ad ad

समाज


तराईमा दुई दिनसम्म घाम नलाग्ने, चिसोबाट ज्यान जाेगाउन मौसम विभागको आग्रह

तराईमा दुई दिनसम्म घाम नलाग्ने, चिसोबाट ज्यान जाेगाउन मौसम विभागको आग्रह

नेपालखबर
पुस ३, २०७६ बिहिबार १:४१,

तराई क्षेत्रमा चिसो बढेकाे भन्दै त्यसको असरबाट बच्ने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ।

तराईका अधिकांश क्षेत्रमा लागेको हुस्सु/कुहिरो भोलि (शुक्रबार)सम्म रहने र घाम नलाग्ने भएकाले चिसो बढ्ने विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् मञ्जु बासीले अहिले देशको तराई क्षेत्रमा हुस्सु/कुहिरो लागेको र चिसो बढेको बताइन्। त्यसमा पनि विशेषगरी पश्चिमी तराईमा बाक्लो हुस्सु लागेको र कठ्यांग्रिने जाडो भएको उनले बताइन्।

‘चिसोले विशेषगरी वृद्ध, बालबालिकालाई असर गर्ने र कतिपय अवस्थामा ज्यानैसमेत जाने सम्भावना हुन्छ, ‘नेपालखबरसँग उनले भनिन्, ‘त्यसकारण न्यानो लुगाउने, तातोमा बस्नेलगायत चिसोबाट बच्ने उपाय अपनाउन हामी आग्रह गर्छाैं।’

तुलनात्मक रूपमा पश्चिमी तराईमा भन्दा पूर्व र मध्य तराईमा चिसो केही कम हुने मौसमविद् बासीले बताइन्।

महाशाखाले बिहीबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : तराईका अधिकांश भूभागमा देखिएको कुहिरो भोलिसम्मै रहिरहने देखिएको छ। साथै पश्चिमी तराईका एक-दुई स्थानमा शीतलहरको स्थिति देखिएको छ। राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो बढ्ने देखिन्छ। तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन सबैमा अनुरोध छ।’

अहिले काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि हल्काफुल्का कुहिरो लागेको छ। तर यो घामलागेसँगै हटेर जाने मौसमविद् बासीले बताइन्। ‘पहाडमा लाग्ने कुहिरो र तराईमा लाग्ने हुस्सु फरक हुन्छ,’ उनले भनिन्, ‘पहाडको हुस्सु बिहान केहीबेर लाग्छ र घाम लागेपछि हट्दै जान्छ, तर तराईको हुस्सु दिनभर रहन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .