अर्पण पराजुली जो सबैका ‘मामा’ भनेर चिनिने गरेका छन्। उनले पाएको यो उपनामले अहिले मकवानपुरमा मात्रै होइन, उनको ख्याती देश–विदेशमा पुगिसकेको छ।
असहाय सडक बालबालिकाहरुलाई आश्रयसँगै शिक्षाको उज्यालो दिँदै आएका अर्पण अहिले सबैको साझा मामा बनेका छन्। कुलतमा फसेर सडकमा पुगेका बालबालिकालाई आश्रय दिएर सुनौलो भविष्य निर्माण गर्ने योगदानमा लागेका व्यक्ति हुन्, मामा अर्थात् अर्पण पराजुली।
अहिले हेटौँडामा कुनै पनि सडक बालबालिकाले दयनीय जीवन गुजारेको देख्नुपर्दैन। यदी देखिहाले पनि उनीहरुको संरक्षणको लागि बाहिरी रुपमा होस् या गोप्य रुपमा लागिपरिरहेका हुन्छन् पराजुली।
गरिबीका कारण अबोध बालबालिकाले सडकमा जीवन गुजार्नुपर्ने, शिक्षा र संस्कार नपाउने, पेटभरी खान नपाउने कुरा सभ्य समाजलाई सुहाउने कुरा होइन। सबैले बाँच्नुपर्छ र बाँच्न दिनुपर्छ। यस किसिमको विचारबाट प्रभावित अर्पण पराजुली यतिबेला अनेकन कारणले घर छाड्न बाध्य बालबालिकाका संरक्षक बन्दै आएका छन्।
यसरी बने साझा मामा
करिव १२ वर्षअघि, जतिबेला सडक बालबालिका आफ्नो भोक मेटाउन अपराधसम्म गर्न पछि पर्दैनथे, सडकमा सुत्ने, सडकमै खाने र सडकलाई नै आफ्नो घर जसरी जीवन यापन गरिरहेका सडक बालबालिकाहरुको बिगबिगी थियो हेटौंडा बजार श्रेत्रमा। विशेषगरी बसपार्क क्षेत्रमा भेटिने सडक बालबालिकाको अवस्थाले पराजुलीलाई सबैको मामा बन्न प्रेरित गर्यो।
एक दिन साँझ हेटौंडा बसपार्क पुगेका बेला पराजुलीको ध्यान तिनै सडक बाललिकामा पर्यो।
सडक बालबालिका कोही बटुवाहरुलाई मःम किनिदिन आग्रह गर्दै थिए, कोही चुरोट तान्दै थिए। कोही अपशब्द बोल्दै झगडा गर्दै थिए। कोही दूधका प्याकेटमा हालेर नशालु पदार्थहरु सुँघ्दै थिए। कोही बटुवा महिलाको पछि लाग्दै पैसा माग्दै थिए। कोही अरुले मःमः खाएर फालेको टपराको अचार चाट्दै थिए। कोही फोहोर फाल्ने डस्विनबाट हड्डीका टुक्रा निकालेर माशु टोक्दै थिए।
यस्तो दृश्य देखेका अर्पण त्यो दिन निराश भएर घर फर्किए।
भोलिपल्ट उनी पुनः सोही बसपार्क पुगे। नजिक गएर ती सडक बालबालिकालाई बोलाए। तर, उनीहरु बोलेनन्। उल्टै शत्रुको नजरले हेर्न थाले।
त्यसपछि अर्पणले पसलेसँग एक प्लेट मःमः मागे र नजिकै रहेको एक सडक बालकलाई बोलाए। त्यो बालक डराउँदै विस्तारै नजिक आयो। उनले त्यो बालकका लागि थप मःमः मागे। त्यसपछि अरु पनि आए। सबैलाई उनले मःमः खुवाए। जबसम्म उनीहरु अघाउँदैनन्। उनले मगाइरहे।
‘भोकाएका रहेछन्, त्यतिबेला मःम को भाउ अलि कम नै थियो। लगभग त्यै हजार रुपैयाँ जतिको खाए होलान्,’ त्यतिबेलाको स्मरण गर्दै पराजुलीले भने।
मःमःले अघाएपछि ती बालबालिकाहरु अर्पणदेखि उत्सुक हुँदै नजिकिन थाले। उनले बालबालिकाको नाम, घर ठेगाना सोधे। छुट्टिने बेला एक बालकले भने, ‘भोलि पनि आउनुहुन्छ अंकल?’
‘त्यो प्रश्नले मलाई भावुक बनायो। घर पुगेर पनि उनले तिनै बालबालिकाको अनुहार सम्झिएर निदाउन सकिनँ। रातभर सोचिरहेँ’ उनले भने, ‘म यो बालबालिकाको लागि केही गर्छु, जसले यिनीहरुको भविष्य बदलियोस्। मागेर खान नपरोस्। यही कुरा मनमा खेलाएर नसुतेको त्यो रात मलाई अझै पनि याद छ।’
ती बालबालिकालाई आफ्नो नजिक ल्याउन उनले दिनहुँ मःमः खुवाउने बहानामा भेटघाट बाक्लो पारे। खाने बालबालिको पनि दिन प्रतिदिन थपियो।
क्रमैसँग अर्पण उनीहरुसँग नजिक भए। उनीहरुलाई गोलवद्ध गर्न थाले। उनीहरुका आनीबानी बुझ्दै गए। उनीहरुलाई सकारात्मक कुराहरु सिकाउने प्रयास गरे। झुण्ड झुण्ड भएर बस्दै आएका बालबालिकाहरुलाई मिल्न सिकाए।
ती मध्येका राजु अधिकारी नाम भएका बालकले पराजुलीलाई मामा भन्न थाले। अधिकारीसँगै सबैले मामा भन्न थालेपछि उनी सबैको साझा मामा बनेका छन्।
संघर्षले खुलेको मामाघर
२०६८ सालदेखि सयौं भान्जाभान्जीको मामा बनेका उनी हाल पनि सडक बालबालिको संरक्षणमा लागिपरिरहेका छन्।
सुरुवाती अवस्थामा निकै संघर्ष गर्दै सार्वजनिक स्थलदेखि आफ्नै घरमा समेत आश्रय दिएर संरक्षणको सुरुवात गरेका उनले अहिले तीनै बालबालिकाको लागि मामाघर नेपाल खुलाएका छन्।
दाताले दिएको सहयोगमा बनाइएको मामाघर नेपालमा अहिले पनि ५०/६० जना भन्दा धेरै बालबालिकाहरु नियमित बस्दै आएका छन्।
उनीहरुको अध्ययनका विद्यालयहरुले सहयोग गर्दै आएका छन् भने दाताहरुको सहयोगले उनीहरुको संरक्षण तथा जीवनयापन चल्दै आएको छ।
Shares
प्रतिक्रिया