जनकपुरमा एक हप्तादेखि बेपत्ता बालकको हत्या भएको अवस्थामा शव फेला परेको छ। गत जेठ १७ गते बेपत्ता भएका सर्लाहीको कबिलासी नगरपालिका ७ गैर बाजार घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका ८ मा टेन्ट तानेर बसिरहेका जियाशरण बरहीका ६ वर्षीय छोरा राँकी बरहीको हत्या भएको हो।
बालकको शव धनुषाको जनकपुरधाम उपमहानगरपालिका २२ र महोत्तरीको पीपरा गाउँपालिका ६ पर्ने वसविट्टी स्थित दुधमती नदीको छेउको पानी भएको झाडीमा फेला परेको हो।
गत जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको भन्दै परिवारजनले बलवा प्रहरी चाैकीमा खाेजी गर्नका लागि अनुराेध गरेका थिए।
खाेजी गर्ने क्रममा सोमबार राति झाडीमा बालककाे शव फेला परेको हो। बेपत्ता लगतै उनको हत्या भएकाे प्रहरीको अनुमान छ।
गरिबीका रेखामुनि रहेका बरहीको घरपरिवार घुमन्ते जीवन वितराइरहेका छन्। केही महिनादेखि मृतक बालकका आमबुबासहित केही छिमेक जनकपुरमा टेन्ट तानेर बस्दै आएका छन्।
बालकको शव घटनास्थलबाट पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ। घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Shares
प्रतिक्रिया