ad ad

समाज


भिजिट भिसामा दुबई पुगेका धनबहादुर तस्करको सुन बोकेर फर्किंदा जेलमा परे

भिजिट भिसामा दुबई पुगेका धनबहादुर तस्करको सुन बोकेर फर्किंदा जेलमा परे

फाइल तस्बिर: काठमाडौंमा बरामद अवैध सुन


उजिर कार्की
साउन २८, २०७८ बिहिबार ७:४, काठमाडौँ

नुवाकोटका धनबहादुर तामाङ तीन महिनादेखि केन्द्रीय कारागार सुन्धारामा छन्। गत वैशाख २० गते बिहानै युएईको दुवईबाट उनी नेपाल फर्किएका थिए। भिजिट भिसामा दुबई पुगेका धनबहादुरले त्यहाँ रोजगारी पाएनन्।

भिजिट भिसामा गएर रोजगारी गर्नु वैधानिक पनि होइन। अलपत्र परेपछि उनले नेपाल फर्किन सहयोग खोज्न थाले। फेसबुकमै चिनजान भएका हेटौंडाका जीवन तामाङलाई आफु अलपत्र परेको कुरा सुनाए।

जीवनले एक जनाले नेपाल फर्काउन सहयोग गर्छ भन्दै दुबईमै बस्ने दिनेश तामाङसँग सम्पर्क गराइदिए। दिनेशले भने, ‘तिमीहरुलाई घर पठाउने व्यवस्था म गर्छु, तर मेरो एउटा सुनको बाला हुन्छ त्यो तिमीहरुले लगाएर जानु पर्छ।’

त्यसपछि खानपानको व्यवस्था पनि उनै दिनेशले गरे। नेपाल फर्किने कागजातहरु मिलाएर हिमालयन एयरलाइन्सको टिकट काटिदिए।

नेपाल फर्किने बेलामा दुबई विमानस्थलमा दिनेशले एउटा कार्टुन ल्याए। उनले धनबहादुरलाई कार्टुनभित्र ब्ल्याङ्केटमा र कपडाहरू मात्रै छ, अरु केही छैन भनेका थिए। धनबहादुरले त्यो कार्टुन खोलेर दुबई विमानस्थलमा हेरेनन्। तर काठमाडौं उत्रिएको केही समयमै त्यही कारण पक्राउ परे।

माछापोखरीको लुम्बिनी गेष्टहाउसमा एक जना मानिस लिन आउँछ भनेका थिए। धनबहादुरलाई त्यो होटलमा खाने बस्ने व्यवस्था पनि उनैले गरिदिएका थिए।

तर त्रिभुवन विमानस्थल भन्सार कार्यालयको आगमन कक्षको रेड च्यानलमा खानतलासी हुँदा उनको सुटकेश शंकाको घेरामा प¥यो। सुटकेश भित्र रहेको साउण्ड स्पिकरको म्यागनेट क्वायल कै आकारमा सुन फिट गरिएको रहेछ।

भन्सार कार्यालयका कर्मचारीले काटेर हेर्दा सुन फेला प¥यो। त्यहाँ १९९ ग्राम सुन भेटियो। धनबहादुरले ५० ग्रामको सुनकै बाला पनि लगाएका थिए। त्यो पनि भन्सारले बरामद ग¥यो। उनको साथबाट जम्मा २४९ ग्राम सुन फेला प¥यो।

उनको साथमा फेला परेको सुनको तत्कालिन मुल्य १७ लाख ३८ हजार रुपैयाँ रहेकोे मुचुल्कामा उल्लेख छ। पक्राउ परेका धनबहादुरमाथि भन्सार कार्यालयले थप छानविन ग¥यो। उनीसँग बयान लियो। धनबहादुरले सुन अर्कैको भएको बयान दिए। यहाँ बुझ्न आउने मान्छे पनि आफूलाई थाहा नभएको बताए।

विमानस्थल बाहिर गएपछि कोही मान्छे आउँछ उसैलाई दिनु मात्रै भनिएको उनले भनेका थिए। तर ती को हुन् भन्ने धनबहादुरले पनि खुलाएनन्। अर्को व्यक्ति नभेटिएपछि भन्सार कार्यालयले धनबहादुर विरुद्ध नै मुद्दा अगाडि बढायो।

उनीविरुद्ध १७ लाख ४७ हजार २ सय ६ रुपैयाँ बिगो कायम गरियो। भन्सार ऐन, २०६४ अनुसार बिगो बराबरकै थप जरिवाना हुन्छ। पक्राउ परेको तीन दिनपछि बैशाख २३ गते उनीसँग बिगो बराबरको धरौटी माग गर्ने आदेश भयो।

तर उक्त आदेश अनुसार धनबहादुरले धरौटी रकम जम्मा गर्न सकेनन्। त्यसपछि उनलाई केन्द्रीय कारागार जगन्नाथ देवलको थुनामा पठाइएको हो।

धनबहादुरलाई त्यो सुन वैधानिक भए प्रमाण पेश गर्न समय पनि दिइएको थियो। तर सुन कसको हो भन्ने नै थाहा नपाएका धनबहादुरले त्यो बुझाउन सक्ने कुरै भएन। उनले सुन वैध हो भन्ने प्रमाण दिन सकेनन्।

उनलाई सुन पठाउने दिनेश तामाङलाई पनि भन्सार कार्यालयले पत्ता लगाउन सकेन। उनको तीनपुस्ते खुलेन। अरु कसैको संलग्नता नदेखिएपछि धनबहादुर नै फन्दामा परेका हुन्।

धनबहादुरले पनि सुन वैध हो भन्ने कागजात नभएको र पेश गर्न नसक्ने बयानका क्रममा बताएका थिए। वाणिज्य तथा आपूर्ति मन्त्रालयको ११ वर्ष पहिलेको सुचना अनुसार राष्ट्र बैंकले तोकेको प्रक्रिया र परिणाम अनुरुप वाणिज्य बैंकहरुले मात्रै आयात गर्न पाउने व्यवस्था छ।

२०७७ जेठ १५ गतेदेखि लागु भएको यात्रुले विदेशबाट ल्याउन र लैजान पाउने निजी प्रयोगको मालवस्तु सम्बन्धि आदेश अनुसार विदेशबाट आउने यात्रुले १०० ग्रामसम्म सुन तोकिएको महसुल तिरेर ल्याउन पाउने व्यवस्था छ।

भन्सारमा घोषणा नगरी लुकाएर ल्याउन वा लैजान प्रयास गरेमा त्यस्तो सामान जफत गर्ने र कारबाही गर्ने व्यवस्था छ। धनबहादुरले पनि लुकाएर ल्याउन खोजेको अभियोग पुष्टि भएको भन्सारको आदेशमा भनिएको छ।

सोही आदेश अनुसार उनलाई एक महिना कैद र १७ लाख ३८ हजार २ सय ६ रुपैयाँ जरिवाना गरिएको हो। तर जरिवाना रकम तिर्न नसक्दा धनबहादुर तोकिए भन्दा बढि जेल बस्नु परेको हो।

विमानस्थल भन्सार कार्यालयका अनुसार अवैध सुन ल्याउने धेरै जसो रोजगारीबाट फर्किएका नेपालीहरु नै हुन्। उनीहरुलाई २÷४ हजार रुपैयाँको लोभ देखाएर सुन तस्करले फसाउने गरेको भन्सार प्रमुख लक्ष्मीप्रसाद निरौला बताउँछन्।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अुनसार गत पुसपछि मात्रै २१ जना पक्राउ परेका छन्। ती मध्य अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका हुन्। कतिपय भने भिजिट भिसामा गएर फर्किंदा अवैध सुन बोक्नेहरू पनि विमानस्थलमा पक्राउ परेका छन्।

८ महिनामा विमानस्थलबाट १० केजी ४०९ ग्राम सुन बरामद भएको छ। यसको तत्कालीन बजार मूल्यअनुसार करिब ८ करोड ५ लाख ६८ हजार ८ सय ४१ रुपैयाँ पर्छ।

भन्सार ऐनअनुसार १० लाख रुपैयाँसम्मको सुन ल्याउनेले थुनामा नराख्ने व्यवस्था छ। उनीहरु बिगो बराबरको धरौटी बुझाएर छुट्न सक्छन्। धरौटी नबुझाए थुनामा बस्नुपर्छ।

ऐनअनुसार जति मूल्य बराबरको सामान बरामद हुन्छ, त्यति नै रकम जरिवाना हुन्छ। १० लाखदेखि २५ लाख रुपैयाँसम्म भन्सार छली गर्नेलाई जरिवाना र बढीमा एक महिना कैद सजाय हुने व्यवस्था छ। धनबहादुरलाई त्यही अनुसार सजाय तोकिएको हो। तर उनले जरिवाना तिर्न सकेनन्। त्यही भएर बढी थुनामा बस्नु परिरहेको छ।

२५ लाखदेखि ५० लाख रुपैयाँसम्म भन्सार छल्नेलाई ३ महिनासम्म कैद र जरिवाना हुन्छ। ५० लाखमाथि एक करोडसम्म भन्सार छल्नेलाई भन्सार कार्यालयले एक वर्षसम्म कैद गर्न सक्छ।

तर, एक करोडभन्दा बढीको मुद्दा भने जिल्ला अदालत लगिन्छ र त्यहीँबाट फैसला हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .