उपभोक्ता समितिका अध्यक्ष : सर काम पनि गरेँ, पेन्टिङ पनि गर्न लगाइदिनु भो, पैसा पनि खाने, काम पनि नगरिदिने! कहाँको नियम हो यो सर, म त एकदमै पीडित भइसकेछु।
लेखा अधिकृत : मैले मेरोतर्फबाट साइन गरेर छोड्दिएछु। अफिस खुली नै रहेछ। अब हाकिम साहेबको साइन गराउनुस्।
उपभोक्ता समितिका अध्यक्ष : हाकिम साहेबलाई तपाईंले मिलाउनुपर्ने नि! मैले त तपाईंहरूलाई गर्नुपर्ने सबै गरिसकेँ। पैसा पनि दिइसकेँ। काम पनि गरेँ। पेन्टिङ पनि गरेँ। यो तरिका भयो सर भन्नुस् त? मैले अरूबाट सापटी लिएर तपाईंलाई पैसा दिएको छु। अनि काम नगरिदिन भन्नुस् त?
लेखा अधिकृत : तपाईं पहिला नै त्यो काम गर्दा हुन्थ्यो नि त!
उपभोक्ता समितिका अध्यक्ष : जुन काम मलाई नगर्नुपर्ने त्यो काम पनि मैले गरेँ। यहाँ आएर हेर्नुस् न। के काम भएको छ, के बाँकी छ? तपाईं हेरेर देखाइदिनुस्। यदि भएको छैन भने म फेरि गर्छु नि! अब पैसा पनि खाने काम पनि नगर्ने यो अधिकृत र तपाईंहरूलाई के गर्नुपर्छ मैले पनि जानेको छु।
लेखा अधिकृत : यस्ता कुरा नगर्नुस् हेर्नुस्।
उपभोक्ता समिति अध्यक्ष : यस्ता कुरा किन नगर्ने? पैसा पनि खाने काम पनि नगरिदिने?
लेखा अधिकृत : त्यो त तपाईंहरूले गर्नु भएको हो नि पैसा खुवाउने काम। मैले तपाईंलाई सहयोग गरेको हो कि होइन? मैले हाकिम साहेबलाई भनिदिएको छु। सर के गर्नुपर्छ चाँडैचाँडै गरिदिनुस् भनेर।’
यसरी केही बेर टेलिफोनमा कुराकानी भइरहन्छ।
यो संवाद हो– धनुषाको बटेश्वर गाउँपालिकाका लेखा अधिकृत सुमन पुरी र वडा नम्बर ५, शान्तिपुरमा डिहबार मन्दिर पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष अरविन्द साहको।
जुन मोबाइलको कल रेकर्डमा छ। साहले ९८५४०२५...नम्बरबाट लेखा अधिकृत पुरीलाई ९८४१९३... गरेको उक्त फोन संवाद ३ मिनेट ३८ सेकेन्डको छ।
गत आर्थिक वर्षको बजेटअन्तर्गत ३ लाख रुपैयाँको लागतमा अरविन्द साह अध्यक्ष रहेको उपभोक्ता समितिले डिहबार मन्दिरको पर्खाल बनाएको थियो।
अडिओ
त्यो भुक्तानीका लागि लेखा अधिकृत पुरीले १० प्रतिशत कमिसन ३० हजार रुपैयाँ लिएको कुरा उपभोक्ता समितिका अध्यक्ष साहले खुलासा गरेका हुन्।
३० हजार कमिसन लिए पनि ७ महिनासम्म सो योजनाको भुक्तानी नगरेपछि साहले कल रेकर्ड सार्वजनिक गरेका हुन्।
उपभोक्ता समितिलाई भुक्तानी दिन कार्यालयले आनाकानी गरेपछि बाध्य भएर कमिसन बुझाउनु परेको उनको दाबी छ। कमिसन खाएर समेत भुक्तानी नगरेपछि लेखा अधिकृत पुरीलाई फोनमा साहले हकारेको कल रेकर्डमा सुनिन्छ।
साहले लेखा अधिकृत पुरीलाई आक्रोश पोख्दै पटकपटक भनेका छन्, ‘पहिला पैसा खाने तर, भुक्तानी नदिने?’
अध्यक्ष साहले फोनमा लेखा अधिकृतलाई आक्रोशसँगै गुनासो पोखिरहँदा उनी नम्र स्वरमा आफूले गर्ने जति काम गरिदिएको बताइरहेका छन्।
अध्यक्ष साहले अधिकृत पुरीले प्रमुख प्रशासकीय अधिकृतसहित अन्यलाई मिलाएर भुक्तानी दिन ३० हजार रुपैयाँ पहिला नै लिएको बताए।
‘महिनौं कार्यालय धाएँ। तर भुक्तानी दिएन। बाध्य भएर फोनमा लेखा अधिकृत पुरीलाई पैसा खाएको भनेर गुनासो र आक्रोश पोख्नुपर्यो’, उनले भने।
यता अधिकृत पुरीले भने कुनै पनि योजनामा कसैसँग एक सुको कमिसन नलिएको दाबी गरेका छन्। उनले आफ्नो आवाजलाई मिक्सिङ गरेको कल रेकर्ड हुन सक्ने तर्क गरे।
यो संवादले बटेश्वर गाउँपालिकामा विकासे योजनामा कर्मचारीलाई कमिसन बुझाएपछि मात्र काम गरेबापतको भुक्तानी हुने गरेको खुलेको छ।
लेखा अधिकृत, प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधिलाई कम्तीमा १० प्रतिशत कमिसन बुझाएपछि मात्र उपभोक्तालाई भुक्तानी गर्ने गरेको प्रमाण हो यो।
कार्यालय स्रोतका अनुसार गाउँपालिकाका प्रत्येक योजनामा लेखा अधिकृत, प्रशासकीय अधिकृत, प्राविधिकलगायत कर्मचारीले न्यूनतम १० देखि अधिकतम ४० प्रतिशतसम्म कमिसन लिने गरेका छन्।
त्यो रकमबाट पालिका वा वडास्तरीय जुन जनप्रतिनिधिको भागको योजना हुन्छ, त्यसबाट कमिसन भागबण्डा गर्ने गरिएको स्रोतको दाबी छ।
यसै गाउँपालिकामा प्रशासनिक भवन निर्माणको पूर्ण भुक्तानीका लागि पालिका अध्यक्ष डम्बरबहादुर राउतले १७ फागुन २०७७ मा ८ लाख रुपैयाँ घुस लिँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका थिए।
अख्तियारले पछ्याएपछि उनी ८ लाख घुस रकम फालेर भागी ३ महिना हराएका थिए। पछि ठूलाबडाको पहुँच र ‘पावर’मा अख्तियारमा हाजिर भएर जमानतमा छुटेका थिए।
Shares
प्रतिक्रिया