काठमाडौंको कपनमा रहेका रोहिंग्या शरणार्थीकै संलग्नतामा बंगलादेशबाट थप रोहिंग्या नेपाल भित्र्याएको पाइएको छ।
बंगलादेशको रोहिंग्या शरणार्थी क्याम्पबाट अमेरिका पठाउने भन्दै उनीहरुलाई नेपाल ल्याइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।
उनीहरुलाई नेपाल ल्याउन बंगलादेशी दलालको समेत संलग्नता देखिएको छ। काठमाडौंमा ल्याएर उनीहरु फर्किने गरेका छन्। परिवारका पुरै सदस्यलाई नै ओसारेको पाइएको ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले बताइन्।
केही दिनपहिले दुई परिवारका १४ जनालाई काठमाडौंको कपनबाट पक्राउ गरेर प्रहरीले अध्यागमन विभागमा बुझाएको थियो। तर, अध्यागमनले उनीहरुलाई कपनस्थित शरणार्थी क्याम्पमा पठायो।
उनीहरुलाई नेपाल ल्याउने तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर मानव बेचविअन अनुसन्धान ब्युरोमा बुझाएको छ। अहिले ब्युरोले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ।
पक्राउ परेकामध्ये २ जना शरणार्थी क्याम्प कपनमै बसेका व्यक्ति छन्। एक जनासँग बंगलादेशको पासपोर्ट फेला परेको छ। भदौको तेस्रो साता दुई परिवारका १४ जनालाई उनीहरुले नेपाल हुँदै अमेरिका पठाइदिने भनेर यहाँ ल्याएका थिए।
पक्राउ पर्नेमा काठमाडौंको डल्लु बस्दै आएका बंगलादेशी नागरिक ३० वर्षीय आजमत अली, म्यानमार घर भई हाल कपनको राममन्दिर शरणार्थी क्याम्पमा बस्ने २७ वर्षीय सोफिक आलम र सोही क्याम्पमा बस्ने २६ वर्षीय नुर अमिन छन्।
उनीहरुकै मिलेमतोमा रोहिंग्यालाई भारतको सिमाना कटाएर नेपाल ल्याइएको प्रहरीको भनाइ छ। उनीहरुले नेपाल ल्याएका शरणार्थीलाई पुरुषलाई ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बालबालिकालाई २ हजार ७ सय ५० रुपैयाँ मासिक भत्ता दिने आश्वासन समेत दिएका थिए।
नेपालबाट अमेरिका जान परिचय पत्र समेत दिलाइदिने आश्वासन उनीहरुले दिएका थिए।
बंगलादेशबाट साउन १८ गते बाटो लगाएका शरणार्थीहरु भदौ १८ गते विराटनगर आइपुगेका थिए। त्यहाँ एक रात राखेर काठमाडौं ल्याइएको थियो।
काठमाडौँको महाराजगन्जस्थित यूनएचसीआरको कार्यालय नजिकैबाट उनीहरुलाई भित्र पठाएर ती व्यक्ति फर्किने गरेका थिए। यूएनएचसीआरले शरणार्थीको परिचय पत्र दिएर उनीहरुलाई पनि कपनमा रहेका अन्य शरणार्थीको जिम्मा लगाउने गरेको छ।
यसरी जिम्मा लगाइएकाहरुले आफूहरुलाई यहाँबाट अमेरिका जाने आश्वासन दिइएकाले आएको बताएका छन्।
क्याम्पबाहिर पनि रोहिंग्या भेटिए
कपनको शरणार्थी क्याम्पमा अहिले ३ सय ८० जना रोहिंग्या शरणार्थी छन्। तर यसबाहेक बाहिर पनि रोहिंग्या भेटिएको ब्युरोले जनाएको छ।
‘बाहिर बस्ने केहीको निवास पत्ता लागिसकेको छ। अरु पनि छन् भन्ने सूचना आएको छ। हामी खोजी गरिरहेका छौँ। उनीहरु पनि परिवार–परिवार नै आएको भेटिएको छ,’ ब्युरोका एक प्रहरी अधिकारीले भने, ‘तर उनीहरुलाई कसले ल्यायो भन्ने अनुसन्धान भइरहेको छ।’
कोठा भाडामा लिएर काठमाडौँको चुनिखेलमा १६ र बालाजुमा ९ जना बसेको फेला परेका छन्। पछिल्लो एक महिनामा मात्रै ३९ जना रोहिंग्या नेपाल आएको प्रहरीले बतायो। यसअघि पनि उनीहरुलाई ल्याइएको प्रहरीको अनुमान छ।
म्यानमारी सेनाले रोहिंग्या मुसलमानमाथि हिंसात्मक कारबाही सुरु गरेपछि तीन वर्षअघि उनीहरुले देश छाडेका थिए। उनीहरु खासगरी बंगलादेशमा शरण लिएर बसिरहेका छन्।
Shares
प्रतिक्रिया