ad ad

समाज


इरास्मस छात्रवृत्ति पाएर युरोप जाँदै ६० नेपाली विद्यार्थी

इरास्मस छात्रवृत्ति पाएर युरोप जाँदै ६० नेपाली विद्यार्थी

नेपालखबर
साउन २०, २०७९ शुक्रबार १७:५३, काठमाडौँ

युरोपेली युनियन नेपाल डेलिगेशनले इरास्मस मुन्डुस एशोसिएशन अफ नेपालसँग मिलेर इरास्मस मुन्डुस छात्रवृत्तिअन्तर्गत स्‍नातकोत्तर अध्ययनका लागि छनोट भई युरोप जान नेपाली विद्यार्थीका लागि बिहीबार अभिमुखीकरण कार्यक्रम गरेको छ।

काठमाडौंस्थित युरोपेली युनियन नेपाल डेलिगेसन कार्यालयका अनुसार यस वर्ष ६० नेपाली विद्यार्थीले युरोपका विभिन्न विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति पाएका हुन्। ती नेपाली विद्यार्थी चाँडै युरोप उड्ने तयारीमा छन्। 

बिहीबार आयोजित कार्यक्रममा युरोपेली युनियनकी नेपालस्थित राजदूत नोना डिप्रेजले युरोपका विभिन्न विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति पाएर जान लागेका विद्यार्थीलाई बधाई दिइन्। 

‘हरेक वर्ष यो छात्रवृत्ति पाएर युरोप जाने नेपाली विद्यार्थीको संख्या बढ्दो छ। आफ्नो क्षमताले जितेर उनीहरुले यो छात्रवृत्ति पाउन सफल भएका छन्। यसमा निकै खुशी लागेको छ,’ उनले भनिन्। 

राजदूत डिप्रेजले नेपाल र युरोपेली युनियनबीचको जनताको तहमा रहेको सम्बन्धबारे प्रकाश पार्दै साझा हित र चासोका बिषयमा भविष्यमा पनि धेरै कुरा गर्न सकिने बताइन्। 

त्यस अवसरमा इरास्मस मुन्डुस छात्रवृत्ति पाएर युरोप जान लागेका नेपाली विद्यार्थी सुनु लामा र आभूषण गौतम शाक्यले आफूलाई अध्ययन गर्ने अवसर दिएकोमा इयुलाई धन्यवाद दिए। 

युरोपेली युनियन नेपाल डेलिगेसनको हातामा आयोजित अभिमुखीकरणका उनीहरुलाई युरोप अध्ययन तथा बसाइका लागि विभिन्न राय र सल्लाह दिएको थियो। 

ती विद्यार्थीलाई सन् २०२२ देखि २०२४ सम्मको अवधिमा विभिन्न विषय अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिइएको छ। 

बाढी जोखिम नियन्त्रण, माटो तथा विश्व्यापी परिवर्तन, शहरी मौसम तथा दीगोपना, वन तथा प्राकृतिक स्रोत व्यवस्थापन, संचार तथा सञ्चारमाध्यम र भ्याक्सिन शास्त्र शिक्षा लगायत विषय अध्ययन गर्ने डेलिगेसन कार्यालयले प्रेस विज्ञप्तिमा जनाएको छ। 

गत वर्ष ४९ नेपाली विद्यार्थीले उक्त छात्रवृत्ति पाएका थिए। अहिलेसम्म नेपालका ८०० विद्यार्थीले इरास्मस मुन्डुस छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाइसकेका छन्। 

युरोपेली युनियनले दक्षिण एसियाका नेपाल लगायत देशलाई इरास्मस छात्रवृत्ति दिने गरेको छ। दक्षिण एसियामा धेरै संख्यामा छात्रवृत्ति पाउने मुलुकको सूचीमा नेपाल चौथोमा पर्छ। 

इरास्मस मुन्डुस छात्रवृत्ति पाउने विद्यार्थीले पढाइ खर्च, बसाई भत्ता र यात्रा लगायत सबै सुविधा पाउँछन्। युरोपेली युनियन शिक्षा क्षेत्रमा धेरै अनुदान सहायता दिने दातामा पर्छ। 

सन् २०२१ देखि २०२७ का लागि युरोपेली युनियनले २६.२ बिलियन युरो बजेट इरास्मस छात्रवृत्तिका लागि विनियोजन गरेको छ। 

नेपालका त्रिभुवन विश्व विद्यालय, काठमाडौ विश्व विद्यालय, पोखरा विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयले युरोपका विश्वविद्यालयको साझेदारीमा इन्जिनियरिङ, दिगो पर्यटन र कृषि क्षेत्रमा क्षमता विकाससम्बन्धी १४ परियोजना संचालन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .