नेपालकै होचो ठाउँ हो धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका। वडा नं. २ स्थित नेपाल-भारत सीमानामा जमुनी नदी बग्छ। एक दशक अघि सीमामै बग्ने जमुनीले धार परिवर्तन गर्यो। करिब ५ सय मिटरसम्म नेपाली भूमि भित्रबाट नदी बग्न थाल्यो। जमुनी नदीले धार परिवर्तन गरेपछि नेपाली भूभाग पारिपट्टि गयो।
सीमास्तम्भ नदीभन्दा पारि नै छ। नदीको पारिपट्टी किनार र दशगजा भित्रै सोही गाउँपालिकाको वडा नं. २ का भिखारी यादवको १५ कठ्ठा जग्गा पर्छ। जग्गाको लालपुर्जा छ। उसले मालपोत कर पनि तिर्दै आएका छन्। तर, एक दशकदेखि जग्गामा बाली उब्जाउनबाट भने उनी वञ्चित छन्। कारण हो, भारतीयले उनको जग्गा नै कब्जा गरेका छन्।
नेपाली किसानको जग्गामा उनीहरुले बाली लगाउँदै आएका छन्। यसले भिखारीको परिवारको गाँस नै खोसिएको छ। भारतीयले जग्गा कब्जा गरेदेखि १८ जना सदस्यको परिवारको लालनपालन ज्याला मजदुरी गरेर गर्दै आएका छन्।
भारतीयले कब्जा गरेको झण्डै २० कठ्ठा जग्गाको लालपुर्जा देखाउँदै स्थानीय जीवछ यादव
पहिला उनको जग्गा नदी वारि थियो। खोलाले धार परिवर्तन गर्दा त्यो जग्गा खोला पारि पुग्यो। तर, त्यो नेपालकै भूमि रहेको किसान बताउँछन्। भिखारीजस्ता दर्जनौं किसानको पीडा उस्तै छ।
‘१० वर्ष अघिसम्म त्यही जग्गामा ७०–८० मन धान गहुँ फलाउँथेँ। खेतीपाती गरेरै परिवारको जोहो गर्थेँ’, विगत सम्झिँदै भिखारी भन्छन्,‘ जमुनी नदीले धार परिवर्तन गरेयता हाम्रो दुर्दशा छ। मेरो जग्गा भारतीयले कब्जा गरेका छन्। हलो चढाउँदा भारतीय एसएसबीले आएर अवरोध गर्छन्। हाम्रो सशस्त्र प्रहरी मूकदर्शक बन्छन्। कसैले केही पहल गरेका छैनन्।’
भिखारीको छेउमै जमुनी नदी किनारमा एक बिघा (२०) कठ्ठा जग्गा स्थानीय जीवछ यादवको पनि छ। उनको समस्या पनि भिखारी यादव जस्तै छ। १० वर्षदेखि आफ्नै जग्गामा उनले हलो चढाउन पाएका छैनन्। १५ जनाको उनको परिवार छ। अन्य दुई कठ्ठा घडेरी बाहेक अन्य जग्गा छैन।
‘जमुनी नदीले जग्गा कटान गरेर पारी पुर्याउँदा भारतीयले खोसे। त्यही जग्गामा खेतीपाती गरेर मेरो परिवार चल्थ्यो। उब्जाउन नपाउँदा खाद्य संकट छ’, उनले जग्गाको लालपुर्जा देखाउँदै भने, ‘तर जग्गामा जोतभोग गर्न नपाउँदा जन,मजदुरी गरेर जेनतेन मेरो परिवार चल्छ।’
भिखारी र जीवछ उदाहरण पात्र मात्र हुन्। उनीहरु जस्तै स्थानीय सहदेव यादवको ७ कठा, राजो सहनीको १० कठा, बहादुर सहनीको ५ कठा जग्गा छन्। त्यस्तै रामदयाल मुखिया, सुरज मुखिया, रिझन यादव, भोला यादव, किसुनदेव यादव लगायत ७०–८० जना नेपालीको १५ बिघाभन्दा बढी जग्गा भारतीयले कब्जा गरेको वडा नं. २ का वडाध्यक्ष नरेश यादव बताउँछन्।
वडाध्यक्ष नरेश यादव
‘जग्गा हाम्रो, लालपूर्जा हाम्रो। तर भारतीयले उब्जाउँछन्। हाम्रो वडाको करिब ७०–८० जना नेपालको जग्गा भारतीले कब्जा गरेका छन्। उब्जाउन दिँदैन’ वडाध्यक्ष यादवले भने ‘यस विषयमा म आफ्नो स्तरबाट थुप्रै प्रयास गरेँ। तर भारतीयले ठूलो देशको घमण्डमा हामीलाई हेपिरहेका छन्।‘
एसएसबीले जहिले पनि भारतीय किसानलाई हाम्रो जग्गा कब्जा गरेर बाली उब्जाउन सहयोग गर्ने गरेको उनको भनाइ छ। तर, सशस्त्र प्रहरीले नेपालीलाई सहयोग नगरेको वडाध्यक्ष यादवले गुनासो गरे।
जग्गाको विषयलाई लिएर बेला बेला एसएसबीले नेपालीलाई हेप्ने, गाली गर्ने, लखेट्ने जस्ता कार्य गरिरहेको स्थानीय बताउँछन्। त्यति मात्र होइन, आफ्नै भूमिको नदीको वारी र पारी जान झोलुङ्गे पुलसमेत एसएसबीले निर्माण गर्न दिइरहेका छैनन्।
झोलुङ्गे पुलको लागि शिलान्यास गरिएको छ। तर, एसएसबीले किन पुल चाहियो भनेर बनाउन नदिएको वडाध्यक्ष यादवले बताए।
स्थानीयका अनुसार नेपाल भारत २८९ नम्बर सीमा स्तम्भ नजिक १० वर्ष अघि सीमा भएर बग्ने जमुनी नदीले धार परिवर्तन गरेको थियो। भिखारी र जीवछ यादव लगायतका नेपालीको जमिनलाई पारी बनाइ दियो। बाढीले सीमा स्तम्भ पनि बगायो। तीन वर्षअघि सीमास्तम्भ गाडियो। तर उक्त सीमास्तम्भ पनि नेपाली भूमिमा च्यापेर गाडेको स्थानीय मनोजकुमार यादव बताउँछन्। सीमा स्तम्भ गाड्ने बेला स्थानीय नेपालीले विरोध समेत गरेका थिए। तर, नेपालकै सरकारी अधिकारी र सशस्त्र प्रहरीले नक्सामा यस्तै छ भन्दै मिचेर गाड्न दिएको नरेशकुमारको भनाइ छ।
‘पिलर गाड्ने बेलामा हामीले जोडदार विरोध गर्यौं। गाड्न दिएका थिएनौं। तर नेपाली अधिकारी र सशस्त्र प्रहरीले नै नक्सामा यस्तै छ भनेर गाड्न दियो। हामी चुप लाग्नुको विकल्प रहेन’ उनले भने।
वडा नं. ५ का सदस्य दिनेश यादव
जुन नेपालीको जमिन नेपालमै छ तिनीहरुको जमिन भारतीयले खोसेका छन्। ‘हाम्रै देशमा भएको जग्गा भारतीयले उब्जाएर लग्छन्। हाम्रा किसान मूकदर्शक हुनुपर्छ ‘वडा नं. ५ का वडा सदस्य दिनेश यादवले भने।
दुवै देशबीच कूटनीतिक पहल गरी यसको समस्या समाधान गर्नुपर्ने स्थानीयको माग छ।
सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख (डीआईजी) गणेश ठाडा मगरले यो विषयमा जग्गा खेसिएका भनिएका पीडितहरुले निवेदन दिनुपर्ने बताए।
‘कसको जग्गा हो, कति जग्गा हो, कुन ठाउँमा छ ? ती व्यक्तिहरुले व्यहोरा सहितको निवेदन दिनुपर्छ। त्यस विषयमा सिडिओ साहेबको अध्यक्षतामा बैठक बसेर, केन्द्रसँग प्राविधिक टोली राखेर, भारतीय पक्षको पनि टोली राखेर नापजाँच गर्नु पर्छ ’, डीआईजी मगरले नेपालखबरसँग भने।
जग्गा कसको हो भनेर पुष्टि भइसकेपछि हात नहाल्न भारतीयलाई चेतावनी दिने उनको भनाइ छ। यता धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस विषयमा बुझेर मात्र केही भन्न सक्ने बताए।
Shares
प्रतिक्रिया