ad ad

समाज


सुन ल्याउन तस्करका सय जुक्तिः ८ महिनामा ८ करोडको सुन बरामद

सुन ल्याउन तस्करका सय जुक्तिः ८ महिनामा ८ करोडको सुन बरामद

उजिर कार्की
साउन २४, २०७८ आइतबार २१:२३, काठमाडौँ

साउन २१ गते बिहान साउदी अरबबाट काठमाडौं आएका एक यात्रु विमानस्थलमा सुनसहित पक्राउ परे। सिरहाको धनगढीमाई नगरपालिका ८ का २४ वर्षीय ऋषभ महतो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा समातिएका थिए।

उनको साथबाट प्रहरीले ८ वटा बाला र २ वटा औँठी गरी ४७४ ग्राम सुन बरामद ग¥यो। विमानस्थलको नयाँ पार्किङ एरियामा उनको गतिविधि शंकास्पद लागेपछि समातिएको विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ। 

जजिरा एयरलाइन्सबाट यी सुनका बाला ल्याउने अरु भने छुटिसकेका थिए। विदेशबाट आउनेले एक सय ग्रामसम्म सुन भन्सार शुल्क नतिरी ल्याउन पाउँछन्। त्यही भएर उनीहरुलाई भन्सार पार गर्न कुनै समस्या भएन। 

बाहिर आएपछि महतोले सुन संकलन गरे। प्रहरीले उनलाई पक्राउ ग¥यो र थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझायो। 

उनको साथबाट बरामद भएको सुनको मूल्य करिब ३७ लाख ३८ हजार ६ सय ७५ रुपैयाँ पर्छ। उनीविरुद्ध विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ। 

त्यसअघि साउन १२ गते दुबईबाट काठमाडौं आएका गोरखाका पदम परियारको साथबाट १ किलो १६५ ग्राम सुन बरामद भयो। हिमालय एयरको उडानबाट बिहान करिब १० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका थिए। भन्सार जाँचको क्रममा एक्सरेमा उनको सुटकेस शंकास्पद देखियो।

त्यसपछि प्रहरी र भन्सारका कर्मचारीले खोलेर हेर्दा कफी बनाउने मेसिनमा सुन फेला प¥यो। ३ वटा पत्र रहेको मेसिनको बीचको पत्र भने सुनको थियो।

कोरोना संक्रमणको जोखिमका कारण नेपालमा लामो समय अन्तर्राष्ट्रिय उडान बन्द थियो। उडान सुरु भएसँगै अवैध रुपमा सुन भित्रिने क्रम पनि बढेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले बताए। 

बास्तोलाका अनुसार सबैभन्दा धेरै सुन दुबईबाट भित्रिने गरेको छ। अरु देशबाट पनि छिटफुट मात्रामा अवैध रुपमा आइरहेको छ। सुन पक्राउ पर्ने क्रम बढेपनि सुन तस्करले सुन भित्र्याउन छाडेका छैनन्।  

तस्करले सुन ल्याउँदा नयाँ–नयाँ उपाय लगाउँछन्। गत फागुन २ गते दुबईबाट आएका काभ्रेपलान्चोकका राजीव लामाले टर्चलाइटभित्र ६०० ग्राम सुन ल्याएका थिए। 

फ्लाइ दुबईको उडानबाट आएका उनको सुटकेस भन्सारको एक्सरेमा चेकजाँचको क्रममा शंकाको घेरामा प¥यो। सुटकेसभित्र रहेको टर्चलाइटमा चकलेट आकारमा सुन राखेका थिए। राति साढे १० बजेतिर काठमाडौं ओर्लिएका उनले ल्याएको सुन प्रहरीले बरामद ग¥यो। 

गत वैशाख १३ गते दुबईबाटै आएका धादिङका सन्दीप तामाङले टेबुल फ्यान ल्याएका थिए। तर उनले फ्यान ल्याउनुको उदेश्य भने अर्कै थियो। फ्यानमा उनले सुन फिट गरेर ल्याएको पाइएपछि विमानस्थल प्रहरीले बरामद ग¥यो।

नेपाल एयरलाइन्सबाट आएका उनी पनि विमानस्थलमा भन्सार चेकजाँचकै क्रममा फन्दामा परे। टेबुल फ्यान र स्पिकरभित्र फल्स बटम बनाई सेतो रंगले लेपन गरेको अवस्थामा ८६१.८२ ग्राम सुन फेला प¥यो। 

गत पुस ११ गतेपछि अवैध सुन ल्याएको अभियोगमा विमानस्थलबाट ३६ जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा २ जना महिला छन्। गत चैत ४ गते विदेशबाट फर्किएकालाई प्रयोग गरेर ल्याइएको सुन विमानस्थलमा संकलन गर्दैगर्दा लमजुङकी बान्ती गौतम पक्राउ परिन्। विमानस्थलको नयाँ पार्किङ क्षेत्रमा विदेशबाट आउनेसँग उनी सुनका बाला र औँठी संकलन गर्दैथिइन्। 

अवैध रुपमा सुन ल्याउनेहरुलाई पक्राउ गरेर प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउँछ। थप अनुसन्धान र कारबाही भन्सार कार्यालयले गर्छ। 

८ महिनामा ८ करोड बढीको सुन समातियो   
पक्राउ पर्नेबाट ५० ग्रामदेखि ११६५ ग्रामसम्म सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। ८ महिनामा विमानस्थलबाट १० केजी ४०९ ग्राम सुन बरामद भएको छ। 

तत्कालीन बजार मूल्यअनुसार करिब ८ करोड ५ लाख ६८ हजार ८ सय ४१ रुपैयाँको सुन बरामद भएको हो। 

भन्सार ऐनअनुसार १० लाख रुपैयाँसम्मको सुन ल्याउनेलाई थुनामा नराख्ने व्यवस्था छ। उनीहरु बिगो बराबरको धरौटी बुझाएर छुट्ने गरेका छन्। 

ऐनअनुसार जति मूल्य बराबरको सामान बरामद हुन्छ, त्यति नै रकम जरिवाना हुन्छ। १० लाखदेखि २५ लाख रुपैयाँसम्म भन्सार छली गर्नेलाई जरिवाना र बढीमा एक महिना कैद सजाय हुने व्यवस्था छ। २५ लाखदेखि ५० लाख रुपैयाँसम्म भन्सार छल्नेलाई ३ महिनासम्म कैद र जरिवाना हुन्छ। ५० लाखमाथि एक करोडसम्म भन्सार छल्नेलाई भन्सार कार्यालयले एक वर्षसम्म कैद गर्न सक्छ। 

तर, एक करोडभन्दा बढीको मुद्दा भने भन्सार कार्यालयले निर्णय गर्दैन। त्यस्ता मुद्दा सुरुमै अदालत लगिन्छ र त्यहीँबाट फैसला हुने व्यवस्था छ। 

भन्सार कार्यालयको निर्णय चित्त नबुझेमा अभियुक्तले राजश्व न्यायाधीकरणमा निवेदन दिन सक्छन्। न्यायाधीकरणले भन्सारको निर्णयमा पुनर्विचार गर्न सक्छ। 

एक करोडभन्दा माथिका मुद्दा भने सीधै जिल्ला अदालतमा र जिल्ला अदालतको फैसला चित्त नबुझेमा उच्च अदालतमा पुनरावेदन दिने व्यवस्था छ। 

कहाँ लगिन्छ समातिएको सुन?
व्यापारिक प्रयोजनका लागि नेपालमा सुन ल्याउने भनेको राष्ट्र बैंकले मात्रै हो। राष्ट्र बैंकले सुन खरिद गर्ने जिम्मा वाणिज्य बैंकहरुलाई दिएको छ। वाणिज्य बैंकहरुले दैनिक २० देखि २५ किलोसम्म सुन खरिद गर्न पाउँछन्। र, सुन व्यवसायीले वाणिज्य बैंकहरुमार्फत् नै सुन खरिद  गर्छन्। योभन्दा बाहिर खरिदबिक्री गरे अवैध मानिन्छ। 

भन्सार कार्यालयले बरामद गरेका अन्य वस्तु लिलामीमा बिक्री गरिन्छ। तर यसरी भित्रिएको सुन भने राष्ट्र बैंकले नै किन्ने विमानस्थल भन्सार कार्यालयका प्रमुख लक्ष्मीप्रसाद निरौलाले बताए। बरामद भएको सुन भन्सार कार्यालयबाट राष्ट्र बैंकले प्रचलित मूल्यअनुसार खरिद गर्छ र त्यहाँबाट उही प्रक्रियाबाट व्यवसायीसम्म पुग्छ।

तस्करबाट सीधै सुन खरिद गर्दा व्यवसायीले सस्तोमा पाउने भएकाले अवैध सुन भित्र्याउने कार्यमा व्यवसायीको पनि संलग्नता रहने गरेको छ।

एक सय ग्रामसम्म सुन ल्याउँदा भन्सार शुल्क लाग्दैन। थप एक सय ग्राम भन्सार शुल्क तिरेर ल्याउन पाइन्छ। वैदेशिक रोजगारीबाट फर्किने सबैले सुन नल्याउने भएकाले उनीहरुलाई केही रकम दिएर सुन तस्करले भरियाको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ। केही रकमको लोभमा पर्दा वैदेशिक रोजगारीमा आउनेहरु फस्ने गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .