ad ad

समाज


कुख्यात अपहरणकारी प्रहरीकै लापरवाहीले छुटे, १४ वर्षअघिको घटना फेरि ब्युँतियो

कुख्यात अपहरणकारी प्रहरीकै लापरवाहीले छुटे, १४ वर्षअघिको घटना फेरि ब्युँतियो

उजिर कार्की
कात्तिक १, २०७८ सोमबार १५:३६, काठमाडौँ

अपहरण तथा शरीर बन्धक मुद्दाका नाइके अमर टण्डन प्रहरीकै लापरवाहीले छुटेको पाइएको छ। महान्यायाधिवक्ताको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले बनाएको  छानबिन समितिले प्रहरीकै लापरबाहीले टण्डन छुटेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो। 

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार एक महिना पहिले एसएसपीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेको छ। एसएसपी भीमप्रसाद ढकालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो। 

‘समितिले प्रहरीहरुकै कमजोरी औंल्याएको छ। तर त्यतिबेला उक्त घटनाको अनुसन्धानमा संलग्न केही प्रहरीहरु अवकाश भइसकेको पाइयो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।

२०६४ साल माघ २९ गते रुपन्देहीका ६२ वर्षीय टिकाराम अर्यालको अपहरण भएको थियो। ९ दिनसम्म बन्धक बनाइएका अर्याल १५ लाख रुपैयाँ फिरौती बुझाएर उम्किएका थिए। 

अर्यालले अपहरणकारीविरुद्ध चैतमा इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए। अपहरणमा मुख्य योजनाकार नै टण्डन रहेको भन्दै पीडितको जाहेरी दर्ता भयो। 

तर टण्डनसहितका व्यक्ति भने जाहेरी दर्ता हुनुभन्दा पहिले नै पक्राउ परिसकेका थिए। २०६४ पुसमा काठमाडौंका पशुपति पेन्ट्सका सञ्चालक महेश मुरारकाको अपहरण गरेको आरोपमा प्रहरीले उनीसहित रामकुमार प्याकुरेल, विष्णु जिसी र उदय सेठीलाई पक्राउ गरेको थियो। 

मुरारका अपहरणको मुद्दामा दोषी ठहर भएका टण्डन २०७७ चैत १२ गते छुटेका थिए। प्रहरीले हद म्यादभित्र सरकारी वकिल कार्यालयमा मुद्दा नबुझाउँदा टण्डन छुट्न सफल भएका थिए।

उक्त मुद्दामा थुनामुक्त हुने भएपछि केन्द्रीय कारागारबाट टण्डनलाई रुपन्देही लगिएको थियो। १४ वर्ष पहिलेको मुद्दामा पुनः अनुसन्धान गर्दै प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाए पनि म्याद गुज्रिएको पाइएपछि टण्डनविरुद्धको मुद्दा दर्ता नहुने भन्दै उनलाई छाडिएको थियो। 

सोही जानकारी सरकारी वकिल कार्यालयले महान्यायाधीवक्ता कार्यालयलाई गराएपछि महान्यायाधीवक्ता कार्यालयले लापरबाही गर्ने प्रहरीलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो। सोही निर्देशनपछि प्रहरीले छानबिन गरेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .