अफगानिस्तानमा रोजगारीका लागि म्यानपावर कम्पनीबाट गएका नेपाली श्रमिक पनि फर्किन थालेका छन्। अफगानिस्तान श्रमिक पठाउने म्यानपावर कम्पनीले दिएको जानकारी अनुसार ३३० जना श्रमिक कतारको दोहा आइपुगेका छन्। अरु ४३७ जना काबुल विमानस्थलमा उडान कुरिरहेको सम्बन्धित म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागलाई सोमबार जानकारी गराएका छन्।
एफएसआई वर्ल्ड म्यानपावर कम्पनीले ३३० जना दोहा आइपुगेको जानकारी गराएको हो भने युनिभर्सल कनेक्सन म्यानपावर कम्पनीले ४३७ जना काबुल विमानस्थलमा उडानको प्रतिक्षामा रहेको जानकारी गराएको हो।
वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले सोमबार दिउँसो म्यानपावर कम्पनीबाट यस्तो जानकारी आएको बताउँदै मंगलबार पनि थप जानकारी लिने बताए।
आइतबार वैदेशिक रोजगार विभागले टेलिफोनबाट विवरण माग गरेको थियो। म्यानपावर कम्पनीले पनि सोमबार टेलिफोन बाटै विभागलाई यस्तो जानकारी गराएका हुन्।
‘उहाँहरुले यति जानकारी गराइ सकेपछि अब भोलिको दिनमा पनि फर्किन्छन् फर्किँदैनन् भन्ने उहाँहरूकै जिम्माको कुरा हो’, दवाडीले नेपालखबरसँग भने।
अफगानिस्तानमा विद्रोही संगठन तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँको स्थिति बिग्रन सक्ने भन्दै प्रवासी श्रमिक आफ्नै देश फर्किन थालेका छन्। अमेरिकी सेनाले पनि अफगानिस्तान छाड्ने घोषणा गरिसकेको छ।
म्यानपावर बाहेक व्यक्तिगत श्रम स्वीकृति लिएर गएका नेपाली पनि सम्बन्धित कम्पनी र नियोगको सहयोगमा फर्किरहेका छन्।
अहिले यकिन संख्या प्राप्त नभए पनि ठूलो संख्यामा नेपालीहरु दोहा आएको जानकारी पाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
‘हामीले विभिन्न नियोगहरूलाई पत्राचार गरेर अनुरोध गरेपछि उहाँहरुले हाम्रो नागरिक फर्काइरहनु भएको जानकारी आएको छ। उहाँहरुको संख्या भने हामी यहीँ आएपछि मात्रै बाहिर ल्याउँछौँ’, परराष्ट्रका एक अधिकारीले भने।
Shares
प्रतिक्रिया