ad ad

समाज


युवाको उमेर १६ देखि ३५ वर्ष राख्ने कि!

युवाको उमेर १६ देखि ३५ वर्ष राख्ने कि!

नेपालखबर
चैत २७, २०७९ सोमबार २१:११, काठमाडौँ

नेपालमा युवाको उमेर घटाउने बारेमा छलफल भएको छ। अहिले युवाको उमेर १६ देखि ४० वर्ष मानिँदै आएकामा अब युवाको १६ देखि ३५ वर्ष कायम गर्नेमा छलफल भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।

उनका अनुसार सरकारी र विभिन्न सरोकारावाला निकायबीच युवाको उमेर पाँच वर्ष घटाउने छलफल सुरु भएको हो। 

‘सयुक्त राष्ट्र सङ्घ र विश्वमा भएको अभ्यासका आधारमा नेपालमा पनि युवाको उमेर कम गर्ने भन्ने बारेमा छलफल सुरु भएको छ’, उनले भने, ‘१६ देखि ३५ वर्षबीचको उमेरलाई युवा भन्ने विषयमा छलफल भएको हो। चाँडै निष्कर्षमा पुग्छौँ।’

राष्ट्रिय युवा परिषद् ऐन २०७२ र राष्ट्रिय युवा नीति २०७२ ले युवाको उमेर  १६ देखि ४० वर्षको उमेर समूहलाई परिभाषित गरेको छ। संयुक्त राष्ट्रसङ्घ र विश्व बैंकले युवाको उमेर १५ देखि २४ वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेको छ।

कार्यकारी उपाध्यक्ष बस्नेतले अधिकांश देशमा युवाको उमेर ३५ वर्षसम्म राखिएकाले नेपालमा पनि १६ देखि ३५ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषित गर्नुपर्ने सुझाव आएको बताए। विभिन्न देशमा युवाको परिभाषा पनि फरक फरक रहेको छ।

भारतमा १६ देखि २९, चीनमा १८ देखि ३५, बङ्गलादेश र फिलिपिन्समा १५ देखि ३०, जर्मनीमा १४ देखि २६, दक्षिण अफ्रिकाले १५ देखि २९ वर्षका उमेर समूहलाई युवाका रुपमा परिभाषित गरेका छन्। 

नेपाल पनि सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझै एकरूपता कायम हुन सकिरहेको छैन। ‘युथ भिजन–२०२५’ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ।

युवाको जनसङ्ख्या बढ्यो  
नेपालमा युवाको जनसङ्ख्या बढेको छ। दश वर्षमा २ दशमलव २१ प्रतिशतले युवाको जनसङ्ख्या बढेको पाइएको हो। 

राष्ट्रिय जनगणना २०७८ अनुसार युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत पुगेको छ। अर्थात् युवाको जनसङ्ख्या एक करोड २४ लाख १२ हजार एक सय ७३ रहेको छ। 

यसभन्दा अघि २०६८ सालको जनगणनामा युवाको जनसङ्ख्या ४० दशमलव ३५ प्रतिशत अर्थात् एक करोड ६ लाख ८९ हजार आठ सय ४२ रहेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .