ad ad

समाज


गृहको टोलीलाई प्रत्यक्षदर्शीको बयानः एसएसबीले तुइन खुस्काइदिएपछि जयसिंह महाकालीमा खसे

गृहको टोलीलाई प्रत्यक्षदर्शीको बयानः एसएसबीले तुइन खुस्काइदिएपछि जयसिंह महाकालीमा खसे

उजिर कार्की
साउन २२, २०७८ शुक्रबार १९:२२, काठमाडौँ

दार्चुलाको व्याँस गाउँपालिका-२ निवासी ३३ वर्षीय जयसिंह धामी बेपत्ता प्रकरणमा गृह मन्त्रालयको छानबिन समितिले प्रत्यक्षदर्शीसँग बयान लिएको छ।

समितिले जिल्ला प्रशासन कार्यालय खलंगामा बोलाएर उनीहरुसँग बुधबार बयान लिएको हो। बयान लिइसकेपछि बिहीबार बिहानै उनीहरुलाई आफन्तको जिम्मा लगाएर घर पठाइएको छानबिन समितिका एक सदस्यले जानकारी दिए। 

साउन १५ गते भारतीय बाटो हुँदै खलंगा आउने क्रममा ब्याँसको मालघाटस्थित महाकाली तरिरहेका बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानलले तुइन खुस्काइदिएपछि उनी खसेर बेपत्ता भएका थिए। 

बाढी उर्लेको महाकालीमा खसेका उनी अझै पनि बेपत्ता छन्। उक्त घटना छानबिनका लागि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानविन समिति गठन गरेको थियो।

छानबिन समिति दार्चुला जानुअघि घटनाका प्रत्यक्षदर्शी विक्रमसिंह रङ्पोली, कल्याणसिंह धामी र अनिता धामीलाई प्रहरीले सदरमुकाम खलंगा ल्याएको थियो। आफन्त र जनप्रतिनिधिको रोहबरमा उनीहरुलाई सदरमुकाम राखिएको थियो। 

गृहमन्त्रालयको छानबिनसमिति समक्ष उनीहरुलाई  बयानका लागि प्रशासनमा लगिएको थियो। बयानका क्रममा तीनैजनाले यसअघि जस्तै जयसिंह तुइनमा झुन्डिएर तरिरहेका बेला एसएसबीले डोरी खुस्काइदिएको बयान दिएका छन्। 

‘उहाँहरुले पहिले आए जस्तै बयान दिनुभएको छ। जयसिंह महाकाली तरेर पारि पुग्न लाग्दा एसएसबीले तुइन खुस्काइदिएका हुन्। त्यसपछि उनी नदीमा खसेको बयान उहाँहरुले दिनुभएको छ’, ती सदस्यले भने, ‘सोधपुछ सकेर बिहीबार बिहानै तीनै जनालाई आफन्तको जिम्मा लगाएका छौं। उहाँहरु आउँदा जाँदा र यहाँ बस्दाको खर्च दिए छौँ। उहाँहरुलाई पनि अब जथाभावी नबोल्नु भनिएको छ।’

तुइन सञ्चालक समेत रहेका कल्याणसिंह धामी ब्याँस गाउँपालिका २ निवासी हुन्।  विक्रम र अनिता भने जयसिंहसँगै सदरमुकाम हुँदै काठमाडौं आउन लागेका थिए। 

घटनाको एकसाता हुँदा पनि सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। भारतीय पक्षले जयसिंह आफैँ नदीमा खसेको बताउँदै एसएसबीको संलग्नता नरहेको दाबी गर्दै आएको छ। 

गृहको छानविन समिति बिहीबार भारततर्फको भाग गस्कु पुगेको थियो। छानविन समितिले भारततर्फका स्थानीय र प्रशासनसँग सोधपुछ गरेको टोलीमा सहभागी एक सदस्यले बताए। 

टोली शुक्रबार नेपालतर्फको भाग मालघाट पुगेको छ। टोली नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यहाँ पुगेको हो। 

‘अहिले विवरण संकलन र सोधपुछ भइरहेको छ। बाहिर आए जस्तो मात्रै छैन। हामी सबै पक्षसँग कुरा गरिसकेपछि प्रतिवेदनमै सबै कुरा भन्छौं। हामीलाई दिइएको म्यान्डेट त्यही हो’, ती सदस्यले भने। 

सरकारले गृह मन्त्रालयका सहसचिव गौतमको नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुत्तराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना जोशी रहेको टोली गठन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .