जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले १० वर्षदेखिको खानेपानीको बाँकी बक्यौता महसुल तिरेका छन्।
नेपालखबरले 'जनताको करबाट राजसी ठाँट देखाउने जनकपुरका प्रमुखले १० वर्षदेखि तिरेका छैनन् खानेपानी महसुल' समाचार सार्वजनिक गरेपछि उनले महसुल तिरेका हुन्।
प्रमुख साहले गत चैत महिनासम्मको १ लाख ४६ हजार रुपैयाँ महसुल शुक्रबार नेपाल खानेपानी संस्थानको कार्यालय जनकपुरमा तिरेको जनाएको छ।
सूचनाको हक प्रयोग गरेर जानकारी मागेपछि खानेपानी संस्थानले नेपालखबरकर्मीलाई उपलब्ध गराएको विवरणमा मेयर साहले १० वर्षभन्दा बढी समयदेखि खानेपानीको महसुल नतिरेको भेटिएको थियो।
त्यो समाचार नेपालखबरले बिहीबार प्रकाशित गरेको थियो। जनकपुरधाम उपमहानगरपालिका ८ रामानन्दचोक पूर्व रहेको प्रमुख साहको घरमा उनकै नाममा खानेपानीको धारा छ।
खानेपानी संस्थान कार्यालयले पटक पटक महसुल तिर्न ताकेता गर्दा पनि साहले पदको आडमा टेरेका थिएनन्।
डरका कारण संस्थानका कर्मचारीले पनि उनको धाराको लाइन काट्ने हिम्मत गर्न सकेका थिएनन्।
तर नेपालखबरले समाचार सार्वजनिक गरेपछि मेयर साहले दोश्रो दिन सबै बाँकी बक्यौता महसुल तिरेको कार्यालयले जनाएको छ।
त्यति मात्रै नभइ साहकै आफन्त पर्ने वडा नम्बर ८ घर भएका दिलीप साहकी श्रीमती बिना साहको नाममा रहेको धाराको वर्षौंदेखिको ९५ हजार ७३४ रुपैयाँ महसुल बाँकी नै छ।
साह आगामी चुनावमा जनता समाजवादी पार्टी (जसपा) बाट दोहोरिने तयारीमा छन्।
Shares
प्रतिक्रिया