नेकपा एमालेका पूर्वसांसद इच्छाराज तामाङ मुख्य सञ्चालक रहेको सिभिल ग्रुपले ७० करोड रुपैयाँभन्दा धेरै ठगी गरेको आरोपसहित १३० जना पीडितले प्रहरीमा उजुरी दिएका छन्।
यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुख्य सञ्चालक तामाङसहित १२ जनालाई सोमबार दिउँसो काठमाडौंको सुुन्धाराबाट पक्राउ गरेर हिरासतमा लिइसकेको छ।
सोमबारसम्म ४४ करोड रुपैयाँ ठगी र हिनामिना गरेको दाबी प्रहरीले गरेको थियो। तर मंगलबारसम्म सिभिल ग्रुपले ७० करोड रुपैयाँभन्दा धेरै ठगी गरेको भन्दै १३० जना पीडितहरु सम्पर्कमा आएर उजुरी दिइसकेको सीआईबीले जानकारी दिएको छ।
पीडितहरुले उजुरी दिएका आधारमा सिभिल बैंकका सञ्चालक समेत रहेका तामाङसहित १२ जना समातिएका हुन्।
पक्राउ पर्नेहरुमा तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका सञ्चालक र कर्मचारीसमेत रहेका छन्। त्यस्तै सीआइबीले सिभिल होम्सका प्रबन्धक र केही कर्मचारीहरुलाई पनि पक्राउ गरेको छ।
तामाङसहित ती १२ जनाले तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको ग्राहकको करोडौँ निक्षेप हिनामिना र ठगी गरेको अभियोग लागेको छ।
सीआइबी प्रमुख डीआइजी धीरजप्रताप सिंहले तामाङसहितलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको बताउँदै सयौँ पीडितहरु धमाधम सम्पर्कमा आइरहेको बताएका छन्।
को को पक्राउ परे
यो प्रकरणमा सीआइबीले १२ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ। पक्राउ पर्नेमा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थानका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ र प्रबन्धक भगवान बहादुर सिंह रहेका छन्।
पक्राउ परेका अन्य
जुनियर अधिकृत शंकरप्रसाद पाठक
लेखा अधिकृत राकेश महर्जन
सहायक प्रबन्धक बुद्धराज तामाङ
जुनियर सहायक प्रबन्धक कौश्तुप चेतन ढुंगाना
सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह
पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने
जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधर
जुनियर असिस्टेन्ट म्यानेजर मायोनानी महर्जन
असिस्टेन्ट संगीत श्रेष्ठ
Shares
प्रतिक्रिया