काठमाडौंको सोह्रखुट्टेमा भारतीय पर्यटकलाई बन्धक बनाएर लुटपाट गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर–१२ का कांग्रेस नेता दिलबहादुर दोङसमेत छन्।
उनीहरुलाई प्रहरीले एक हप्ता अघि पक्राउ गरेको खुलेको छ। तर, यस विषयमा प्रहरीले आधिकारीक रुपमा केही बताएको छैन। महानगरीय प्रहरी परिसर प्रवक्ता डीएसपी होविन्द्र बोगटीले सो गिरोह पक्राउ परेको बारे आफूलाई जानकारी नभएको बताए। ‘करिब दुई हप्ता अघि भारतीय पर्यटकलाई अपहरण गरेर लुटपाट गरिएको थियो’ उनले भने, ‘संलग्नको खोजी भइरहेको छ, पक्राउ परेको बारे मलाई जानकारी भएन।’
यो गिरोह ठमेल क्षेत्रमा विदेशी पर्यटकलाई लुटपाट गर्ने तथा डान्स रेस्टुरेन्टहरुमा युवतीलाई यौन धन्दामा लगाउने कार्यमा सक्रिय रहेको बताइन्छ। पक्राउ परेकामाथि चोरी, डाँका सम्बन्धी कसूरमा मुद्दा चलाइएको प्रहरी स्रोतले जनाएको छ।
स्रोतका अनुसार दिल्लीबाट घुम्न आएको ६ जनाको समूहमा रहेका मध्ये ३ जनालाई उनीहरुले अपहरणको शैलीमा ट्याक्सीमा हालेर एउटा कोठामा लगि करिब डेढ लाख रुपैयाँ भारु लुटेका थिए। रकमसँगै मोबाइल पनि लुटिएपछि त्यही दिन भागेर उनीहरु भारततिर पुगेका थिए।
उनीहरु पक्राउ परेको थाह पाएपछि ती भारतीयले नेपाल आएर किटानी दिएका हुन्।
प्रतिक्रिया