बेपत्ता तारा एयरको विमानमा धनुषा जिल्लाका एकै परिवारका सातजना रहेको पुष्टि भएको छ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा धनुषाको मिथिला नगरपालिका वडा नं. ११ तुल्सी पाटोका एकै परिवारका सातजना रहेको खुलेको हो। उनीहरु तीर्थ यात्राका लागि गएका थिए।
स्थानीय राजन कुमार गोलेका परिवार र आफन्तसहित ७ जना छन्। गोले नेकपा एकीकृत समाजवादीका धनुषा जिल्ला सदस्य हुन्।
विमानमा गाेलेसहित उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ थिए।
उनीहरु मुक्तिनाथ दर्शनका लागि हिँडेका थिए। शुक्रबार घरबाट मुक्तिनाथ दर्शनका लागि हिँडेका उनीहरु शनिबार पोखरा पुगेका थिए। आज बिहानै तारा एयरको विमानबाट मुक्तिनाथ दर्शनका लागि हिँडेको परिवारजनले जनाएको छ।
उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रुहरू सवार थिए।
एकै परिवारका सात जना सवार विमान बेपत्ता भएको खबरले परिवारसहित गाउँले चिन्तामा डुबेका छन्।
Shares
प्रतिक्रिया