पोखराका एक युवाले जग्गा बेच्न नमानेपछि साथी लगाएर आफ्नै आमाको हत्या गरेका छन्।
पोखरा १२, माटेपानी बस्ने ३२ वर्षीय ओमबहादुर नेपालीले चैत ३ गते साथी कुमार गुरुङलाई ६७ वर्षीया आमा नौमाया नेपालीको हत्या गर्न लगाएका हुन्।
घटना विवरण अनुसार पोखरा १२ सुकुम्बासी मार्गमा रहेको जग्गा बेच्न छोरा ओमबहादुरले आमासँग पटक–पटक आग्रह गर्दै आएका थिए। \
आमाले जग्गा बेच्न इन्कार गरेपछि उनले कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ घर भइ हाल सोही ठाउँमा बस्ने ३७ वर्षीय साथी कुमार गुरुङलाई १ लाख रुपैयाँ दिन्छु आमालाई मारिदे भन्ने आग्रह गरेका थिए।
घटनाको दिन दुबै जनाले घरमै बसेर मादक पदार्थ सेवन गरेको र आमा सुतिसकेपछि घरको ढोकाको औलो खोलेर ‘म बाहिर बस्छु आमालाई मार’ भनेर पठाएका थिए।
कुमारले सुतेकी वृद्धाको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि दुवै कुमारको कोठामा सुतेको र भोलिपल्ट आफू घरमा नभएको बेला आमाको हत्या भएको भन्दै उनले नै प्रहरीलाई खबर गरेका थिए।
पक्राउपछि दुवैले हत्या स्वीकारेको कास्की प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया