यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको मृत्यु भएको छ भने १७ गम्भीर घाइते भएका छन्।
यस अवधिमा भएका सवारी दुर्घटनामा परेर अन्य छजना सामान्य घाइते भएका प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार दसैँ अवधिमा प्रदेशमा १५ सवारीसाधन दुर्घटना भएका छन्।
सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन्। यस अवधिमा ११ वटा मोटरसाइकल दुर्घटनामा परेका प्रहरीले जनाएको छ। यस्तै एउटा जीप, दुई कार, एक बस र एउटा ट्रयाक्टर पनि दुर्घटनामा परेका छन्।
चाडपर्वको समयमा आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेका प्रहरीले जनाएको छ। साथै दसैँका समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाँच्नेजस्ता कारणले दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ।
साना सवारी चालकले लापर्बाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्नेजस्ता कारण, सडक साँघुरा र खाल्डाखुल्डी पनि दुर्घटनाको कारण बन्ने गरेको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए। ‘चाडपर्वको बेला सबैलाई समयमै गन्तव्यमा पुग्न हतार हुन्छ, सडकको खराब अवस्थाले पनि दुर्घटना बढिरहेका छन्,’ विष्टले भने।
Shares
प्रतिक्रिया