ad ad

समाज


भारतीय प्रधानसेनापति पाण्डे भदौ १९ गते आउँदै, सेनाले थाल्यो स्वागत तयारी

भारतीय प्रधानसेनापति पाण्डे भदौ १९ गते आउँदै, सेनाले थाल्यो स्वागत तयारी

नेपालखबर
भदौ ७, २०७९ मंगलबार १७:४४, काठमाडौँ

भारतीय प्रधानसेनापति मनोज पाण्डे भदौ १९ गते नेपाल आउने भएका छन्। 

पाण्डे पाँच दिनका लागि नेपाल भ्रमणमा आउन लागेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। 

‘भारतीय प्रधानसेनापति भदौ १९ देखि २३ सम्म नेपाल भ्रमणमा रहने निश्चित भएको छ। हामी स्वागतका लागि तयारी गर्दैछौँ’ सिलवालले नेपालखबरसँग भने। 

उनका अनुसार पाण्डेको नेपाल भ्रमणका लागि नेपाली सेनालाई मन्त्रिपरिषद्‍बाट सैद्दान्तिक स्वीकृति मिलिसकेको छ।

पाण्डे नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिन आउन लागेका हुन्। 

भ्रमणको औपचारिक घोषणा भइसकेको छैन। ‘भ्रमण तय भइसकेको छ। हामी भेटघाटका कार्यक्रम तय गर्दैछौँ,’ प्रवक्ता सिलवालले भने। 

उनका अनुसार भ्रमणबाट दुई देशबीचको सैन्य सहकार्य मजबुत हुने अपेक्षा लिइएको छ। 

‘दुई देशका सेना र मुलुकबीचको द्विपक्षीय सहकार्य सुदृढ गर्न भ्रमण फलदायी हुने विश्वास लिएका छौँ', सिलवालले भने। 

भ्रमणमा नेपालले राख्ने एजेन्डाबारे रक्षा परराष्ट्र मन्त्रालय र नेपाली सेनाबीच छलफल भइरहेको सरकारी अधिकारीहरुले बताएका छन्। नेपाली सेनाले साउन दोश्रो साता भारतसँग दुईवटा सैनिक हेलिकोप्टर अनुदानमा मागेको छ। 

पाण्डेको भ्रमणका क्रममा ती हेलिकोप्टर सहयोगको घोषणा हुनसक्ने कतिपय अधिकारीको अनुमान छ। 

‘पाण्डेको भ्रमणमा अनुदानमा हेलिकोप्टर दिने घोषणा हुने वा नहुने निश्चित भइसकेको छैन। तर हामी आशावादी छौं,’ रक्षा मन्त्रालयका एक अधिकारीले भने।

नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवीबाट विभूषित गर्नेछिन्। 

सन् १९५० यता नेपाली सेना र भारतीय सेनाका प्रमुखबीच एकअर्काको देशमा गएर मानार्थ प्रधानसेनापतिको पदवी लिने परम्परा रही आएको छ।

सन् १९५० मा नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएपछि तत्कालीन भारतीय सेनापति केएम क्यारिअप्पा पहिलोपटक नेपालमा मानार्थ प्रधानसेनापतिको पदवी लिन आएका थिए। 

त्यसयता २१ जना भारतीय सेनाका प्रमुख मानार्थ प्रधानसेनापतिको पदवी लिन नेपाल आइसकेका छन्। 

त्यसैगरी त्यस अवधिमा नेपालका १७ जना सेनापति मानार्थ प्रधानसेनापतिको पदवी लिन दिल्ली गएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .