‘तिहार’ शब्दले नै दाजुभाइ र दिदीबहिनीको आत्मियता दर्शाउँछ। टाढाटाढा भएका दिदिबहिनी र दाजुभाइलाई तिहारले नै नजिक ल्याउँछ। व्यस्त भएकालाई समेत भेट गराउँछ। तिहारका कथा दुखी दाजुभाइ र दिदीबहिनीको मात्रै कोरिनुपर्छ भन्ने छैन।
कुनै पेशामा सफल तर व्यस्तताले वर्षमा एक दिन मात्रै भेट हुने दिदीभाइ दाजुबहिनी पनि धेरै छन्। तिनै दाजुभाइ र दिदीबहिनीबीच तिहारको भेट पनि रोचक हुन्छ।
रविना देशराज श्रेष्ठ एक सफल बैंकर हुन्। उनी अहिले मेगा बैंकको डेपुटी सीईओ छिन्।
उनको दैनिकी नै कर्जा र निक्षेपको हिसाब गरेर बित्छ। एकदिन होइन, वर्षभरि उनी त्यसमै तल्लिन हुन्छिन्। बिहान चाँडै आउनुपर्ने र बेलुका पनि ढिलो घर निस्कुनपर्ने बैंकरहरुको दैनिकी हो। रविना पनि त्यही वाध्यताबीच दैनिकी चलाउँछिन्।
यही व्यस्तताबीच कात्तिकको क्यालेन्डर पल्टाउनेवित्तिकै कात्तिक आएपछि उनी फुरुङ्ग हुन्छिन्। पोखरामा रहेका दाइलाई भेटेर टीका लगाउँदै आत्मियता साटासाट गर्ने दिन आएछ, उनको मनले भनिजान्छ।
क्यालेन्डरको पातो पल्टाउनेवित्तिकै उनको मनमा दाजुको अनुहार आइहाल्यो । त्यसपछि फोन लगाइहालिन्, ‘यो वर्ष म पोखरा आऊँ कि हजुर यता आउने?’
दाजुले तिमी नै आऊ भनेपछि उनले त्यही अनुसार योजना बनाइन्। अनि थालिन् तिहारको समेत तयारी।
व्यस्तताबीच उनी तिहारको दुई दिनअघि पोखरा जानुपर्यो। उनी गइन्। दाजुसँग उनले पोखरामा पनि कुरा गरिन्। तर दाजुले टीका लगाउने स्थान परिर्वतन गरे।
दाजुभाउजु भदा भदैनी सबै काठमाडौँको घर आउने निर्णय भयो। पोखरा जानुपर्दा उनी उत्साहित थिइन्। तर काठमाडौंमै टीका लगाउने योजनाले उनी झनै फुरुङ्ग भइन्।
उनका दाजु राजीव देशराज श्रेष्ठ होटल म्यानेजमेन्ट पेशामा आवद्ध छन्। पेवेलियन होटलको जिएमका रुपमा कार्यरत उनको कर्मथलो पोखरा हो। आमाबुबाका दुई सन्तान हुन् रविना र राजीव।
‘हामी एक दाई र एक बहिनी मात्रै हौं। हाम्रो उमेर ग्याप ४ वर्ष छ। हामी बच्चादेखि नै साथी साथी हौं। स्कुल जाँदा जाने आउने साथीदेखि घरमा समेत खोल्ने साथी हामी हौं।’
उनीहरुले थाहा पाएदेखि नै आजसम्म यी दाजुबहिनी मिल्ने साथीका रुपमा छन्। हरेक वर्षझैँ यो वर्ष पनि तिहारको बिदामा उनीहरुको भेट भएको छ।
तिहारको टीका माइतीघरमा लगाए पनि हुन्छ। दिदीबहिनीले आफ्नो घरमा माइती बोलाएर लगाए पनि हुन्छ। तर बैंकर रविना भने दाजुलाई गिफ्ट लिएर माइतीघर पुगेकी छन्।
‘दाजु भाउजूकहाँ नै जाने हो। म मात्रै होइन, नि माइती जाने?’, उनी भन्छिन्, ‘मेरा छोरा आयुशमान र आर्शीमान (नायकद्वय) समेत मामाघर जान्छन्। उनीहरुको तिहार हरेक वर्ष मामाघरमै हुन्छ।’
आयुशमान र आर्शीमानलाई रविनाकी भदैनीले टीका हरेक वर्ष लगाउँदै आएकी छन्। यो वर्ष पनि परिवार नै बसेर टीका लगाउने तयारी केही दिनदेखि नै गरिसकेका थिए।
‘आफ्नो परम्परागत चलन अनुसार नै टीका लगाउने हो। त्यसरी नै हामी टीका लगाउँछौँ। रीतिरिवाजमा कुनै कमी हुन दिइँदैन। त्यही अनुसार हरेक वर्ष टीका लगाउँदै आइरहेको छु।’
‘लहरै तीनजना बसाइन्छ। सुरुमा मेरो दाजु बस्नुहुन्छ। त्यसपछि मेरा दुई छोराहरु बस्छन् मैले मेरो दाजुलाई टीका लगाउँछु। त्यसपछि भदैनीले मेरा छोराहरुलाई टीका लगाउँछिन्। रमाइलो हुन्छ। यो वर्ष पनि उनीहरुले रमाइलोसाथ टीका लगाएका छन्।
यस्तो रमाइलो क्षण कुनै वर्ष नछुटेको भने होइन। वर्षमा एक दिन सँगै बसेर आफ्नो दाजुसँग आत्मियता साटासाट गर्ने दिन पनि छुटेको छ।
‘म बैंकिङ पेशामा छु। दाजु होटल म्यानेजमेन्टमा हुनुहुन्छ। आफ्नो पेशागत कामले टाढा हुँदा छुटेको छ। तिहार छुटेमा फोन गरिन्छ। भर्चुअल टीका लगाइन्छ’, उनले भनिन्।
भर्चुअल टीका र फोनमा भएको कुराकानीले यस्तो रमाइलो पलको तिर्खा नमेटिने उनी बताउँछिन्।
उनी तिहारलाई दाजुभाइको सम्मान गर्ने पर्वका रुपमा मान्छिन्। दाजुभाइ दिदी बहिनीबीचको आत्मीय ता साटासाट गर्नु पनि उनले तिहारलाई बुझेकी छन्।
‘मेरो कुरा गर्दा दाजु पनि आफ्नै काममा व्यस्त हुनुहुन्छ। म पनि आफ्नो काममा व्यस्त छु’, उनले भनिन्, ‘आफ्नो ठाउँमा व्यस्त रहँदा तिहारले हामीलाई रमाइलो भेटघाटको वातावरण बनाउँछ। मेरो बुवा पनि हुनुहुन्न, आमा पनि हुनुहुन्न। हामी दुई दाजुबहिनीको हामी दुई नै हौँ।’
रगतको नाताले दाजुभाइ नपर्ने भए पनि तिहारको टीका लगाएर दाजुभाई मान्ने चलन छ। तर रविनाले अरु कसैलाई भाइटीका लगाउने गरेकी छैनन्।
‘कसैलाई दाजुभाइ बनाएर टीका लगाएको छैन। तर त्यसरी टीका लगाउनुलाई म नराम्रो भन्दिन। दाजुभाई बनाएर नजिकको बनाउन आत्मीय बनाउनु राम्रो कुरा हो’, उनी भन्छिन्, ‘मेरो बुहारी प्रियंका कार्कीको टीका लगाउने धेरै छन्। म यसलाई सकरात्मक मान्छु। तर मैले भने टीका लगाउने मेरो दाजु मात्रै हो।’
उनले विवाहअघिको समयमा साहिँला मामाको छोरालाई टीका लगाएको सम्झिइन्। तर विवाह र जागिरे भएपछि त्यो क्रम छुटेको छ।
‘अहिले दाजुभाइका रुपमा जति आत्मियता दर्शाउनुपर्ने त्यो सबै दाजु राजीवलाई मात्रै दिएको छु’, उनले भनिन्।
तिहारको टीका भन्नेबित्तिकै उनी आफ्नो दाजुको स्वभावलाई जोड्न चाहन्छिन्। दाजुसँगको आत्मियताबारे भन्छिन्, ‘मेरो र दाजुको सम्बन्ध भनेको हप्काउन सक्ने, कुनै विषयमा कन्भिन्स गराउन सक्ने, आफ्नो कुरा लागु गराउन सक्ने म मात्रै छु।’
राजीवको स्वभाव कडा मिजासको छ। कम बोल्ने तर बोल्नु पर्दा कडा स्वभावले प्रस्तुत हुन्छन्। रविना भन्छिन् ‘जो कसैले उहाँसँग कुरा गर्ने आँट नै गर्दैन। तर मैले मात्रै हो, त्यसरी कुरा गर्न सक्ने।’
दाजुसँग आत्मियता भएकैले आफूले सबै कुरा निर्धक्क राख्न सक्ने उनले बताइन्। ‘तर पनि जे पायो त्यही बोल्न पाउने छुट उहाँले मलाई मात्रै दिनु भएको छ। त्यो अधिकार मैले पाएकी छु। ’
दाजुलाई रविनाले एक अभिभावकका रुपमा लिएकी छन्। कहिले दाजुलाई कराउँछिन्। कहिले फकाउँछिन्। तर कुनै कुरा सोध्नुपर्यो भने उनी दाजुसँगै परामर्श लिन्छिन्।
‘मेरो आमा बुवा नभएर के भो त मलाई कुनै कुरा सोध्ने कुनै कुराको विषयमा छलफल गर्ने जानकारी लिने मान्छे अहिले दाजु हुनुहुन्छ नि', उनले भनिन्।
सानो छँदादेखि नै रविनालाई दाजु राजीवले गाइड गर्दै आएका छन्। उनी भन्छिन्, ‘हामी सानोमा साथी, मलाई दाजुले नै स्कुल लिएर जानुहुन्थ्यो। हामी घर आएर भाँडाकुटी खेल्थ्यौँ। म आमा बन्ने दाजु बच्चा बन्नेदेखि सबै कुरा हुन्थ्यो। दाजु मेरो अविभावक, साथी सबै हुनुहुन्छ।’
उनी तिहारमा दाजुलाई हरसम्भव खुसी बनाउन खोज्छिन्। ‘दाजुको रुचि अनुसारको कुरा किनिदिन्छु। दाजुले पनि मलाई दिनुहुन्छ। दैनिक प्रयोगमा आउने कुरा नै दिने हो’, उनले भनिन्।
रविनाका दाजु जस्तै भाउजू पनि आत्मीय छिन्। आमापछिको आमा भाउजू र बाबुपछिको बाबुको भूमिका दाजुले निभाएकामा उनी खुसी छिन्। त्यो भन्दा खुसी उनी भाइटीकामा हुन्छिन्।
Shares
प्रतिक्रिया