अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा)दिने २ जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका- ६ घर भइ हाल काभ्रे बस्दै आएका २१ वर्षीय सन्तोष कुमार कुशवाहा र सिरहाको मिर्चैया नगरपालिका- ४ घर भइ हाल भक्तपुरको लोकन्थली बस्दै आएका २० वर्षीय रवि कुमार साह छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुरको राधे राधे ट्रायल सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो।
कुशवाहाको नाममा साहले नक्कली परीक्षार्थी बनेर दुई पांग्रे सवारी साधनको ट्रायल दिइरहेको अवस्थामा दुबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुबैलाई प्रहरी वृत्त ठिमीमा राखिएको छ। अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह प्रवक्ता एवं प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले बताए।
Shares
प्रतिक्रिया