दुई दिनअघि पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालका रिसेप्सनिस्ट पूर्णबहादुर दोङको मोबाइलको घण्टी बज्यो, ‘तपाईंहरु २ मिनेटभित्र सबैजना बाहिर जानुस् हामीले बम राखेका छौं,’ मोबाइल उठाइसके पछिको आवाज हो यो।
बिहान १०: १० भएको थियो। दोङले पत्याएनन्, ‘तपाईंले ठट्टा गर्नु भएको हो?’ ‘नपत्याए तेश्रो तलाको बाथरुमा हेर्न जा’, उताबाट ठाडो भाषामा जवाफ आयो।
त्यसपछि पूर्णबहादुरले अस्पतालका अध्यक्ष सुरज श्रेष्ठ र मेडिकल डाइरेक्टरलाई जानकारी गराए । उनीहरु हेर्न जाँदा बाथरुमको कमोड पछाडि रातो बत्ती पिलिक–पिलिक बलेको देखियो।
अध्यक्ष श्रेष्ठले प्रहरीको १०० नम्बरमा फोन गरेर तत्काल जानकारी गराए। राजधानीका विभिन्न युनिटबाट प्रहरी टोली खटियो।
सूचना आएपछि काठमाडौं प्रहरी प्रमुखसहितको टोली घटनास्थल पुग्यो। नगर प्रहरी भृकुटीमण्डप र प्रहरी कार्यदलबाट बम डिस्पोजल टोली पनि खटियो।
घटनास्थल आसपास निगरानी बढायो। नेपाली सेनाको बम डिस्पोजल टोली पनि माग गर्यो। सेनाको टोलीले डिस्पोज गर्दा खुल्यो अस्पतालमा राखिएको बम नभएर होक्स (नक्कली बम) रहेछ।
कसले राख्यो ‘बम’?
होक्स भए पनि आखिर कसले राख्यो त अस्पतालमा? प्रहरीले अनुसन्धान गर्यो। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतको कमाण्डमा विशेष टोली बन्यो।
टोलीले सीसीटीभी फुटेज संकलन गर्यो। मोबाइल ट्रयाकिङ लगायत काम सुरु गर्यो। लोकेसन, कल डिटेल र टावर कनेक्सन लगायत हेर्यो। यो अध्ययनपछि थाहा भयो, अस्पतालमा नक्कली बम राख्नेहरू काठमाडौंको फुटुङबाट डाक्टरसँग फिरौती रकम बार्गेनिङ गरिरहेका थिए।
अस्पतालका डाक्टरलाई बारम्बार फोन गरेर एउटा बम राखेको बताए। ‘प्रहरीलाई खबर गरे हाम्रो हातमा रिमोट कन्ट्रोल छ । ४ वटा बम राखेका छौं। तपाईंको घरमा पनि हुन सक्छ, अन्यत्र पनि हुन सक्छ। अस्पताल र तपाईंको घर परिवारलाई खतरा छ’, उताबाट डाक्टरलाई भनियो।
उनीहरुले भनेको नमानी आलटाल गरेमा बम पड्काई अस्पताल र घरसमेत ध्वस्त पारिदिने धम्की दिए।
‘अस्पताल र घर परिवार सुरक्षित राख्ने भए मैले भने बमोजिम ३ करोड तयार गरी भनेको ठाउँमा रकम लिई आउनु’, भन्दै चेतावनी आयो।
यो जानकारी प्रहरीलाई पनि भइसकेको थियो। शंकास्पद क्षेत्र पहिचान गरेर चेकिङ गरिरहेको थियो।
तर चेकजाँचका क्रममा उनीहरु पक्राउ पर्न सकेनन्। फिरौती रकममा अन्ततः २ करोडमा कुरा मिल्यो। उनीहरु फिरौती रकम लिन आउँदा काठमाडौंको फुटुङबाट पक्राउ परे।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ का २५ वर्षीय आशिष कुँवर, उनका भाइ २० वर्षीय अभिषेक कुँवर र रोल्पाको खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का पक्राउ परे। रोक्का होटल व्यवसायी हुन्। कुँवर दाजुभाइ अर्कै होटलमा काम गर्थे।
ऋण तिर्न बम राखेर फिरौती
आशिषले त्यही अस्पतालमा आँखाको शल्यक्रिया गराएका थिए। उपचार गर्ने पैसा उनीसँग थिएन। त्यही भएर उनले सहकारीबाट १७ लाख रुपैयाँ ऋण लिएका थिए।
उनीहरुले त्यसपछि रोजगारीका लागि बेल्जियम जाने सोच बनाए। तर बेल्जियम जाने रकम पनि उनीहरुसँग भएन। प्रक्रिया अगाडि बढाइसकेका थिए। तर रकम नहुँदा अप्ठेरोमा परे।
आर्थिक अभावले च्यापिएपछि बम राखेर फिरौती रकम माग गरेको उनीहरुले प्रहरीलाई बयान दिएका छन्। आशिष होटलसँगै बिजुलीको काम पनि गर्छन्। उनैले युट्युबमा हेरेर बम बनाउन सिकेको बताएका छन्।
पक्राउ परेका तीनैजनालाई काठमाडौं प्रहरी परिसरले आइतबार सार्वजनिक गरेको छ। जिल्ला अदालतबाट म्याद लिएर उनीहरुविरुद्ध अनुसन्धान अगाडि बढाइएको एसपी बस्नेतले नेपालखबरलाई बताए।
Shares
प्रतिक्रिया