विश्वकप फुटबलको प्रसारण विवादबारे सर्वोच्च अदालतले सोमबार पनि कुनै निर्णय दिएन। अन्तरिम आदेश खारेज गर्दै मिडिया हबले दिएको निवेदनमा सुनुवाइ भए पनि अन्तरिम आदेश खारेज हुने/नहुनेबारे निर्णय नभएको हो।
सोमबारको सुनुवाइपछि सर्वोच्चले विपक्षीलाई पनि यसबारे जानकारी दिएर कात्तिक ३० गते नै छलफल गर्ने आदेश दिएको हो। सोमबार मिडिया हबको निवेदनमा सुनुवाइ गर्दै विपक्षी रिट निवेदक अधिवक्ता अनुपम भट्टराई र किशोर पौडेललाई पनि यसबारे जानकारी दिने र ३० गते सँगै राखी छलफल गर्ने आदेश दिएको हो।
विश्वकप फुटबल प्रसारण गर्दा नेपालमा टेलिभिजन ग्राहकसँग थप शुल्क लिने प्रक्रिया मिडिया हबले अगाडि बढाएपछि अधिवक्ताद्वयले कात्तिक २० गते रिट दायर गरेका थिए। रिटको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि कात्तिक ३० गते बोलाएको थियो।
तर कात्तिक ३० गते सुनुवाइ हुँदा प्रसारणमा असर गर्ने भन्दै अल्पकालीन आदेश खारेज गर्न माग गर्दै मिडिया बहले भ्याकेट निवेदन दिएको थियो।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा सोमबार सुनुवाई भएको हो। विश्वकप फुटबल हेर्दा नेपाली ग्राहकले थप शुल्क तिर्नु पर्ने वा नपर्ने भन्ने अब ३० गते मात्रै टुंगो लाग्नेछ।
Shares
प्रतिक्रिया