अन्य देशमा सार्वजनिक पदमा रहेका कुनै व्यक्तिमाथि सामान्य आरोप लागे मात्रै उनीहरुले पदत्याग गर्ने गरेका छन्।
तर त्यही कुरा नेपालको सन्दर्भमा ठ्याक्कै उल्टो छ। ‘यौन दुर्व्यवहार’ जस्तो गम्भीर आरोप लागेकाहरुले सरकारबाटै संरक्षण पाउँछन्। पुरस्कृत हुन्छन्।
यतिबेला बलात्कार मुद्दा लागेका कृष्णबहादुर गिरी उर्फ सिद्धबाबा हिन्दुहरुका आराध्यदेव पशुपतिनाथ परिसरमा भागवत पुराण वाचिरहेका छन्। र, उनलाई ढोग्न सरकारका मन्त्रीदेखि महान्यायाधिवक्तासम्म पुगेका छन्।
पुराण श्रवणका लागि बालबालिका, युवादेखि वृद्धवृद्धासम्मको बाक्लो उपस्थिति छ। पुराणमा सहभागीमध्ये धेरैलाई महायज्ञका प्रमुख वाचक सिद्धबाबा बलात्कार आरोपी हुन् भन्ने थाहा नभएको होइन।
तर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीदेखि कांग्रेसका कयौँ नेताहरुको लर्को पशुपतिमा लागेको छ। बलात्कार आरोपी सिद्धबाबाको पुराणवाचन श्रवणका लागि उनीहरु लाइनमा छन्। यो दृष्यले ‘सामाजिक न्याय र धार्मिक आस्था निकै ठूलो चिज हो’ भन्नेहरुको नैतिकता खिस्स हासिरहेझैँ लाग्छ।
सिद्धबाबा पशुपतिमा पुराण मात्रै भनिरहेका छैनन्, यज्ञमा उपस्थितलाई दीक्षासमेत दिइरहेका छन्। उनीबाट दीक्षा लिनेहरु ‘अब उप्रान्त मेरो जीवन गुरु आज्ञाबाट चल्ने छ’ भन्ने संकल्प गरिरहेका छन्।
यही संकल्पका साथ सिद्धबाबा भक्तजनलाई दीक्षा दिने क्रममा डेढ घण्टा मन्डपमा राख्छन्, पाप–पुण्यबारे प्रवचन दिन्छन्। आफूसँग दीक्षा लिन आउनेको लाइन देखेर गिरी मुस्कुराउँछन्। आफ्ना परमगुरुको मुस्कान देखेर यज्ञमा पुगेकाहरु आल्हादित भएझैँ देखिन्छन्।
दोहोरो मुस्कानको यो आदानप्रदान देख्दा सिद्धबाबाबाट बलात्कृत भएकी भनिएकी महिलाको मनमा के चलिरहेको होला ? यो आममान्छेले सोच्न सकेकै छैनन्।
हामी त्यतिबेलामात्र दुखाई महसुस गर्ने भएछौं, जब आफ्नाहरुलाई मात्र चोट लाग्छ। अरुको दुःखले हामीलाई बिझाउँदैन। त्यसैले, समाजका दिग्गज भनिनेहरु र सरकारलाई समेत साम्राज्ञीको बेदनाले दुखाउन सकेको छैन। सिद्धबाबाद्वारा बलात्कृत महिलाको पीडाले उनीहरुलाई पोल्न सकेको छैन।
अन्यथा वर्षौदेखि न्यायको भीख मागिरहेका पीडितको बेवास्ता गरेर पीडकलाई राज्यस्तरबाटै संरक्षण हुँदैनथ्यो। बलात्कारको आरोप लागेका बाबाबाट दीक्षित हुने लाइनमा समाजका मन्त्री, डिआइजीजस्ता समाजले ‘प्रतिष्ठित’ मानेका व्यक्तिहरु देखिँदैनथे।
के मन्त्रीदेखि डिआईजीजस्ता राज्यका जिम्मेवार व्यक्तिहरुलाई सिद्धबाबामाथि लागेको आरोपबारे जानकारी थिएन? राष्ट्रियस्तरमै चर्चा पाएको बलात्कार काण्डमा मुछिएका सिद्धबाबालाई मञ्चमा राखेर ‘अतिरुद्र महायज्ञ’ गर्न आयोजकले कसरी आँट गरेका होलान्?
यस्ता विवादास्पद व्यक्तिसँग दीक्षित हुन भीडमा देखिएका मन्त्रीहरुसँग अब आमनागरिकले कसरी स–शासनको अपेक्षा गर्लान्?
सिद्धबाबाविरुद्ध २०७६ साल कात्तिमा अनुयायीमध्यकै एक महिलाले बलात्कारको आरोप लगाएकी थिइन्। त्यसबेला सिद्धबाबा सुनसरीस्थित चतरा आश्रममा बस्थे। उनको प्रहरीका उच्च अधिकृतदेखि सरकारका मन्त्रीसम्म पहुँच थियो। त्यही कारण उनीविरुद्ध उजुरी दर्ता गर्न ती महिलाले निक्कै सास्तीसमेत खेप्नु पर्यो।
पीडित महिलाले आफूमाथि सिद्धबाबाले ३ कार्तिक २०७६ मा बलात्कार गरेको भन्दै ११ मंसिर २०७६ मा प्रहरीमा जाहेरी दिएकी थिइन्।
‘आफूले भने अनुसारनगरे अनिष्ट हुने’ भन्दै सिद्धबाबाले ती महिलालाई बलात्कार गरेका थिए। यो जघन्य हर्कतपछि ‘यसबारे कसैलाई जानकारी दिएमा अनिष्ट हुने’ भन्दै धम्क्याए।
त्यसपछि पीडित महिला श्रीमानको साथमा सिद्धबाबाविरुद्ध जाहेरी दिन काठमाडौं आउनु पर्यो। प्रहरीले घटनाको अनुसन्धान गर्दैगर्दा रुँदै फोन गरेर सिद्धबाबाले पीडित महिलासँग माफी मागेका थिए।
त्यसबेला ‘आफूबाट गल्ती भएको, पुनः गल्ती नगर्ने, गल्ती गरेको खण्डमा लिङ्ग काटेर फाल्ने’ भन्दै माफी मागेका रहेछन्। उनको यो आवाजको परीक्षण प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले गरेको थियो। परीक्षणबाट आवाज सिद्धबाबाकै भएको पुष्टि भएको पनि हो।
सिद्धबाबाले महिलालाई बलात्कार गरेको एथेष्ट प्रमाण हुँदाहुँदै सुनसरी जिल्ला अदालतले २२ मंसिर २०७७ मा ‘उमेर पुगेकी महिला र पुरुषबीचको शारीरिक सम्बन्धलाई जबर्जस्ती करणी भन्न मिल्दैन’ भन्दै सफाइ दियो।
सिद्धबाबाले पाएको सफाइबाट समाज त सन्तुष्ट थिएन भने पीडितले न्यायको महसुस गर्ने कुरै भएन। पछि उच्च अदालतले सुनसरी जिल्ला अदालतको आदेश बदर गर्यो। ‘सबूत प्रमाण बुझेर इन्साफ गर्नू’ भन्दै जिल्ला अदालतमा नै मुद्दा फिर्ता पठाउने निर्णय सुनायो।
उच्च अदालतको आदेशपछि उनीविरुद्धको मुद्दा पुनः दर्ता भएको छ। तर उक्त मुद्दा पेशी चढेको छैन।
अदालतले सिद्धबाबा भनिने गिरिलाई हाजिर जमानीमामात्र छाडेको हो, उनी निर्दोष साबित भइसकेका छैनन्। तर आफूविरुद्धको मुद्दा विचाराधीन रहेकै बेला आरोपीले सार्वजनिक पुराणवाचन गर्दै हिडेका छन्।
अनि, मुलुकमा सु–शासन कायम गर्ने जिम्मा पाएका ‘भीआइपी’ हरु सिद्धबाबा निर्दाेष छन् भन्ने सन्देश दिनेगरी उनकै मुखबाट पुराण श्रवणका लागि लाइनमा छन्।
यो घटनाले राजनीतिक र धार्मिक बर्को ओढेपछि जस्तोसुकै अपराध पनि लुकाउन सकिन्छ र अपराध गर्न पाइन्छ भन्ने मान्यता स्थापित गर्न खोजेको छ।
अदालतमा विचाराधीन मुद्दामा प्रतिवादी रहेका व्यक्तिद्वारा वाचित पुराणमा भीआईपीहरुको लस्करले मुद्दा कमजोर र प्रभावित हुने आशंका उब्जिएको त छ नै, भीआइपीहरुको नैतिक निष्ठामाथि समेत प्रश्न उठेको छ।
प्रश्न त पशुपति क्षेत्र विकास कोषमाथि पनि उठेको छ– बलात्कार आरोपीलाई पशुपति क्षेत्रमा पुराण लगाउन किन दिएको होला?
सिद्धबाबा सम्बन्धी मुद्दालाई लिएर ‘अगुवा महिलावादी’ का रुपमा चिनिएका महिला अधिकारकर्मीहरुले पनि खासै आवाज उठाएको सुनिएको छैन।
चलचित्र विकास बोर्डको कुर्सीमा पुगेका भुवन केसी र पुराणवाचन कार्यक्रमको ‘ड्यास’ मा बसेका सिद्धबाबा प्रतिनिधि पात्र मात्रै हुन्। हाम्रो समाजमा खुलेर बाँचिरहेका यस्ता पात्र प्रसस्तै भेटिन्छन्।
न्यायको याचना गरिरहेका पीडित बरु थाक्लान्। पीडकको बचाउका लागि भने समाज थाक्दो रहेनछ। भुवन केसी र सिद्धबाबा यसैका ज्वलन्त उदाहरण हुन्।
Shares
प्रतिक्रिया