नयाँ बानेश्वरबाट बुद्धनगरतिर जाने बाटैमा अल्फा बिटा नाम गरेको बिल्डिङ छ। यो भवनमा बेलाबखत विभिन्न पार्टीका शीर्षनेता एवं मन्त्रीसमेत कार्यक्रमहरुमा सहभागी हुने गर्छन्। अल्फा हाउसमा विभिन्न कार्यालय छन्। दिनहुँ मानिसको भीड लाग्ने गर्छ।
अल्फा हाउसका घरबेटीले भुइँतलामा राख्दै आएको पार्किङ हटाएर भाडामा लगाएका छन्। भवनमा आउने मानिसका लागि मोटरसाइकल पार्किङ गर्ने ठाउँमा अहिले कफी सप र फार्मेसी राखिएको छ। भवनको पार्किङस्थल भाडामा लगाएर घरबेटीले पैसा कमाइरहेका छन् भने पार्किङ चाहिँ सडकको फुटपाथलाई बनाइएको छ।
अल्फा बिटाले सडक कब्जा गरेका कारण बाटो हिँड्ने मानिसहरु पेटीमा हिँड्न नपाएर सडकबाटै हिँड्नुपरेको छ, जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ।
मंगलबार दिउँसो अल्फा बिटा अगाडि सडकमा हिँडिरहेकी मिठ्ठु मल्लले आक्रोश पोख्दै भनिन्, ‘मान्छे हिँड्ने फुटपाथ यस्तो अस्तव्यस्त छ। नियम कानून हुँदा पनि मान्छेहरू नियम कानून मान्दैनन्। फुटपाथको पार्किङका कारण घरबाट कामका लागि सडकमा निस्किँदा घर फर्कन पाइन्छ कि पाइँदैन भन्ने डर हुन्छ।’
मिठ्ठुले थपिन्, ‘फुटपाथमा एकअर्काबीच धक्कामुक्की भएर हिँड्नुपर्छ। म ७० वर्षकी मान्छे हुँ यसरी फुटपाथ रोक्ने? यो पनि काइदा हो?’
मंगलबार दिउँसो नेपालखबरकर्मी अल्फा बिटामा पुग्दा फुटपाथ छेकेर सवारी साधन तेर्स्याइएको पाइयो। त्यहाँ खटिएका एक सुरक्षा गार्डलाई मानिस हिँड्ने बाटोमा किन पार्किङ गरेको भनेर सोध्दा उनले सहजरुपमा जवाफ दिए, ‘पहिले तल भवनमै पार्किङ थियो, अहिले भाडामा लगाइएकाले बाटोमा पार्किङ गर्न थालिएको हो।’
- बालेन्द्रले भने : कारबाही सुरु भयो, अब महानगरभरि पुग्नेछ
- काठमाडौंको शान्तिसुरक्षाबारे मेयर बालेन्द्रले गरे उपत्यका प्रहरी प्रमुखसँग छलफल
अल्फा बिटा अगाडि भेटिएका वामदेव मल्लले भने, ‘बुढेसकालमा चलायमान हुनुपर्छ भनेर हिँड्न खोज्दा सडकमै मरिन्छ कि भन्ने लाग्छ। समस्या समाधानमा जिम्मेवार निकाय निरीहजस्तो देखेँ। म काठमाडौंमा बस्न लागेको आठ वर्ष भयो। काठमाडौंमा पहिलेभन्दा मनपरीतन्त्र बढेको छ।’
काठमाडौं महानगरपालिकाले सडक मिचेर पार्किङ नगर्न र भवनमा अण्डर ग्राउण्ड पार्किङको व्यवस्था गर्न ३५ दिने सूचना निकालेको ४० दिन पुग्न लागिसकेको छ। महानगरले सोमबारदेखि नयाँ बानेश्वरबाट पार्किङ मिच्ने घरबेटीमाथि कारवाही सुरु गरिसकेको छ।
मंगलबार नयाँ बानेश्वरको अल्फा बिटा अगाडि पुग्दा त्यो ठाउँले पनि बालेन्द्र शाहलाई पर्खिरहेको भान भयो।
अल्फा बिटाको पूर्वमा रहेको इन्द्रेणी फुडल्याण्डको छेउमा पनि बटुवाहरु बस्ने फलैंचासमेत मिचेर बाटोमै पार्किङ गरेको भेटियो। ट्राफिक प्रहरीले समेत यहाँ कुनै वास्ता गरेको देखिएन।
याे पनि :
- काठमाडौंमा नाइट बस चलाउने बालेन्द्रको योजना अलपत्र
- ठमेलको रात्रि जीवन (तस्बिरहरु)
- काठमाडौंको रात्रिकालीन व्यवसायमा प्रहरीको नियन्त्रण, व्यवसायी भन्छन्– साँझमा सुत्न पर्यटक आउँदैनन्
- रात्रिकालीन व्यवसाय बन्द गराएको प्रहरीले होइन, निर्णय भए २४ घण्टै सुरक्षा दिन्छौं : प्रहरी प्रवक्ता राई
भिडिओ :
हेर्नुहोस् अल्फा बिटाले पैदलयात्रीको बाटो मिचेका थप तस्बिर :
Shares
प्रतिक्रिया