बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणका मुख्य आरोपीमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारीमा संलग्न भएको अभियोगमा रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई मंगलबार राति पक्राउ गरेको हो।
उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतसँग अनुमति लिइएको सीआईबी प्रवक्ता श्यामकुमार महतोले बताए।
मालपोत कार्यालयमा लेखनदासको काम गर्दै आएका उनले अर्का अभियुक्त शोभकान्त ढकालसँग मिलेर सरकारी स्वामित्वमा आएको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप लागेको छ।
यो प्रकरणमा अर्का योजनाकार ढकाल विशेष अदालतको आदेशबाट जेलमा छन्। सुवेदीविरुद्ध यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको छ।
अख्तियारले मुद्दा चलाएपछि उनी फरार थिए। मुद्दाको हद म्यादको अन्तिमतिर सीआईबीले ललिता निवास जग्गा प्रकरणका अभियुक्त पक्राउ गर्न थालेको हो।
यसअघि कांग्रेस नेता विजय गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको छ। गच्छदार यो प्रकरणमा धरौटी बुझाएर रिहा भएका छन्।
अख्तियारले ललिता निवास प्रकरणमा दुई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माधव नेपाललाई उन्मुक्ति दिने निर्णय गरेको थियो। त्यसविरुद्ध सर्वोच्चले निसु सुनाउन बाँकी छ।
अख्तियारले उन्मुक्ति दिएपछि उनीहरुलाई पनि कारबाही माग गर्दै परेको रिटमा निर्णय दिन सर्वोच्चले आलटाल गर्दै आएको हो।
सीआईबीले ललिता निवास प्रकरणमा मुछिएकामाथि किर्तेमा अनुसन्धान अघि बढाएको छ। अख्तियारले भन्दा अझै धेरै जनामाथि मुद्दा चलाउने तयारी सीआईबीले गरिरहेको छ।
Shares
प्रतिक्रिया