ad ad

समाज


महाकालीमा ड्रोन उडाएर बेपत्ता जयसिंह धामीको खोजी गरिने

महाकालीमा ड्रोन उडाएर बेपत्ता जयसिंह धामीको खोजी गरिने

उजिर कार्की
साउन २५, २०७८ सोमबार १९:४७, काठमाडौँ

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काउँदा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीलाई खोज्न ड्रोनको प्रयोग गरिने भएको छ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले ड्रोनसहित केन्द्रबाट प्रहरीको प्राविधिक टोली दार्चुला पुगिसकेको जानकारी दिइन्। प्रशासनले महाकाली नदीका दुवै किनारमा ड्रोन उडाउने तयारी गरेको हो।

नेपालतर्फको भागको ड्रोन उडाउन कुनै समस्या नभएपनि भारततर्फको किनारमा ड्रोन उडाउन अनुमति माग गर्दै प्रशासनले पत्राचार गरेको छ। तर, भारतीय प्रशासनले अहिलेसम्म कुनै जवाफ दिएको छैन। 

भारतको जवाफ आए दुवै किनारमा र नभए नेपालतर्फ मात्रै भएपनि ड्रोनको सहायतामा बेपत्ता धामीको खोजी गर्ने निर्णय भएको छ। 

यसअघि नेपालतिरको किनारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरेका थिए। तर घटनाको १० दिनसम्म पनि धामी फेला परेका छैनन्। भारतीय एसएसबीले पनि आफ्नो क्षेत्रमा खोजी गरिरहेको जनाएको छ। 

व्याँस गाउँपालिका २ का धामी गत साउन १५ गतेदेखि बेपत्ता छन्। एसएसबीले तुइन खुस्काइदिँदा उनी बेपत्ता भएको प्रत्यक्षदर्शीको बयान छ। तर, भारतीय पक्षले भने व्यक्ति तुइनमा भएको बेला नकुस्काइएको जवाफ दिएको छ। 

सरकारले उक्त घटना छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरेको छ। समितिलाई १० दिन भित्रमा प्रतिवेदन बुझाउन भनिएको छ।

छानबिन समिति सोमबार दार्चुलाबाट बैतडी पुगेको छ।

‘हामी अहिले बैतडी आइपुगेका छौं, यहाँ पनि बेपत्ताको खोजीका बारेमा सुरक्षा निकायसँग छलफल गर्छौं, यसपछि कञ्चनपुर जान्छौं,’ सहसचिव गौतमले नेपालखबरसँग भने, ‘बेपत्ताको खोजीलाई थप तीव्रता दिन्छौं।’ 

छानबिन समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाहलाई भेट्ने गौतमले बताए। छानबिन समितिलाई दिएको समय मंगलबार सकिँदैछ। तर समितिले बुझ्ने क्रम अझै जारी रहेको जनाएको छ।  

बैतडी पुग्नुपहिले छानबिन समितिले प्रत्यक्षदर्शीसँग बयान लिने, नेपाल र भारत दुवैतर्फको स्थलगत निरीक्षण गर्ने र प्रमाण जुटाउने काम गरेको थियो। 

सहसचिव गौतमको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र निमित्त प्रजिअ ज्योत्स्ना भट्ट छानबिन समितिमा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .