वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको छनौट प्रक्रिया सुरु भएको छ। म्यादी प्रहरीमा भर्ना हुन देशभरबाट २ लाख ९३ हजार ३ सय १४ जनाको आवेदन परेको छ। आवेदन दिनेमा ६९ हजार ६ सय ८० जना महिला, २ लाख २३ हजार ६ सय ३२ जना पुरुष र २ जना लैंगिक अल्पसंख्यक छन्।
म्यादी प्रहरीमा भर्ना गर्दा पूर्वसुरक्षाकर्मी र पूर्वम्यादी प्रहरीहरुलाई प्राथमिकता दिने प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए।
‘शारीरिक रुपमा स्वस्थ, मापदण्ड पुरा गरेका र ड्युटी गर्न सक्ने अवस्थाका पूर्व सुरक्षाकर्मीहरु छनोट हुन्छन्,’ प्रवक्ता केसीले भने, ‘पहिल्यै तालिमप्राप्त हुन्छन्। उनीहरुलाई प्रशिक्षणको अवश्यकता पर्दैन। त्यही भएर छनौटमा प्राथमिकता दिइएको हो।’
म्यादी प्रहरीमा आवेदन दिनेमा २५ सयभन्दा बढी पूर्व सैनिकहरु पनि छन्। नेपाली सेनाका ११ महिला र २ हजार ५ सय ३७ जना पुरुषले पनि आवेदन दिएका छन्। यो संख्या पूर्व प्रहरी र सशस्त्र प्रहरीभन्दा बढी हो।
यसअघि म्यादीमा भर्ना भएर काम गरिसकेका २१ हजार ८ सय ८८ जनाले पनि आवेदन दिएका छन्। पूर्वप्रहरीबाट १६ महिला र १ हजार ४ सय ३१ जना पुरुषको आवेदन परेको छ भने ५ जना महिला र ४ सय ८९ जना पुरुष पूर्व सशस्त्र प्रहरीले पनि म्यादीमा जागिर खाने इच्छा देखाएका छन्। पूर्व वन रक्षक ३५ जना छन्। तीमध्ये एक जना महिला छन्।
३४१ स्नातकमाथिका
म्यादी प्रहरीमा जागिर खान आवेदन दिएकामध्ये ३४१ जना स्नातक वा त्योभन्दा माथिको अध्ययन पुरा गरेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार साधारण लेखपढ गरेका १ लाख ७७ हजार ७ सय ५० जना, एसएलसी पास गरेका ८३ हजार २ सय ११ जना र ३२ हजार १२ जनाले कक्षा १२ पास गरेका छन्।
म्यादी प्रहरीका लागि शैक्षिक योग्यता सामान्य लेखपढ मात्रै तोकिएको छ।
कुन उमेर समूहका कति?
म्यादी प्रहरीमा आवेदन दिनेमा १८ देखि २० वर्ष उमेर समूहका ८३ हजार ६ सय २९ जना छन्। १८ वर्षदेखि ५४ वर्षसम्मकाले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
२० देखि ३० वर्षसम्मका १ लाख ३३ हजार ४७६ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
३० देखि ४० वर्षसम्मका ५४ हजार ८४७ जनाले आवेदन दिएका छन्। ४० वर्षदेखि ५४ वर्षसम्मका २१ हजार ३६२ जना छन्। माथिल्लो उमेर समूहका प्रायः पूर्व सुरक्षाकर्मीहरु हुन्।
छनोट प्रक्रिया
चैत १५ गतेदेखि २२ गतेसम्म उनीहरुको छनोट गरिसक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। सुरुमा स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीको परीक्षा हुनेछ। त्यसमा पास हुनेहरु अरु परीक्षामा सहभागी हुन पाउने छन्।
शारीरिक तन्दुरुस्ती परीक्षामा महिला र पुरुषका लागि छुट्टा छुट्टै मापदण्ड छ। उमेर समूहअनुसार पनि फरक मापदण्ड छ। १८ वर्षदेखि ३९ वर्षसम्मका पुरुषले १ किलोमिटर दौड ५ मिनेटमा पुरा गर्नु पर्ने छ भने यही उमेर समूहका महिलाले ७ मिनेटमा पुरा गर्नुपर्नेछ। ४० वर्षमाथिका पुरुषले १० मिनेटमा र महिलाले १२ मिनेटमा पुरा गर्नुपर्ने छ।
सिटअप ३९ वर्षमुनिका पुरुषले १० पटक र महिलाले ५ पटक गर्नु पर्नेछ। ४० वर्षमाथिका पुरुषले ५ पटक र महिलाले ४ पटक सिटअप गर्नुपर्नेछ।
पुसअप ४० वर्षमुनिका पुरुषले १० पटक र महिलाले ५ पटक गर्नु पर्ने मापदण्ड तय भएको छ। ४० वर्षमाथिका पुरुषले ५ र महिलाले ४ पटक गर्नु पर्ने मापदण्ड बनाइएको छ।
शारीरिक परीक्षाका यी मापदण्ड पुरा गर्नेले लिखित परीक्षामा सहभागी हुन पाउने छन्। लिखित परीक्षामा पास हुनेले अन्तर्वार्ता दिनु पर्नेछ। त्यसपछि अन्तिम नतिजा चैत २२ गते सार्वजनिक हुने छ।
२८ गतेदेखि म्यादी प्रहरीलाई तालिम दिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
म्यादी प्रहरी ४० दिनका लागि भर्ना गर्न लागिएको हो। उनीहरुले प्रहरी जवानसरह सेवा सुविधा पाउने छन्।
Shares
प्रतिक्रिया