तमु परिवार न्यूयोर्क इन्कले बतास फाउन्डेसनलाई ५ लाख २० हजार सहयोग गरेको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बृहत अक्सिजन प्लान्ट स्थापनाका लागि तमु परिवारको तर्फबाट पोखरा महानगरपालिका वडा नं. १० का वडाध्यक्ष राजकुमार गुरुङले बतास फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासलाई ५ लाख २० हजारको चेक हस्तान्तरण गरेका हुन्।
‘सम्पूर्ण तमुहरू एक हौं भाषा, संस्कार र संस्कृतिको संरक्षण गरौं’ भन्ने अभिप्रायले अमेरिकाको न्युयोर्कका विगत एक दशकदेखि तमु परिवार क्रियाशील छ। न्युयोर्क इन्कका अध्यक्ष देवीजंग गुरुङले अत्यावश्यक अक्सिजनको मुद्दामा बतासको ध्यान केन्द्रित हुनु सकारात्मक पहल भएकोले सहयोग गरिएको बताए।
गैरनाफामुखी बतास फाउन्डेसनले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आइसीयू बेड थप्नका लागि पहल गरेको छ। फाउन्डेसनले ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने उद्घोषका साथ आर्थिक सङ्कलन अभियान चलाएको फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले बताए।
अस्पतालमा अक्सिजन प्लान्टका लागि ५ करोड अनुमानित बजेट लाग्ने छ। अक्सिजन प्लान्ट प्रदेश कै ठूलो हुने र दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन क्षमताको हुने छ।
गत जेठमा सुरू भएको आर्थिक संकलन अभियानबाट अहिलेसम्म ३ करोड ७ लाख रूपैयाँ संकलन भइसकेको र चाँडै नै प्लान्ट जडान हुन लागेको समितिका सदस्य तथा संचारकर्मी दीपेन्द्र श्रेष्ठले बताए।
Shares
प्रतिक्रिया