ad ad

समाज


सबै प्रश्नपत्र बाहिरिएपछि प्रहरी शान्ति मिसनको पूर्व छनोट परीक्षा रद्द

सबै प्रश्नपत्र बाहिरिएपछि प्रहरी शान्ति मिसनको पूर्व छनोट परीक्षा रद्द

उजिर कार्की
साउन २६, २०७८ मंगलबार १८:३६, काठमाडौँ

प्रहरीमा राष्ट्र संघीय शान्ति मिसन पूर्व छनोट अन्तर्गत सबै सिफ्टका प्रश्न पत्र बाहिरिएको खुलेको छ। प्रहरी प्रधान कार्यालयले गठन गरेको छानविन समितिले चारवटै सिफ्टका प्रश्नपत्र बाहिरिएको निस्कर्ष निकालेको हो। 

साउन १५ र १६ गते प्रि-स्याट परीक्षा चार सिफ्टमा सञ्चालन भएको थियो। प्रहरी प्रधान कार्यालयबाट हुने परीक्षाका लागि राखिएका सबै सिफ्टका प्रश्नपत्र बाहिरिएको पाइएको छानबिन समितिले जनाएको छ। 

समितिले मंगलबार नै छानबिन प्रतिवेदन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बुझाउने तयारी गरेको छ। आईजीपी थापा विपद् प्राधिकरणको बैठकमा भएकाले प्रतिवेदन बुझाउन समिति हेडक्वार्टरमा पर्खिरहेको छ। 

आईजीपी थापा बुधबार उपत्यका बाहिर जाने कार्यक्रम रहेकाले समितिले मंगलबार नै प्रतिवेदन बुझाउने तयारी गरेको हो। सबै सिफ्टका प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरेर पुनः सञ्चालन गर्न समितिले सिफारिस गरेको छ। 

उपत्यका बाहिरको परीक्षाका प्रश्न पत्र शिल गरेर राखिए छ। तर उपत्यकाका लागि युएन शाखाका प्रमुख एसपी अनुप शमशेर जबराको टेबलको घर्रामा राखिएको प्रश्न पत्र चोरी भएको थियो। 

यही साउन १३ गते एसपी जबरासहित परीक्षा सञ्चालक समिति राति ८ बजेसम्म कार्यालयमा बसेर फर्किएको थियो। 

तर उनीहरु बाहिरिएको केही समयपछि उनकै कार्यकक्षको फोटोकपि मेसिनबाट प्रहरी परिचर सुरेश बमले फोटोकपी गरेको खुलेको हो। उनलाई यो सबै काम साइबर व्यूरोका हवल्दार कुमार शाहले लगाएको पाइएको छ। 

बम र शाहलाई प्रहरी सेवाबाटै बर्खास्त गर्न समितिले सिफारिस गरेको छ। प्रश्नपत्र लिक गर्ने ३० देखि ३५ प्रहरीलाई कारबाही सिफारिस भएको छ। तर डीएसपीमाथिका प्रहरीलाई भने सचेत मात्रै गराइएको प्रहरी प्रधानकार्यालय श्रोतले जनाएको छ। 

‘दुईजनालाई बर्खास्त गर्न सिफारिस गरिएको छ। कसैको बढुवा रोक्का भएको छ', श्रोतले नेपालखबरसँग भन्यो, 'उनीहरुको संल्गनाता अनुसारको कारबाही गर्न सिफारिस भएको छ।'

परीक्षामा करिब २४ सय प्रहरी सहभागी थिए। सबै प्रदेश र उपत्यकामा प्रि-स्याट परीक्षा सञ्चालन भएको थियो। तर दोश्रो दिनको परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि अर्कै प्रश्नपत्र वितरण गरेर परीक्षा लिइएको थियो।

प्रश्नपत्र लिक भएको विषयमा छानबिन गर्न साउन १९ गते डीआईजी वसन्त लामा नेतृत्वको ६ सदस्यीय छानविन समिति गठन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .