नारायणहिटी संग्रहालयमा सोकेस तोडफोड गरेर श्रीपेच लगाउन खोज्ने युवकले आफूलाई राजा बन्ने इच्छा जागेको बताएका छन्।
रुकुम घर भएका ती युवक खिमबहादुर घर्तीले शुक्रबार सिसाको सोकेस फुटाएर श्रीपेच लगाउने कोसिस गरेका थिए।
पक्राउ गरिएपछि प्रहरीले किन यसो गरेको भनेर सोध्दा उनले आफू राजा हुन श्रीपेच लगाउन खोजेको बयान दिएका हुन्। तर उनी मानसिक अस्वस्थ रहेको आशंका गरिएको छ।
सिसा फुटाएपछि उनलाई त्यहाँ तैनाथ सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। सेनाले उनलाई नियन्त्रणमा लिएर दरबारमार्ग वृत्तमा बुझाएको छ।
दरबारमार्ग वृत्तले उनको परिवारसँग सम्पर्क गर्दा उनकी दिदीले खिमबहादुर मानसिक रुपमा अस्वस्थ रहेको बताएको दरबारमार्ग वृत्तका डीएसपी रामेश्वर पौडेलले बताए।
उनी वैदेशिक रोजगारीको क्रममा बहराइनमा रहँदा नै अस्वस्थ भएपछि नेपाल फर्किएको परिवारले बताएको छ।
नेपाल फर्किएपछि उनी आफूखुसी हिँडडुल गर्दै जे मन लाग्यो त्यही गरिरहेको परिवारका सदस्यहरुले बताएका छन्। उनले भने आफू राजा हुनका लागि श्रीपेच लगाउन खोजेको बताएका छन्।
‘अहिले हाम्रो हिरासतमा छन्। उनीमाथि अनुसन्धान भइरहेको छ। मानसिक रोगी हुन् भन्ने प्रमाण छैन’, डीएसपी पौडेलले नेपालखबरसँग भने, ‘अब उनीमाथि कानुन अनुसार कारबाही हुन्छ।’
प्रहरीले उनलाई आपराधिक उपद्रो व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। उनी टिकट काटेरै नारायणहिटी संग्रहालय प्रवेश गरेका थिए।
Shares
प्रतिक्रिया