मासु खाएर फर्किँदै गर्दा धनुषाको सबैलामा मोटरसाइकल दुर्घटनामा परी चारजनाको मृत्यु भएको खुलेको छ।
५ जना सवार भई रघुनाथपुर बजारबाट मासु खाएर फर्किँदै गर्दा सबैला नगरपालिका–१२ स्थित चौरिमा गएराति करिब ८ बजे भएको मोटरसाइकल दुर्घटनामा चारजना बालकको मृत्यु भएको थियो।
मृत्यु हुनेमा १२ वर्षीय लक्ष्मी यादव, मोटरसाइकल चालक १५ वर्षीय राहुल यादव, १४ वर्षीय सुमित यादव र १२ वर्षीय विकास यादव (बौका) छन्।
दुर्घटनामा १९ वर्षीय सुरेन्द्र यादव घाइते छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
उनीहरु पाँचैजना सवैला नगरपालिका वडा नम्बर २ स्थित एउटै टोलका छिमेकी हुन्।
प्रहरीका अनुसार मृतक राहुल हेल्मेट बिना ज ६ प ६७३९ नम्बरको मोटरसाइकल चलाउँदै थिए।
घाइते सुरेन्द्रको अवस्था समान्य रहेको उनका दाइ सुरजले बताए।
‘एम्बुलेन्सवालाले गाउँमा फोन गरेपछि हामीले घटना भएको थाहा पायौँ। अहिले उ निकै डराएको छ। डाक्टरले धेरै नबोल्न भन्नुभएछ,’ उनले भने। आफूहरु साँझसम्म खेतमै रहेकाले भाइ कतिखेर घरबाट निस्केको थाहै नपाएको सुरजको भनाइ छ।
परिवारजनका अनुसार दुर्घटनामा परेका पाँचैजना प्रायजसो सँगै बस्थे। गाउँमा उनीहरु साइक नै चलाउँथे। राहुलले भने गाउँमा कहिलेकाहीँ मोटरसाइकल पनि चलाउँथे। विदेशबाट फर्केपछि उनका काका शंकर विहारी यादवले मोटरसाइकल किनेका थिए। सोही मोटरसाइकल उनले पनि कहिलेकाहीँ चलाउँथे।
‘राहुल र सुमित पहिले पनि मोटरसाइकल चढेर घुम्थे तर पाँच जना बसेर पहिलो पटक निस्केका थिए,’ उनका मामा बुधुलाल यादवले भने, ‘घरबाट लुकेर मोटरसाइकल लिएर गएका रहेछन्। लेग पिस खान हिँडेको साथीहरुलाई भनेका थिए। खाएर फर्कनेबेला दुर्घटना भयो।’
उनका अनुसार मृतक चारैजनालाई गर्दनभन्दा माथि नै चोट लागेको छ। रघुनाथपुर बजार ती बालकहरुको घरबाट झण्डै तीन किलोमिटर टाढा छ।
राहुल र उनका ती साथीहरु पहिले पनि मासु खान त्यहाँ जाने गरेका थिए। मृतक लक्ष्मी यादव उनको फुपूका छोरा हुन्। बल्टिया घर भएका उनी मामा घर बस्दै आएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको देखिएको छ।
‘मोडमा टर्न गर्ने क्रममा खसेको घाइते सुरेन्द्रले बयान दिएका छन्,’ धनुषाका प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले भने।
घटनास्थल पुगेका प्रहरी उपरिक्षक बसन्त रजौरेका अनुसार घटनास्थलमा बाटो थोरै मोडिएको छ।
‘स्पीड धेरै थियो होला। मोड्ने बेला मोटरसाइकल चिप्लेर दुर्घटना भएको हुनसक्छ,’ उनले भने। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
दुर्घटनामा भएको जानकारीपछि प्रहरीले पाँचै जनालाई गम्भीर अवस्थामा प्रादेशिक अस्पतालमा ल्याएको थियो। तीमध्ये चार जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
मृतकको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिएको छ। अस्पतालमा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मात्रिका प्रसाद यादव पुगेका थिए। दुर्घटनामा परेका पाँचैजना उनका छिमेकी हुन्।
अभिभावकसँगै प्रहरीको समेत लापरबाहीका कारण मधेसमा सवारी दुर्घटना बढेको बताए।
‘यहाँ जनचेतनाको कमी छ। चालकमा अनुशासन छैन। प्रहरी पनि मधेशमा असुलकै लागि आउँछ,’ उनले भने, ‘यहाँका नेता पनि उतिकै दोषी छन्। गल्ती गर्नेलाई पक्रियो कि छुटाउन लागिहाल्ने। काठमाडौँमा सवारी चाप यतिधेरै हुँदा पनि दुर्घटना कम भयो तर यहाँ किन भएन?’
एउटै टोलका चारजनाको मृत्युपछि सबैला नगरपालिका अहिले शोकमग्न छ। शोकले मृतकका धेरैजसो छिमेकीको घरमा समेत रातिदेखि चुलो बलेको छैन। मृतकका घरमा रूवाबासी चलेको छ।
मृतक बालकहरूको शवलाई पोस्टमार्टम गरि आजै जनकपुरधाम स्थित स्मसानघाटमा अन्त्येष्टि गरिएको छ।
Shares
प्रतिक्रिया