरको मुख्य भूमिका देखिएको हो। 

उपत्यका बाहिर पनि प्रश्न पत्र पुगेको पाइएपछि संलग्न प्रहरीहरूलाई प्रधान कार्यालय झिकाइएको छ। मुख्य संलग्न दुईजनालाई भने थुनामै राखिएको छ। 

गत शुक्रबार र शनिबार भएको परीक्षा अघि नै प्रश्नपत्र बाहिरिएपछि डीआईजीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। ६ सदस्यीय छानबिन समितिले अहिले सोधपुछ गरिरहेको हो। 

याे पनि :​ प्रहरीको शान्ति मिसनको पूर्वछनोट नै किर्ते, प्रश्नपत्र बाहिरिएपछि छानबिन हुँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .