सरकारले कात्तिकभित्रै दक्षिण कोरियामा श्रमिक पठाउने भने पनि हवाई टिकट खरिदको टेन्डर भने अस्वीकृत भएको छ।
बोलपत्र मूल्यांकन समितिले बिहीबार वैदेशिक रोजगार विभागमा प्रतिवेदन बुझाउँदै बोलपत्र अस्वीकृत गरिएको जानकारी गराएको हो।
‘बोलपत्र प्रस्तावहरु प्रभावग्राही नदेखिएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को उपदफा १ बमोजिम उक्त बोलपत्र अस्वीकृत गरिएको छ’, ईपीएस शाखाले सूचना जारी गर्दै जानकारी गराएको छ।
गत भदौ २ गते ३१ दिनको म्याद दिएर काठमाडौंबाट दक्षिण कोरियाको सोलसम्म जाने नेपाली कामदारहरुको लागि टिकट आपूर्ति गर्न टेन्डर आह्वान गरिएको थियो।
ईपीएस प्रणालीबाट हालसम्म करिब ६५ हजार नेपाली श्रमिक कोरिया पुगेका छन्। तर कोरोना संक्रमणको जोखिमसँगै २० महिनादेखि यो प्रक्रिया अवरुद्ध भएको छ। लकडाउन हटेर अन्तर्राष्ट्रिय उडान सुरु भए पनि कोरियाको रोजगारी सुचारु हुन सकेको छैन।
टेन्डर अस्वीकृत भए पनि रोजगारीमा पठाउने कार्यलाई असर नगर्ने वैदेशिक रोजगार विभागले जनाएको छ। कामदार पठाउने प्रक्रिया अगाडि बढाउन सरकारले कोरियासँग औपचारीक रुपमा प्रस्ताव समेत गरिसकेको छ।
कोरियाले पनि सुरक्षित रुपमा नेपाली श्रमिक लैजान गृहकार्य भइरहेको जवाफ दिएको छ। अनौपचारिक रुपमा कोरियाले अक्टोबरभित्रै श्रमिक लैजान थाल्ने बताएको वैदेशिक रोजगार विभागका अधिकारीहरुले बताएका छन्।
नेपाली श्रमिक लैजान कोरियाले तीन वटा सर्त राखेको छ। तीमध्ये काठमाडौंबाट सिधै सोलको उडानमा जानु पर्ने सर्त पनि छ। यसअघि ट्रान्जिट उडानबाट लैजाने गरिएको थियो।
कोरियाको सर्तकै कारण नयाँ टेन्डर आह्वान गरिएको थियो। हाल काठमाडौँबाट सिधै सोलसम्म कोरियन एयरलाइन्सले मात्रै उडान गर्छ।
कोरियाले राखेका अरू दुई सर्त पालना गर्न भने श्रमिक तयार छन्। सरकारले बिमा गर्नका लागि ६ वटा संस्था छनोट गरिसकेको छ। सिधै हवाई उडानका लागि सरकारले अब छोटो प्रक्रियाबाट टुंगो लगाउने बताइएको छ।
Shares
प्रतिक्रिया