पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ। विद्युतीय सवारीसाधनको संख्या बढेसँगै जिल्लामै चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो।
ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले एक सय ४२ किलोवाट क्षमताको दुई प्रकारका चार्जिङ उपकरण जडान गरेपछि चार्जिङ सञ्चालनमा ल्याइएको दिगो कम्पनीका इञ्जिनियर सुजित पौडेलले जानकारी दिए।
चार्जिङ स्टेशनमा जीबीटी र सीसीएम चार्जिङ उपकरण जडान गरिएको छ। पहिलो मेसिनबाट ठूला र व्यावसायिक गाडी र दोस्रो उपकरणबाट जीप, कारजस्ता साना सवारी चार्ज गर्न मिल्ने पौडेलले बताए।
नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रअन्तर्गत हरिवन केन्द्रका प्रमुख जागेश्वर रामले दुईवटा उपकरणबाट एकैपटक छ वटा सवारी साधन चार्ज गर्न मिल्ने जानकारी दिए।
उपकरणमा राखिएको क्यूआर कोडमा ग्राहकले एनइए मोबाइल एपमार्फत स्क्यान गरेपछि उपकरणले चार्ज सुरु गर्ने छ। समयानुसार एपमार्फत ग्राहकले सञ्चित गरेको रकमबाट सिधैँ प्राधिकरणको खातामा पैसा जम्मा हुने प्रविधि मिलाइएको केन्द्रका प्रमुख रामले जानकारी दिए।
‘साँझ ५ देखि ११ बजेसम्मको पिकआवरमा प्रतियुनिट १० दशमलव ५० र राति ११ बजेदेखि बिहान ५ बजेसम्म छ दशमलव ६० रुपैयाँ महसुल निर्धारण गरिएको छ’, विद्युत् प्राधिकरण लालबन्दीका सूचना अधिकारी विशाल श्रेष्ठले भने, ‘बिहान ५ देखि बेलुकी ५ बजेसम्मको समयमा सवारीसाधन चार्ज गर्दा प्रतियुनिट आठ दशमलव ५० विद्युत् महसुल निर्धारण गरिएको छ।’
चार्जिङ स्टेशन स्थापनापछि विद्युतीय सवारीसाधन सञ्चालन गर्न सजिलो र सस्तो भएको छ। ‘डिजेल गाडीमा सर्लाहीबाट काठमाडौँ पुगेर आउँदा कम्तीमा १० हजारको तेल खर्च हुन्थ्यो,’ चालक मोहन थापाले भने, ‘विद्युतीय सवारीले त्यति नै दूरी एक हजार खर्च गरे पुग्छ।’ रासस
Shares
प्रतिक्रिया