बझाङको केदारस्युँ गाउँपालिका–५ बाझका २४ वर्षीय महेश बोहरा भारतको उत्तराखण्डस्थित पिथौरागढ बजारमा मजदुरी काम गर्थे।
घरखर्च जोहो गर्न गाउँकै अन्य ७ जनासँग बोहरा मंसिरमा मजदुरीका लागि पिथौरागढ गएका थिए। पिथौरागढमा उनको गाउँका धेरै भारी बोक्ने काम गर्छन्।
नयाँ वर्ष (बिसु) मनाउन उनीसँगैका कोही गाउँ फर्किसकेका थिए। कोही काम गरेर बिसुलाई घर जाने योजनामा थिए।
तीमध्येकै बोहरासहित केदारस्युँ गाउँपालिका–५ बाज र चौडीका ११ जना पनि थिए। उनीहरूले मंगलबार सँगै घर फर्किने निधो गरे। झोलाझिम्टी बोकेर पिथौरागढबाट सबेरै गाडी चढेर झुलाघाट पुगे।
त्यहाँ कसैले घरमा छोराछोरीका लागि लत्ताकपडा किने। कसैले परदेशको कोसेली पनि तयार गरे। किनमेलसँगै उनीहरूले घरसम्म पुग्नका लागि गाडी खोजी गर्न थाले।
उनीहरूकै गाउँका अर्जुन बोहरा जिप चलाउँछन्। ठाउँ ठाउँमा गाडी फेरिरहनु पर्ने झन्झटबाट मुक्त भएर सहजै घर पुग्न सकिने हुनाले उनीहले अर्जुनलाई सम्पर्क गरेर बोलाए।
झुलाघाट नाका काटेर नेपाल प्रवेश गरेपछि अजुर्नले चलाउने जिपमा झिटिगुन्टा राखे। कोही जिपको पछाडी डालामा बसे त कोही भित्रपट्टी सीटमा।
जिप यात्रु र उनीहरूको झिटिगुन्टाले खचाखच थियो। घरपरिवारसँग बिसु मनाउन भारतमा काम गरेर फर्किरहेका उनीहरू सवार जिप मंगलबार राति पाटन नगरपालिका–८ झौलेकमा दुर्घटनमा पर्यो। बिसुको उल्लासमा रहेका उनीहरूमध्ये ६ जनाको सपना झौलेकमै बिलाएको छ। ६ यात्रुले भने हाम फालेर ज्यान जोगाएका छन्।
‘झुलाघाटमा किनमेल गर्दा २/३ बज्यो, हामी पाटन पुग्दा राति परिसकेको थियो, त्यहाँ जिपको लाइट बालेका थियौँ,’ हाम फालेर ज्यान जोगाएका महेश बोहराले नेपालखबरसँग भने, ‘जिपमा केही समस्या थिएन, राम्रैसँग चलिरहेको थियो, कोही निदाएका थिए, कोही बोमिटिङले थला परेका थिए।’
यात्रामा समस्या हुने त्यस्ता ६ जना पाका उमेरका मानिस जिप भित्र सिटमा थिए। उनीहरूले जिप पछाडि आउँदा हाम फाल्न ढोका खोल्ने प्रयास गरेपनि सफल भएनन्। त्यसपछि जिपसँगै सडकबाट तल खसेको उनी बताउँछन्।
महेश र अन्य ४ जना भने जिपको पछाडि बसेका थिए। ‘झौलेकको उकालोमा गाडी एक्कासी तल सर्दैसर्दै आयो, एक/दुई मिटर तल आएपछि जिप ब्याक भइरहेको चाल पायौँ, त्यसपछि हामीहरूले हाम फाल्यौँ,’ उनले भने, ‘भित्रका मानिसले ढोका खोल्न सकेनन्, जिपसँगै सडकबाट तल खसे।’
जिपबाट हाम फालेपछि सडकमा पछारिएर आफू बेहोस भएको उनले बताए। ‘आधा घण्टापछि होस आयो, हेर्दा जिप सडकबाट तल खसेको थियो,’ उनले भने।
महेशसँगै २६ वर्षीय लालबहादुर बोहरा, ३९ वर्षीय जंगथे बोहरा, २२ वर्षीय राजेन्द्र बोहरा र ४२ वर्षीय मदन बोहराले हाम फालेर ज्यान जोगाएका थिए।
दुर्घटनामा मृत्यु हुनेमा उनका काका ६१ वर्षीय मने बोहरासहित ३९ गोरख बोहरा, ४० वर्षीय नरे बोहरा, ४६ वर्षीय बिर्ख बोहरा, ४४ वर्षीय मानबहादुर धामी र ५० वर्षीय वीरे धामी रहेका छन्।
मृतक बोहरा केदारस्युँ–५ बाज हुने भने धामी चौडीका स्थानीय बासिन्दा हुन।
बिसु मनाउन फर्किरहेका उनीहरू घर पुग्न पाएनन्। परिवारका सदस्य उनीहरूको फर्किने आशमा बाटो कुरेर बसे। एकै गाउँका ६ जनाको दुर्घटनामा मृत्यु भएपछि केदारस्युँ शोकमा डुबेको छ।
‘चाडबाडको उल्लासमा दुखद घटना भयो, पुरै गाउँनै शोकमग्न छ,’ केदारस्युँ गाउँपालिका–५ का अध्यक्ष मोहन ठगुन्नाले भने, ‘अहिले मृतकहरूसँग भएको सरसमान र रकम हेर्दैछौँ, अब पोष्टमार्टमका लागि अस्पताल लान्छौँ।’
प्रहरीले घटनास्थलबाट मृतकको शव सडकमा निकालेको छ। ती शव पोष्टमार्टमका लागि बझाङ वित्थडचिरको देउलेख स्वास्थ्य चौकीमा लैजाने तयारी छ।
जिप चालक अर्जुन बोहरा फरार रहेको प्रहरीले जनाएको छ। उकालोमा ‘ब्रेक फेल’ भएर जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको आशंका छ।
Shares
प्रतिक्रिया