जिल्ला अदालत कास्कीको इजलास तोडफोड भएको छ। मंगलबार राति प्रहरी सुरक्षामा रहने कास्की अदालतको १ र ६ नम्बर इजलासमा तोडफोड भएको हो।
अदालतको इजलासमा प्रवेश गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन तर सो व्यक्तिले ढोका फोडेको र इजलासमा रहेका कागजपत्र खोतलेर छरेको पाइएको छ। सो कोठामा मुद्दाका ५ सयवटा फाइल थिए।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सुन्दर तिवारीले सबै कागजपत्र सुरक्षित पाइएको तर व्यक्ति कुन उद्देश्यले इजलास छिर्यो भन्ने नखुलेको बताए।
‘चोरी भएको होइन। राति कोही अपरिचित व्यक्ति प्रवेश गरेको हो। चोरी हुँदा केही सामानहरु लिएर गएको हुनुपर्छ। चोरी भएको भन्न मिल्दैन’, उनले भने,‘गैरकानूनी हिसाबले कोही प्रवेश गर्यो। मनासाय के थियो भन्ने विषयमा अनुसन्धान हुँदैछ।’
अचम्म कस्तो भने, जिल्ला अदालत र वैदाम प्रहरी चौकी आमनेसामने छन्। वैदाममा डीएसपी चिनिमाया लामाको कमाण्डमा प्रहरी खटिन्छ तर अगाडि रहेको प्रहरीले पनि घटनाबारे कुनै थाहा पाएन।
अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले इजलासमा पसेको व्यक्तिले मिसिलबाट महत्वपूर्ण कागजपत्र चोरेको हुनसक्ने आशंका व्यक्त गरे।
अदालतमा धनसम्पत्ति चोर्ने व्यक्ति नपसेको तर्क गर्दै उनले सीसीटीभी फुटेज पनि प्रहरीलाई बुझाएको बताए।
Shares
प्रतिक्रिया